मासुको अभावले धनकुटामा ब्रोईलरको भाउ बढ्यो
धनकुटा खबर । कुखुरा अभाव भएपछि दुई हप्ताअघिसम्म प्रतिकिलो ३ सय रुपैयामा विक्री हुँदै आइरहेको ब्रोइलर कुखुराको मासु अहिले ६० रुपैया मुल्य वढेर ३ सय ६० रुपैया पुगेको छ ।
जाडोयाममा किसानले कुखुरा थोरै संख्यामा पालेकोले मासुको अभाव भएको मासु व्यवसायीहरु बताउँछन् ।
जिल्लामा कुखुरा अभाव भएपछि धरानवाट मंहगो मुल्यमा जिउँदो कुखुरा ल्याएर विक्री गरिरहेको सदरमुकामस्थित कर्माचार्य फ्रेस हाउसका सञ्चालक प्रकाश कर्मचार्यले बताए ।
जिल्लामै व्रोइलर कुखुरा सहज रुपमा पाउँदा जिउँदो प्रतिकिलो १ सय ९० र मासु प्रतिकिलो ३ सय रुपैयामा पाइन्थ्यो ।
तर अहिले अभाव भएपछि मुल्य वढेर प्रतिकिलो जिउँदो २ सय ४५ र मासु ३ सय ६० रुपैया पुगेको कर्मचार्यले बताए ।
कुखुरा अभावले हप्ता दिन भन्दा वढी पसल वन्द गरेको उनको भनाई छ । अहिले कुखुरा अभावकै कारण सदरमुकाममा सञ्चालित आधादर्जन फ्रेस हाउस वन्द अवस्थामा छन् ।
पशुसेवा कार्यालय धनकुटाको तथ्यांक अनुसार जिल्लामा वार्षिक ४७२ मेक्ट्रिक टन कुखुराको मासु उत्पादन हुने गर्छ ।
कुल उत्पादन मध्ये ५० प्रतिशत व्रोइलर कुखुराको मासु उत्पादन हुने गरेको सो कार्यालयका पशुसेवा प्राविधिक पुष्पराज दाहालले बताए ।
जिल्लामा दर्ता भएका १ सय ८ वटा पोल्टी फर्म र २५ वटा कुखुराको मासु विक्री गर्ने फ्रेस सञ्चालित छन् ।


