विराटनगरमा शंकास्पद वस्तु विस्फोट हुँदा ससुरा–बुहारी घाइते
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
आइतबार बिहान करिब ११ः३० बजे फोहोर सफा गर्ने क्रममा भएको विस्फोटमा स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका हुन् ।
प्रहरीका अनुसार विस्फोटबाट खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ भने अलीको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामप्रसाद शर्माको कमान्डमा टोली घटनास्थल पुगेको थियो ।
घाइते दुवै जनालाई उपचारका लागि स्थानीय जितु मेडिकल पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । विस्फोट भएको वस्तुको पहिचान भने खुल्न सकेको छैन ।


