‘चिया खेतीवाट आम्दानी गर्न सकिएन’
हरियो चिया पत्ती तथा तयारी चिया उत्पादन लगत निर्धारण समिति गठन
धनकुटा खबर । चियाको उचित मूल्य नपाएको कारण किसानहरु यो खेती वाटै निरास भईरहेको वेला राष्ट्रिय चिया तथा कफी विकास वोर्ड चिया विस्तार योजनाले आज हरियो चिया पत्ती तथा तयारी चिया उत्पादन लगत निर्धारण समिति गठन गरेको छ ।

राष्ट्रिय चिया तथा कफी विकास वोर्ड चिया विस्तार योजनाको कार्यलय धनकुटा १ हिलेमा आयोजित एक कार्यक्रमको वीच कार्यलयका प्रमुख राम एकवाल यादवको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सह संयोजकमा जनप्रतिनीधिको तर्फवाट धनकुटा नगरपालिका १ नं वडाध्यक्ष निरेन तामाङ्ग र सदस्य सचिवमा कार्यलयका योजना प्राविधिक सरस्वती वास्तोला रहनुभएको छ । अन्य सदस्यहरुमा चिया उत्पादक जिल्ला सहकारी संघको तर्फवाट ईन्द्रसारु मगर,चिया उद्योगहरुवाट गुरासे टि स्टेट, अगुवा चिया कृषकहरुको तर्फवाट तारा कुमार कार्की लगायत रहेका छन् । समितिले हरियो चिया पत्ती तथा तयारी चिया उत्पादन लगत निर्धारणका लागि भूमिका निर्वाह गर्ने छ ।

आज गठीत समितिको वैठक आउदो फागुन २५ गते वस्ने निर्णय पनि भएको छ । चिया उत्पादक जिल्ला सहकारी संघका अध्यक्ष मगरको अध्यक्षता तथा वडाध्यक्ष तामाङ्गको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा वोल्दै उद्योग वाणीज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले अहिले चिया मजदुरहरुको पारिश्रमिक कम हुनु, चिया उत्पादक कृषकहरुको उत्पादन लगत नउठ्ने समस्या लगायतका चुनौती रहेको भन्दै क्रेता, विक्रेता एवम् सरोकारवालाको छलफलवाट यस्ता चुनौतीको निष्कर्ष निस्कने र उपलव्धि हाँसिल हुने वताउनुभयो । उहाँले यहाँ उत्पादित चियाको वजार प्रवद्र्धन र प्रचार प्रसारका लागि धनकुटामा सञ्चालन हुन लागेको महोत्सवमा चियाको स्टल समेत समावेस गरिने जानकारी गराउनुभयो ।
कार्यक्रममा किसानहरुले प्रति के जी ६० देखी ८० रुपयाँ मा विक्रि गर्दा समेत आफुहरुलाई फाईदा नहुने गुनासो गरेका थिए । पाख्रीवासका अगुवा चिया किसान गोविन्द थापाले चियाको उचित मूल्य निर्धारण नहुँदा मजदुर पाल्नै समस्या भएको वताउनुभयो ।
त्यस्तै विगत २४ वर्ष देखी चिया खेती गर्दै आउनुभएका उत्तरपानीका अर्का किसान गजेन्द्र घिसिङ्गले पनि यो खेतीवाट आर्थिक आम्दानी गर्न नसकिएको वताउनुभयो ।


