ब्यबसायी बन्दै मौनाबुधुकका महिला !
धनकुटा खबर । चौविस गाउँपालिका वडा नं. ७ मौनाबुधुककी महिलाहरु ब्यबसायी बन्न थालेका छन् ।
हातमा सीप भएपनि लगानी गर्ने पैसा नहुँदा घरमै बसेका महिलाहरु ब्यबसायी बन्न थालेका हुन् । यस्तै महिला हुन, मौनाबुधुक धनकुटाकी लक्ष्मी तामाङ । उनले सफल ब्यबसायीको परिचय बनाएकी छिन् ।

तस्वीर : मौनाबुधुकको सुन्दर दृश्य – सुरेन्द्र आठपहरिया
केही बर्ष पहिले अरुको बारीमा कृषि मजदुरी र अरुकै तानमा ढाकाको कपडा बुनेर जिविकोपार्जन गरिरहेकी तामाङ अहिले आफैले पसल खोलेर ब्यबसाय गरिरहेका छिन् । गाउँमा गठन भएको मौनाबुधुक जिवन विकास संस्थामा आवद्ध भएपछि उनको जिवनमा परिवर्तन आयो । ब्यबसाय गर्ने मन हुँदा पनि पैसा नभएकाले केही गर्न सकेकी थिईन । तर समुहको सहयोगले अहिले मेरो जिवनमा परिवर्तन आएको छ । तामाङले बताइन ।
त्यसैगरी मौनाबुधुककी आशा न्यौपानेले पनि कुखुरा पालन ब्यबसाय सुरु गरेकी छिन् । मौनाबुधुक जिवन विकास संस्था मार्फत ऋण लिएर सुरु गरेको ब्यबसायले राम्रै आम्दानी गरिरहेको उनले बताईन । घरमा बसेर दिन विताउनु भन्दा केही गरौ भन्ने मन भयो । त्यसैले ब्यबसाय सुरु गरेको न्यौपानेले बताईन ।
मौनाबुधुक जिवनविकास संस्थामा संलग्न भएका २७ जना महिलाहरुले समुहबाट ऋण लिएर ब्यबसाय गरिरहेका छन् । उनीहरुको ब्यबसायले आफुलाई मात्र नभएर परिवारलाई समेत आत्मनिर्भर बनाइरहेको संस्थाकी अध्यक्ष प्रमिला लिम्बुले बताईन ।
यो संस्थाले महिलाहरुलाई ब्यबसायी मात्र हैन ऋण परिचालन गर्ने, बैठक बस्ने, सामाजिक विकासको विषय छलफल गर्ने र ब्यक्तिगत क्षमता विकासमा समेत सहयोग गरेको छ । संस्था सदस्यहरुलाई अपतविपद् परे १० हजार र सुत्केरी भए एक हजार सहयोग समेत पाएको अध्यक्ष लिम्बुले बताईन ।


