बालेन सरकार ‘रुल बाइ ल’ अनुसार चलेको, तर रास्वपाले जिम्मेवारी लिन नचाहेको गगन थापाको आरोप
काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान बालेन्द्र शाह बालेन नेतृत्वको सरकार ‘रुल अफ ल’ नभई ‘रुल बाई ल’ अनुसार चलेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठकपछि विशेष सम्बोधनका क्रममा थापाले सरकार र सत्तारुढ रास्वपाका विषयमा व्याख्या गर्दै राज्य सही ढंगले नचलेको बताएका हुन् । उनले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै कडा आलोचना गरे ।
सभापति थापाले पछिल्लो समय सरकार मिडिया र पत्रकार मात्र होइन, राज्यकै प्रमुख निकायका प्रमुखलाई पनि जतिबेला मन लाग्यो त्यतिबेला उठाउने लहड चलेको बताए ।
कहिले मिडिया र नेताको घरअगाडि गाडी तेर्साउने, पत्रकारलाई समाचार कक्षबाटै उठाउने, संवैधानिक अंगका पदाधिकारी र अधिकृतलाई उठाएर आठ दश घन्टासम्म प्रधानमन्त्री कार्यालयमा लगेर केरकार गर्नेलगायतका काम हुँदा पनि रास्वपाले यसबारेमा टिप्पणी र विज्ञप्ति निकाल्नेबाहेक कुनै काम नगरेको बताए ।
रास्वपाले सरकारले गरेका राम्रा कामको अपनत्व लिने, तर गलत कार्य गर्दा कुनै जिम्मेवारी नलिने, स्वामित्व नलिने, प्रधानमन्त्रीलाई जिम्मेवार बनाउन नचाहने गरेको थापाको भनाइ छ ।


