प्रदेश नं. १ मा एमाले का दुवै उम्मेदवार विजयी
विराटनगर, २४ माघ । प्रदेश नं १ बाट राष्ट्रियसभाका दुई सदस्यका लागि आज भएको निर्वाचनमा नेकपा (एमाले)का दुवै उम्मेदवार विजयी भएका छन् ।
विराटनगरस्थित वीरेन्द्रसभा गृहमा अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपाली ६ हजार २७० मत प्राप्त गरी विजयी भए । उनका निकटम प्रतिद्वन्द्वीे नेपाली कांग्रेसका विनयकुमार विश्वकर्माले २ हजार २३२ मत प्राप्त गरे ।
अल्पसंख्यक समूहबाट एमालेकै अगमप्रसाद बान्तवा विजयी भए । बान्तवाले ६ हजार १३८ मत प्राप्त गर्दा कांग्रेसका महेश जाजुले २ हजार ८९८ मत पाएको प्रदेश नं १ का सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए ।
यसअघि, महिलाको तीन पद र खुलाको तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । कूल ८ स्थानमा एमालेका ५, कांग्रेसका २ र नेकपा (माओवादी केन्द्र) को १ जना निर्वाचित भएका छन् ।
यसअघि निर्विरोध निर्वाचित भएकामा खुलातर्फ एमालेका पर्शुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी र कांग्रेसका रमेशजंग रायमाझी छन् । त्यस्तै, महिला समूहबाट एमालेकी नैनकला ओझा, माओवादी केन्द्रकी विना पोखरेल र कांग्रेसका सरिता प्रसाईं पनि निर्विरोध निर्वाचित भइसकेकी छन् ।


