प्रदेश नं. १ मुख्यमन्त्री : भीम आचार्य र शेरधन राईको आज भिडन्त, कस्को पल्लाभारी ?
काठमाडौँ, २६ माघ । प्रदेश नम्बर १ को संसदीय दलको नेता छान्न एमालेले आज चुनाव गर्दैछ । आकांक्षीहरु धेरै पनि अन्ततः पार्टीका केन्द्रीय सचिव एवं प्रदेश नम्बर १ का संयोजक भीम आचार्य र पोलिटव्युरो सदस्य एवं प्रदेश सहसंयोजक शेरधन राईबीच प्रतिस्पर्धा हुने भएको छ । नेता जीवन घिमिरेले उम्मेदवारी दिने बताए पनि अन्तिममा उनी पछाडि हट्ने सम्भावना छ ।
आज बिहान ११ बजेदेखि मनोनयन र दिउँसो चुनाव हुने बताइएको छ । प्रदेश नम्बर १ मा एमालेका ५१ प्रदेशसभा सदस्य छन् ।
कस्को पल्लाभारी ?
आचार्य र राई दुबै जना चुनाव जित्नेमा ढुक्क देखिएका छन् । पूर्व पर्यटनमन्त्री समेत रहेका आचार्य वरिष्ठ नेता झलनाथ खनालका भान्जी ज्वाईं हुन् । सोहीकारण उनी खनालको आर्शिवाद पाउनेमा आशावादी छन् ।
गएको महाधिवेशनमा माधव नेपाल समूहबाट सचिव जितेका कारण आफूलाई नेपाल समूहको सबै भोट आउने आचार्यको विश्वास छ । तर, योबीचमा पूर्वमा पार्टीको पुरानो धारमा व्यापक फेरबदल भएको र धेरै नेता संस्थापन पक्षमा गएका कारण उनलाई अप्ठेरो पर्ने देखिएको छ । यसैगरी, जीवन घिमिरेले आफूलाई माधव नेपाल समूहको आधिकारिक उम्मेदवार दाबी गरेका कारण उनको व्यवस्थापन आचार्यलाई चुनौती बनेको छ ।
संस्थापन पक्षको समर्थन पाएका शेरधन राई पनि चुनाव जित्नेमा ढुक्क छन् । वरिष्ठ नेता खनाल र माधव नेपालको पनि आफूप्रति सदभाव रहेको दाबी राईले गर्दै आएका छन् ।
प्रदेश नम्बर १ मा संस्थापन पक्ष बलियो भएको, जातीय सन्तुलन मिलाउन सक्ने, युवा र विगतमा केपी ओली सरकारमा रहेर संचारमन्त्रीको जिम्मेवारी सम्हालेका बेला आफूले राम्रो काम गरेकाले पनि प्रदेशका सांसदहरुले विश्वास गर्ने राईको दाबी छ ।


