‘प्रचण्ड अस्थिर भनेर व्यग्य नगर्नुहोला, अर्को फड्को हान्न बेर मान्दिनँ’

चितवन, २७ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताउनुभएको छ ।

महाबौद्ध गुम्बा, तीनखोलेको समुद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले देशलाई अप्ठ्यारो पर्न लाग्यो भने कुनै उपाय निकालेर अगाडि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “म अहिले जहाँनेर छु त्यहाँबाट देशको हित नहुने भयो भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै लाग्दैन ।” उहाँले अगाडि थप्नुभयो, “अब प्रचण्ड भनेकै त्यही भइसक्यो । माओवादी भनेकै त्यही भइसक्यो । अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अगाडि बढ्ने ।”

उहाँले बुद्ध धर्मको संरक्षण गर्न अधिकार सम्पन्न प्राधिकरण आवश्यक भएको बताउनुभयो । गुम्बा निर्माण समितिभन्दा प्रभावकारी र शक्तिशाली निकाय आवश्यक परेको भन्दै उहाँले प्राधिकरण निर्माणमा जोड दिनुभयो ।

संविधानले सबै धर्मलाई समान रुपमा सम्मान गरेको उल्लेख गर्दै उहाँले तर हाम्रो संस्कार त्यस्तो बनिनसकेको बताउनुभयो । राजनीतिले कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखा गर्न नहुने बताउँदै उहाँले जनताको आफ्नो आस्था नखोसियोस् भनेर राज्यलाई धर्मनिरपेक्ष घोषणा गरिएको बताउनुभयो ।

उहाँले झड्केलो सन्तानका रुपमा अरु धर्मलाई हेरिने गरेको बताउँदै भन्नुभयो, “सिद्धान्तमा स्थापित छ, तर व्यावहारिक बनाउन सकिएको छैन ।” बुद्ध धर्म प्रगतिशील भएको बताउँदै उहाँले शान्तिका लागि बुद्धधर्मले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

चितवनको विकास, राजनीति र भाषाभाषीलाई चासो र चिन्ताका रुपमा आफूले लिएको बताउँदै उहाँले सुन्दर, सभ्य जिल्लाका रुपमा विकास गर्न गुरुयोजना बनाएर काम गर्न सकिने बताउनुभयो ।

काँग्रेससँग संवाद र सहकार्य नगरी विकास अगाडि बढ्न नसक्ने बताउँदै उहाँले सबैलाई सहमतिमा ल्याएर देशको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले राजनीतिक पद्धतिको लडाइँको अन्त्य भएको भन्दै अब विकासका लागि अघि बढ्नुपर्ने बताउनुभयो । अब बन्ने वाम गठबन्धनको सरकारलाई विकासको चुनौती रहेको बताउँदै उहाँले जनताको आशा र अपेक्षाअनुसार काम गर्नसमेत आग्रह गर्नुभयो ।

कार्यक्रममा गुम्बा निर्माण समितिका निर्देशक नरेन्द्रकुमार गुरुङ, पूर्व अध्यक्ष टेकप्रसाद गुरुङ, भिक्षु कमल भण्डारीलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा गुम्बा निर्माण समितिका पूर्व अध्यक्ष देवेन्द्रबहादुर गुरुङलाई अभिनन्दन गरिएको थियो । – लाईटनेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।