२४ वर्षपछि पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण, किन आउँदैछन ?

सन् १९९४ मा बेनजीर भुट्टोले नेपालको भ्रमण गरेयता पाकिस्तानी प्रधानमन्त्रीको औपचारिक नेपाल भ्रमण हुँदैछ । शाहिद खाकान अब्बासी सोमबार दुईदिने भ्रमणका लागि काठमाडौँ ओर्लंदा २४ वर्ष अघि भुट्टोले गरेको भ्रमण स्मरण मात्र हुने छैन, नेपालको कुटनीतिक ‘प्रोफाइल’ बढ्दै गएको अनुभव पनि गरिनेछ । कुटनीतिक महत्व बढ्नु देशको लागि प्रतिष्ठाको विषय हो । प्रतिष्ठासँग जिम्मेवारी पनि थपिन्छ ।

पाकिस्तानी प्रधानमन्त्रिको भ्रमण टोलीमा त्यहाँका विदेशमन्त्री ख्वाजा मोहम्मद असिफ र विदेश सचिब तेहमिना जाँजुआ सहित सामेल छन् । आइतबार परराष्ट्र मन्त्रालयले भ्रमणको औचारिक कार्यक्रम प्रकाशित गरेको छ, जसमा भनिएको छ– नेपालमा रहँदा पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । प्रधामन्त्री अब्बासीलाई नेपाल सरकारका तर्फबाट अर्थमन्त्री डा. युबराज खतिवडाले बिमानस्थलमा स्वागत गर्नेछन् ।

पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणका दुई प्रमुख कार्यसूची देखिएका छन्– पहिलो, नेपाल र पाकिस्तानबीच आपसी सम्बन्ध विस्तार र दोस्रो, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९ औं शिखर सम्मेलनको तयारी । पाकिस्तानी प्रधानमन्त्रीले नेपालका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई उच्च पदमा निर्वाचित भएकोमा भेटेरै बधाई दिने इच्छा ब्यक्त गरेपछि यो औपचारिक भ्रमणको कार्यक्रम तय भएको हो ।

नेपाल र पाकिस्तान दुवै सार्कका सदस्य राष्ट्र हुन् । दुई देशबीच सम्बन्धमा समस्या छैनन् । तर, अन्तर्राष्ट्रिय रुपले आजको पाकिस्तान अप्ठ्यारोमा छ । उसको परम्परागत सहयोगी अमेरिकाले उसलाई अलग थलग छोडिदिएपछि पाकिस्तानका समस्या बढेका छन् । पाकिस्तान–अमेरिकी सम्बन्ध, वा पाकिस्तान–भारत सम्बन्ध नेपालको चासोको विषय होइन । ती देशहरुले शान्तिपूर्ण माध्यमद्वारा आफ्ना समस्या सुल्झाउनुपर्छ ।

क्षेत्रीय सहयोग मार्फत पारस्परिक सहयोगको एउटै डुंगामा सार्कका सबै राष्ट्रहरु सवार छन् । यो डुंगा हल्लिंदा सबैको विकास र शान्तिको आकांक्षामा असर पुग्छ । सार्कका सार्वभौम राष्ट्रहरु एकभन्दा बढी अन्तर्राष्ट्रिय संगठनमा सामेल छन्, हुन सक्छन् । तर त्यस्तो व्यवस्था सार्कको प्रतिस्पर्धी वा बिकल्प नै हुनुपर्छ भन्ने छैन ।

दक्षिण एसियाको शान्ति र विकासमा नेपालको पनि राष्ट्रिय स्वार्थ गाँसिएको छ । सार्क शिखर सम्मेलन पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणको प्रमुख एजेन्डा हो । नेपालले अध्यक्ष राष्ट्रका रूपमा पाकिस्तानलाई सम्मेलन आयोजना गर्न र भारतलाई त्यसमा सहभागी गराउन विशेष भूमिका खेलेर सहयोग पनि गर्नुपर्छ ।

पाकिस्तानका सन्दर्भमा सन्तुलित र मित्रवत कुटनीति नेपालको प्राथमिकता हो । नेपाली विदेशनीति छिमेकबाट शुरु हुन्छ, र छिमेकका सबैसँग मित्रवत सम्बन्ध राख्न चाहन्छ भन्ने संदेश नयाँ सरकारले दिनुपर्छ । यससँगै पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणलाई लिएर भारत लगायतका देशमा संशय उत्पन्न हुने कारण नेपालले दिनुहुँदैन ।

किन आउँदैछन पाकिस्तानी प्रधानमन्त्री नेपाल भ्रमणमा ?

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी दुई दिने भ्रमणका लागि ३२ सदस्यीय टोलीसहित आज अपरान्ह नेपाल उत्रदै छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपाल भ्रमण गर्ने अब्वासी पहिलो बिदेशी सरकार प्रमुख हुन् । अर्थात प्रधानमन्त्री ओलीलाई भेटेरै बधाई दिने पहिलो विदेशी सरकार प्रमुख हुन (बन्दैछन्) अब्वासी । परराष्ट्र मन्त्रालयले आइतबार प्रकाशित गरेको प्रेस बिज्ञप्तीमा अब्वासीले भ्रमणका क्रममा राष्ट्रपति बिद्यादेबी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने र प्रधानमन्त्री ओलीसँग द्धिपक्षीय चासो र हितका बिषयमा द्धिपक्षीय भेटवार्ता गर्ने जनाइएको छ । सम्मानमा ओलीले रात्रीभोज दिनेछन्, यो कुटनीतिक परम्परा नै भयो ।

यसपटक प्रधानमन्त्री ओलीकै निर्देशनमा बिदेशी राष्ट्र तथा सरकार प्रमुखलाई टुँडिखेलको सैनिक मंचमा ‘गार्ड अफ अनर’ दिइने परम्पराको थालनी गरिदैछ । यस्तो अनर प्राप्त गर्ने अब्बासी पहिलो अतिथी हुँदैछन् ।

परराष्ट्र मन्त्रालयले राजनीतिक बधाइलाई बुझ्दैन, त्यसैले बधाइको पक्षलाई उसले उल्लेख गरेन, यद्धपी अनौपचारिक संवादमा त्यहाँका अधिकारी पनि भ्रमणको राजनीतिक र रणनीतिक अर्थ रहेको बताउँछन् । पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणका दुई उदेश्य देखिन्छन् । पहिलो, प्रधानमन्त्री ओलीलाई बधाइ दिन, जो स्वम प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले सार्वजनिक गरिसकेका छन् । नेपालका नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाइ दिनका लागि सरकार प्रमुख नै नेपाल आउने गरेका उदारण छैनन, किनकि नेपालले छिमेक र अन्तराष्ट्रिय जगतमा त्यस्तो कुटनीतिक सामाथ्र्य विकास गर्न सकेन ।

त्यसैले नेपाली कुटनीतिक ईतिहासमा यो एउटा नयाँ आरम्भ हो, जो विकसित नेपाली सामथ्र्यले संभव तुल्यायो र जसको केन्द्रमा प्रधानमन्त्री ओली छन् । नेपालको वाम आन्दोलनको ईतिहासमा वाम गठबन्धन र एकता सबैभन्दा ठूलो राजनीतिक घटनाक्रम हो, जसको नेतृत्व उनै ओलीले लिएका हुन् । सरकार संचालनको म्याण्डेट र मुलुकलाई स्थायित्वको बाटोमा लैजानका लागि यो अर्को सबैभन्दा ठूलो राष्ट्रिय उपलब्धी हो, जो ओलीद्वारा प्रचण्डलाई साथमा लिएर संभव भयो ।

पाकिस्तानी अन्तरिम प्रधानमन्त्रीको ‘आकस्मिक’ काठमाडौं भ्रमण त्यही ओलीले लिएको राष्ट्रिय नेतृत्वप्रतिको सम्मान हो । र, नेपाललाई बिकसित र समृद्धि राष्ट्र बनाउने ओलीको सपना, मार्गचित्र, कार्यान्वयन र त्यसका लागि सकेको सहयोग गर्न तयार रहेको सन्देश दिने इस्लामावादको प्रयास हो । बेइजिङको ‘अल वेदर फ्रेण्ड’ इस्लामावादले नेपाललाई समुन्नत राष्ट्र बनाउने ओलीको सपनालाई यर्थाथमा रुपान्तरण गर्न मनोबैज्ञानिक वल दिनु स्वभाबिक छ ।

पाकिस्तानी प्रधानमन्त्रीको १९ घण्टे नेपाल यात्रालाई उत्प्रेरित गर्ने एउटा फेक्टर शायद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महसुस गर्दै गरेको ओलीको अग्लिएको राष्ट्रिय र अन्तराष्ट्रिय छबी हो । मोदीले प्रधानमन्त्री नबन्दै दुईपटक अध्यक्ष ओलीलाई फोन गरे, बधाई मात्र दिएनन, भारतमा स्वागत गर्न आतुर रहेको बताए । प्रधानमन्त्रीको सपथग्रहण गरेकै दिन राती १० बजे फोन गरेर बधाई दिए र त्यहाँ पनि नेपालको बिकासका लागि मिलेर काम गर्न तयार रहेको बताए ।

त्यसयता लैनचौरस्थित भारतीय प्रतिनिधिका व्यवहारमा देखिने गरि परिवर्तन आएको छ । राजदुत मञ्जिभसिंह पुरी प्रधानमन्त्रीको जन्मदिनमा केक लिएर वालुवाटार पुगेभने फागु पर्व (होली) को शुभकामनाका लागि समेत वालुवाटार पुगे । चिनियाँ राजदुत यु होङले पनि जन्मदिन र फागुमा प्रधानमन्त्री ओलीलाई वालुवाटार पुगेर शुभकामना दिइन । सामान्य अवस्थामा यी कुटनीतिक अभ्यास नै हुन् ।

पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणको अर्को उदेश्य सार्कसँग जोडिएको छ । नेपाल सार्कको अध्यक्ष राष्ट्र हो, त्यसैले सार्ककोे सक्रियता र प्रभावकारितासँग पनि यो भ्रमणले सम्बन्ध राख्छ । सार्कको १९ औं सम्मेलन पाकिस्तानको इस्लामाबादमा तय भएकोमा एउटा आंतकवादी घटनालाई आधार बनाउँदै भारतले सहभागि नहुने निर्णय लियो । १८ अक्टोबर २०१६ मा उरीस्थित भारतीय सैन्य क्याम्पमाथि पाकिस्तानी सिमाबाट आक्रमण गरेको र त्यो पाकिस्तान सरकारको योजनामा भएको भन्दै भारतले इस्लामावाद सम्मेलन बहिष्कारको घोषणा गर्यो । आक्रमणमा १९ भारतीय सैनिक मारिएका थिए ।

त्यसलाई भुटान, बंगलादेश र अफगानिस्तानले समर्थन गरे र अन्तत पाकिस्तानले सम्मेलन गर्न नसक्ने जनायो । त्यसपछि अध्यक्ष राष्ट्रका हैसियतमा नेपालले भ्रमण स्थगित भएको घोषणा २ अक्टोबर २०१६ मा गर्यो । त्यसबेला नेपालले क्षेत्रिय वातावरण अनुकुल नभएकाले सार्क स्थगित गरिएको बताएको थियो भने सदस्य राष्ट्रलाई आफ्ना भूभाग आतंकवादी तत्वले प्रयोग नगरेको वारेमा सुनिश्चित समेत आग्रह गरिएको थियो । त्यसबेलाको बक्तब्य बढी भारतीय धारणाद्वारा निर्देशित थियो, जसले पाकिस्तानलाई आंतकवादीको मतियारका रुपमा चित्रित गर्यो । भारतीय धारणा नेपाली भाषामा नोटिसका रुपमा बाहिरिएको भन्दै सुशिल कोइराला सरकारको आलोचना समेत भएको थियो ।

सार्क सम्मेलन स्थगित भएपनि भारतले नेतृत्वमा लिएका बिमस्टेक र बीबीआईएन जस्ता क्षेत्रीय र उपक्षेत्रीय मंचभने थप सक्रिय भए । किनकी यी दुबै मंचमा पाकिस्तान सदस्य छैन । प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीले विदेश नीतिको संचालनमा एउटा देखिने ‘डिपार्चर’ गरेका छन् । त्यो भनेको क्षेत्रीय सम्बन्धहरु बढाउँदै लैजाने र तर पाकिस्तानलाई भने ‘आइसोलेट’ गर्ने । १५ जुन २०१५ मा भुटानको राजधानी थिम्पुमा बीबीआइएनमा हस्ताक्षर भयो, जो भारतका लागि पाकिस्तानबिरुद्धको ठुलो प्रहार थियो हो । यो भारतको ‘लुक इष्ट’बाट ‘एक्ट इष्ट’ मा रुपान्तरिक हुँदै गरेको नीतिका लागि एउटा रणनीतिक महत्वको क्षेत्रीय पहलसमेत हो ।

अवधारणाकै तहमा अर्थात सन १९८० जनवरीमा बंगलादेशका राष्ट्रपति जियाउल हकले सार्कको अवधारणा ल्याउँदा भारत त्यति इच्छुक थिएन किनकी सार्कमार्फत भारतलाई अन्य राष्ट्रले घेरा हाल्छन भन्ने भारतको बुझाई थियो । सेप्टेम्बर १९९६ पछि बल्ल सार्कप्रति भारतको सकारात्मक धारणा रह्यो, जो तत्कालिन विदेशमन्त्री आइ के गुजरालको ‘नोन रेसिप्रोसिटी’ नीतिका कारण । त्यसैको जगमा डिसेम्बर १९९६ मा बंगलादेशसँग गगां पानी बाँडफाँड सहमति भयो भने सन १९९९ मा श्रीलंकासँग खुला व्यापार सम्झौता भयो । पाकिस्तानसँगको सम्बन्ध भने झन निराशाजनक भएपछि भारतले सन १९९७ मा बिमस्टेकको पहल लियो । पाकिस्तानविनाको सार्कको बिस्तारका रुपमा बिमस्टेक रह्यो ।

कहिले पनि प्राथमिकतामा नपरेको सार्कको शिखर सम्मेलनका बारेमा भारतले पहल गर्दैन भन्ने पाकिस्तानलाई थाहा छ । २०७१ मंसिरमा सम्पन्न भएको सार्कको १८ औं शिखर सम्मेलनपछि सार्क अवरुद्ध छ । त्यसैले पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणमा सार्कको १९ शिखर सम्मेलन गर्न पाकिस्तान तयार रहेको भन्दै त्यसका लागि प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री ओलीको सहयोग माग्नेछन् । अगष्ट २०१७ मा ४५ दिनका लािग प्रधानमन्त्री बनेको भनिएका तर ७ महिना सरकार चलाइ सकेका ओलीको पहल महत्जपूर्ण हुने अब्बासीले बुझेका छन् । त्यसैले अब्वासी पनि आफुले गर्न नभ्याएपनि शिखर सम्मेलनको मिति तय गर्न सकेमा पनि उपलब्धी हुने ठानिरहेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणको तेश्रो उदेश्य द्धिपक्षीय सम्बन्धलाई बिस्तारित गर्नु हो । २९ मार्च १९६० मा दौत्य सम्बन्ध स्थापना गरदेखि नै नेपाल र पाकिस्तानले सौहाद्रपूर्ण सम्बन्धलाई निरन्तरता दिंदै आएका छन् । द्धिपक्षीय वार्ताका क्रममा नेपाली भूमीबाट २०७३ चैत २४ देखि बेपत्ता पाकिस्तानी सेनाका पूर्व कर्नेल मोहम्मद हबिब जहिरका बिषयमा पनि छलफल गर्न सक्छन । किनकी उनी बेपत्ता भएको खवर सार्वजनिक भएलगत्तै त्यसबेला नै पाकिस्तानी सरकारले नेपाल सरकारलाई खोजी गरिदिन आग्रह गरेको थियो । त्यसलगायत पाकिस्तान सरकार आंतकवादबिरुद्ध लड्न तयार रहेको भन्दै त्यसका बारेमा दिल्लीको दृष्टिकोणले एकोहोरो सन्देशमात्र प्रवाहित भएको समेत बताउनेछन् । चक्रपथ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।