प्राविधिक अभावले बिकासका काममा समस्या, ८ वडा रहेको चौविसे गाउँपालिका दुई जना प्राविधिकको भरमा
धनकुटा खबर । प्राविधिक अभावमा धनकुटाको बिकास निर्काणको काममा कडिनाई देखिएको छ । चौविसे गाउँपालिकामा प्राविधिक कर्मचारीको अभाव हुँदा योजना सञ्चालनमा समस्या भएको छ । ८ वडा रहेको सो गाउँपालिका अहिले दुई जना प्राविधिकको भरमा चलिरहेको छ ।

भूगोलको हिसावले ठूलो र कतिपय दुर्गम वडा रहेको चौविसे गाउँपालिकामा प्राविधिक अभावले चालु आर्थिक वर्षमा सञ्चालन हुने भौतिक पूर्वाधार योजनाको लागत स्टिमेट, सम्झौता र मुल्याङ्कन गर्ने काम समेत प्रभावित वनेको छ ।
चौविसे गाउँपालिकाको दुर्गम वडा मध्येएक ४ नं. वडा कुरुलेतेनुपामा चालु आर्थिक वर्ष भित्र सम्पन्न हुने योजनाहरुको काम प्राविधिक अभावले रोकिएका छन् ।
३६ मध्ये दुई दर्जनभन्दा वढी योजना प्राविधिक स्टिमेट गर्ने खालको योजना छन् । खानेपानी ट्याङ्की मर्मत सम्भार, पाइप विस्तार, गुम्वा निर्माण, वाटो मर्मत जस्ता प्राविधिक स्टिमेट गर्ने योजनाहरु प्राविधिक अभावले निर्माण सुरु गर्न कठिनाइ भएको वडाध्यक्ष नगेन्द्रबहादुर तामाङले बताए ।
योजनाहरुको प्राविधिक स्टिमेट नहुँदा सम्झौता नभएको र कार्यान्वयन गर्न कठिनाइ भएको उनको भनाइ छ । त्यस्तै गाउँपालिकाका अन्य वडामा पनि प्राविधिक कर्मचारी अभावले योजनाको काम सुरु हुन सकेका छैनन् । कतिपय सञ्चालित योजनाको मुल्याङ्कन नहुँदा भुक्तानी भएका छैनन् ।
वाटो, खानेपानी, भवन मर्मत, सिँचाई, विजुली जस्ता भौतिक पूर्वाधार योजनाको स्टिमेट गर्न अनिवार्य रुपमा प्राविधिकको आवश्यकता पर्छ ।
प्राविधिकले नै ती योजनाको स्थलगत अध्ययन गरी स्टिमेट तयार पार्ने गर्छन् र स्टिमेटको आधारमा सम्झौता हुन्छन् । निर्माणको काम सुरु भएपछि कम्तीमा एक पटक योजना सञ्चालन स्थलमा पुग्नै पर्छ, प्राविधिक ।
गाउँपालिकामा प्राविधिकको रुपमा अहिले सवइन्जिनियर वद्री ढुंगाना र असिस्टेन सबइन्जिनियर सुमन श्रेष्ठ मात्रै कार्यरत छन् ।
प्राविधिक अभावले भौतिक पूर्वाधार योजनाको काम प्रभावित वनेपछि गाउँपालिकाले इन्जिनियर करारमा राख्ने तयारी गरिरहेको प्रशासकीय अधिकृत मिश्रले बताए ।
उनले भने ‘इन्जिनियर राख्न विज्ञापन खुलाएका छौं । अव केही दिनपछि इन्जिनियर नियुक्त गछौं ।’
३१ करोड २३ लाख रुपैया चालु आवको लागि बजेट भएको सो गाउँपालिकामा करिव २ सय ५० ओटा प्राविधिक योजनाहरु छन् ।
ती सबै प्राविधिक योजनाको स्टिमेट, स्थलगत अनुगमन र अन्तिम मुल्याङ्कन गर्न अहिले दुई जना प्राविधिकको भर पर्नु पर्ने स्थिति छ ।
प्राविधिक अभावले गर्दा गाउँपालिकाको पूजीगत खर्च लक्ष्य भन्दा कम छ । चालु आर्थिक वर्षको ८ महिना वितिसक्दा १५ प्रतिशत मात्रै पुजीगत खर्च भएको मिश्रले बताए ।
मिश्र भन्छन् ‘हाम्रो पुँजीगत खर्चको लक्ष्य करिव ३० प्रतिशत थियो । तर अहिले प्राविधिक अभाव हुँदा १५ प्रतिशत मात्रै पुँजिगत भएको छ ।’


