लाल बाबूको घोषणा,– केहि वर्षभित्र शहरमा मास्क खोलेर हिंड्न सक्ने बनाउँछु
सामान्य प्रशासन मन्त्री हुँदा डीभी, पीआरधारी कर्मचारीलाई जागिर वा ग्रिनकार्ड मध्ये एक छोड्न वाध्य पार्नेगरी कानुन ल्याई वाहवाही कमाएका लालबाबू पण्डित जनताबीच लोकप्रिय नेतामा गनिन्छन् । मन्त्री बन्दा निकै ठूलो काम गर्न सफलता पाएका पण्डितको अर्काे विशेषता उनको साधारण जीवनशैली हो । उनै लालबाबू पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदको सपथग्रहण गरेकै दिन जनसंख्या तथा वातावरण मन्त्री नियुक्त गरे । एकथरीले लालबाबूलाई मन्त्री बनाएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए भने अर्काे एकथरीले जनसंख्या तथा वातावरण मन्त्रालयमा थन्क्याएको भन्दै आलोचना समेत गरे । तर, नवनियुक्त मन्त्री लालबाबू पण्डित भने जनसंख्या तथा वातावरण मन्त्रालयलाई जनताको स्वास्थ्यसँग सिधै सम्बन्ध राख्ने मन्त्रालय भएकाले यसलाई कमजोर नठान्न आग्रह गर्छन् । मन्त्री नियुक्त भएपछि अव कसरी काम गर्ने योजना उनले बनाएका छन् ? यस विषयमा उनीसँग गरेको कुराकानीः

मानिसहरुलाई सामान्य लाग्ने सामान्य प्रशासन मन्त्री हुँदा ठूलै प्रशंसा हुनेगरी काम गर्नुभयो, अहिले जनसंख्या तथा वातावरण मन्त्रालय सम्हाल्न आइपुग्नु भएको छ । यो कार्यकालमा कस्तो काम गर्ने तयारीमा हुनुहुन्छ ?
हो जनसंख्या तथा वातावरण मन्त्रालय मेरो भागमा परेको छ । यो पनि सामान्य लाग्ने तर हरेकलाई नागरिकसँग सोझै सरोकार मन्त्रालय हो यो । वातावरण प्रदुषणका कारण मान्छेको स्वास्थ्य मात्र हैन अहिले मान्छेको सरदर आयु पनि घटिरहेको छ । काठमाडौं विश्वकै प्रदुषित शहर मध्ये एउटामा परेको छ । शहरको मात्र हैन गाँउको मान्छेमा पनि यसको असर छ । अहिले पो हामी यो धुलो र फोहोरमा बस्दाबस्दा अभ्यस्त भएका छौं । चिनीमा पनि पानी एक तहसम्म घोलिन्छ, चिनीको मात्रा बढ्दै गएपछि पानी नै चिनीमा हराउँछ । हो त्यस्तै भएको छ हाम्रा देशका शहरका बासिन्दालाई, अति फोहोर र धुलोले मान्छेलाई जितिरहेको छ ।
प्रकृतिसँग मानवको जुन सम्बन्ध हुनुपथ्र्यो त्यो टुटेको छ । प्रकृतिसँग टुटेपछि मान्छेमा स्वास फेर्न गाह्रो पर्ने अवस्थामा आएको छ । मान्छे उकुसमुकुस छ । मानिसका दैनन्दिनका अरु समस्याले गर्दा यो बारे नबोलेका मात्र हुन् । यस्तो समस्या अरुले गर्दा उत्पन्न भएको होइन । प्रकृति दोहन देखि अनेक थरी सवारी साधन भित्र्याएर हामीले नै वातावरण बिगारेका छौं । यो सम्हाल्ने पनि हाम्रो नै काम हो । त्यसकारण प्रकृतिमैत्री मानव जीवन तयार गर्ने काम अब मेरो काँधका आएको छ ।
भौतिक पूर्वाधार निर्माण भइरहेका बेला धुलो धुवाँ हटाउन तत्काल त गाह्रो काम हो । तर धेरै नभनौं, केहि बर्ष भित्र विकासका काम भइरहेका शहरमा पनि मास्क लाउनु नपर्ने बनाउन सक्छु । सजिलो छैन तर, हिम्मत छ ।
ग्लोबल र्वार्मिङ झनै बढ्दो अवस्थामा छ । यो पनि ग्लोवलाइजेशनकै कारण तापमान बढेको हो । यसकारण पनि वातावरणको खस्किंदो अवस्था देखेर संसार नै चिन्तित छ । विकासको गति जति बढ्छ यसको सन्तुलन बन्न सकेन भने विकसको कुनै अर्थ छैन । अरु देशको तुलनामा नेपाल कम विकसित हँुदा हुँदै पनि शहर बढि प्रदुषित छ । यसबाट बचाउने काम अब मेरो काँधमा आएको छ । सजिलो छैन तर, मैले जिम्मा लिएपछि जनजनले थाहा पाउनेगरी काम गर्नेछ ।
बाहिर कतिले त तपाईंलाई वातावरण मन्त्रालय दिएर थन्क्याइयो भन्छन् त ?
त्यो लालबाबु जहाँ गए पनि राम्रो काम गथ्र्यो भन्ने म प्रतिको विश्वासले यस्तो भनेका हुन सक्छन् । तत्काल तुरुन्त तुरुन्तै देखिने काममा जनताले मलाई देख्न चाहेका हुन् । यहाँ पनि बिग्रिएको छ, त्यहाँ पनि बिग्रिएको छ । अनि लालबाबु त्यहाँ चाहिँ गइदिए हुन्थ्यो भन्ने कुरा नराम्रो होइन । उहाँहरुको म प्रतिको विश्वासलाई सम्मान गर्छु । तर, काम ठूलो सानो भन्ने हुँदैन । वातावरण मन्त्रालय पनि कुनै मन्त्रालय भन्दा कम छैन । बरु यहि मन्त्रालय हो, जसले हरेक जनजनको जीवन स्वस्थ्य बनाउन सक्छ । यस्तो प्रदुषण छ, जनसंख्या यसरी बढेको छ । गरिवीको खाडल पुर्नु पर्ने अवस्था छ । जसको प्रभाव हाम्रो विकासमा छ । वातावरण बिनास सँगै हाम्रो जीवन यापन र अस्तित्वको विनास बढिरहेको छ । यस्तो केला सानो मन्त्रालय भन्ने हुँदैन, बरु यस क्षेत्रमा काम गरेर कति चाँडो म जनतामा प्रभाव पुर्याउन सक्छु भन्ने कुरा ठूलो कुरा हो ।
चीनमा वातावरण मन्त्रालय सबैभन्दा प्राथमिकताको बिषय बन्ने गर्छ । नेपालमा चाहिँ स्वास्थ्य तथा वातावरणप्रति सचेतना नभएर कि किन यो मन्त्रालयलाई भाउ नदिइएको ?
मैले अघि नै भनँ नि, यो मन्त्रालय जनतासँग सबैभन्दा बढि सरोकार राख्ने मन्त्रालय हो । हिजो कम प्रथामिकतामा पर्यो भन्दैमा अहिले पनि कम प्रथामिकतामा पर्छ भन्ने हुँदैन । मैले काम गर्न थालेपछि त्यो महसुस गराउनेछु । खासमा जनतामा वातावरणले हामीमा के असर गरिरहेको छ भन्ने कुरा महसुस नै छैन । खेत चाहियो भष्मे गरायो र खेति गर्ने बनायो । सानो कुरा तात्काल पाउन ठूलो कुरा गुमाउने बानी छ हाम्रो । मान्छेले खारानी चाहियो भनेर घरमा आगो लगाए जस्तै कारणले हो वातावरण प्रदुषित हुने । हामीले हाम्रा सन्ततीलाई कस्तो प्रकृति छोडेर जाँदैछौं त्यो कुरा मुख्य कुरा हो । जीवनमा अरु सबै कुराले सम्पन्नता भए पनि वातावरण प्रदुषित के हुन्छ भन्ने कुरा बुझाउनु पर्छ । अबको विकास वातावरणमैत्री विकास हुनेछ ।
तपाईं वातावरण प्रदुषण हुन नदिने भन्नुहुन्छ । तर स्थानीय तहमा विकासका नाममा जताततै डोजर लगाएर बाटो खन्ने र वातावरण विगार्ने काम भएका छन् नि ?
हो, भौतिक विकासमा जाँदा वतावरणको क्षेत्रमा के असर गर्छ हामीले ध्यान पुर्याउन सकेका छैनौं । अब चाहिँ स्थानीय, प्रदेश र केन्द्र सरकारको समन्वयमा मात्र काम गर्नेगरी अघि बढ्छ । विकासलाई प्रकृतिमैत्री बनाएर अघि बढ्नु पर्छ । थोरै भए पनि नाश हुन दिनुहुन्न । यदि एक ठाउँमा नाश भयो भने अर्को ठाउँबाट यसको परिपूर्ति गर्नेगरी काम गर्नु पर्छ ।
सडकमा हेर्नुस् पुराना गाडी गुडिरहेका छन् । तरकारीमा विषादीले मान्छेको स्वास्थ्य बिगार्ने मात्र हैन हाम्रो वातावरण नै प्रदुषित बनाएको छ । यसको साथै खानी उत्खनन्को नाममा जताततै खनेर पहाड खसालिएको छ । यसले हाम्रो जीवनमा तत्काल प्रभाव नपरे पनि दीर्घकालीन रुपमा धेरै ठूलो प्रभाव पार्छ । यहि मन्त्राललयले मात्र सबै कुरा गर्छ भन्ने चाहिँ होइन । तर सबै मन्त्रालयसँग काम जोडिएर आउँछ । धेरैसँग समन्वय गरेर अघि बढ्नु पर्ने बाध्यता छ । तर क्षणिक लाभका लागि वातावरण बिग्रनेगरी अब केहि हुनुहँुदैन ।
चुरे दोहनले पहाडहरु नै बग्ने अवस्थामा छन् । यसलाई कसरी ब्यवस्थापन गर्नुहुन्छ ?
हो, चुरेको धेरै ठूलो असर हाम्रो नेपाललाई छ । त्यसले वरपरका देशहरुलाई पनि प्रभाव राख्छ । साथै ग्लोवल वामिीङमा पनि । पहिलो कुरा, नेपाल अब विकासको गतिमा अघि बढ्छ यसमा दुई मत छैन । नेपालको प्राकृतिक स्रोत नेपाली र नेपालको विकासका लागि प्रयोग हुन्छन् । अब हामी नै विकासमा जाँदैछौं भनेपछि अब स्रोतहरु विक्री गर्ने होइन, सबै स्रोत साधनलाई विकासमा लगाउने हो । फेरि प्राकृतिक संरक्षण भन्दैमा जंगली युगतिर जाने भन्ने होइन । भएका प्राकृतिक सम्पदाको संरक्षण गर्ने र वातावरण सन्तुलन कायम गर्ने काम गर्ने काम म गर्छु । आधुनिक विकास गर्ने तर प्रकृति संरक्षण गर्दै । तर, अब तपाईंले भनेजस्तै वातावरण नै बिगार्नेगरी जुन निकासी भैरहेको छ त्यो रोकिन्छ । रोक्नु पर्छ ।
तपाईं वातावरण मन्त्रालय सम्हाल्न अचानक आइपुग्नु भो, यो मन्त्रालय मार्फत तत्काल गर्ने कामबारे केहि तयारी गर्नु भएको छ ?
हिजोदेखि मन्त्रालय पाएँ, हिजै सपथ लिएर केहि मिनेट कुर्सीमा पनि बसेर आएको छु । अब मैले अनुभूति हुनेगरी काम गर्नुछ । तर अहिले नै सबै तयारी भइसकेको छैन । अब केहि दिनमै यस सम्बन्धी सम्पूर्ण ब्रिफिङ लिन्छु । यसको कार्यप्रणाली, अन्तर्राष्ट्रिय सन्धि सम्झौता, राष्ट्रिय प्रतिवद्धता बार्षिक कार्यतालिका र अहिलेसम्म भएका कार्य प्रतिवेदनहरु अध्ययन गरेर विज्ञहरुसँग थप सरसल्लाह गर्छु । र यो मन्त्रालय अन्तर्गत काम थाल्न के कुरामा परिर्वतन गर्नु अववश्यक छ, नीतिमा परिर्वतन गर्न आवश्यक छ कि, कार्यपद्धतिमा परिर्वतन आवश्यक छ की ? कागजमा बोलेका कार्यक्रमलाई ब्यवहारमा ल्याउन आवश्यक छ कि, यी सबै कुराको अध्ययन गर्छु । अध्ययनपछि जति सक्दो चाँडो काम थाल्नेछु ।
तपाईंलाई यस मन्त्रालयबाट जनतामा कतिको प्रभाव छोड्न सकिएला भन्ने लागेको छ ?
गणतन्त्रपछि पहिलो पटक हामी स्थानीय सरकार र प्रदेश सरकारको अभ्यासमा आएका छौं । अहिलेको संविधानले पहिलेका कतिपय कुरालाई रिप्लेस गरेको छ । मन्त्रालयहरु पनि हेरफेर हुने स्थिति छ । अहिले पूर्ण मन्त्रालय पनि बनिसकेको छैन । अहिले मन्त्रालयको ढोकाबाट भित्र मात्र पसेको छु । मन्त्रिपरिषदले गरेका कतिपय निर्णयसँगै अघि बढ्नु पर्ने स्थिति हुन्छ । त्यसैले यो सबै कुरालाई तालमेल मिलाएर अगाडि बढ्नु पर्नेछ । अर्को यो चुनावी बर्ष भयो । योजना अनुसार काम भएका छैनन् । त्यसैले धेरै अन्यौल छ । हेरौं अब कसरी अघि बढ्छ । तर अन्यौलकै बीच भए पनि मैले गर्ने काममा कहिँ कन्जुस्याईं हुनेछैन । म पूर्ण प्रतिबद्धताका साथ काम गर्नेछु ।
पहिले त स्थानीय तह, प्रदेश थिएनन् , केन्द्रको ठूलो मन्त्रीमण्डल हुन्थ्यो तर, अहिले फरक छ । केन्द्रमा सानो मन्त्रीमण्डलमा तपाईं एउटा मन्त्रालय सम्हाल्न आइपुग्नुभएको छ, तपाईंका चुनौती के के छन् ?
अरु कुनै ब्यवस्थाले कहिँ कतै असर गर्दैन, बरु सहयोग गर्छ । तर जनताकै निम्ति बनाएका राम्रा नीतिहरुलाई पनि खराव तत्वहरुले कार्यान्वयन गर्न दिंदैनन् । तिनीहरु निजी स्वार्थको निम्ति जनताको घाँटी रेट्न तयार हुन्छन् । यो मेरो पहिलो कार्यकालको अनुभव हो । हो तिनीहरुलाई पन्छाएर काम गर्न सके जस्तो ठाउँमा पनि सफल हुन सकिन्छ ।
भनेपछि तपाईंलाई जुन मन्त्रालय दिए पनि ती त्यस्ता तत्वलाई पन्छाएर काम गर्ने हिम्मत बढेको छ ?
त्यो चाहिँ पक्का हो ।
अन्त्यमा भन्दिनुस् न, अब तपाईंको नेतृत्वमा आएको यो वातावरण मन्त्रालयका काम जनताले कहिले महसुस गर्न पाउँछन् ? सडक मर्मत जस्ता समस्याले उत्पन्न धुलो धुवाँबाट जनता कहिले मुक्त हुन्छन् ?
हामी त्यो दिशामा हिड्यौं, अवश्य गन्तब्यमा पुग्नेछौं । धेरै नभनौं केहि बर्ष भित्रमा विकासका गतिमै अघि बढेका शहरहरु पनि मास्क लाउनै नपर्ने स्वस्थ्य वातावरणमैत्री शहर बनाउन सक्छु । सजिलो छैन तर, हिम्मत छ ।
– चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानी ।


