धनकुटा छथरजोरपाटी सडकका नयाँ ट्र्याकमा लगानी बन्द
धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले सडकका नयाँ ट्र्याकमा लगानी बन्द गरेको छ ।

नयाँ ट्र्याकमा लगानी रोकेको छथरजोरपाटी गाउँपालिकाले सातवटा सडकलाई प्राथमिकतामा राखेर बिस्तार र स्तरोन्नती गरिरहेको गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्वुले जानकारी दिए । गाउँपालिका कार्यालय देखि हरेक वडासम्म पुग्ने ६ वटा सडकलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
जोरपाटी, चुलाचुली, काजीमान सडक बिस्तार गरि १० मिटर चौडा बनाउने काम भैरहेको लिम्वुले बताए । यस्तै परेवादिन र हात्तिखर्क सडक बिस्तार र स्तरोन्नतीको काम पनि धमाधम भैरहेको छ । लिम्वुले भने, ‘सडकको आयू र सुविधासँग जोडिएका मोड फराकिलो गर्ने, टेवा पर्खाल र नाला निर्माण गरिरहेका छौ ।’
१४ किलोमिटर सडकमा ग्राभेल र सोलिङ्ग गरिएको छ भने दुई सय ८० किलोमिटर कच्ची सडकको केहि भागमा मात्रै हिउँदका महिनमा दुःखले यातायात संचालन हुने गरेको छ ।
२३ करोड रुपैयाँ बार्षिक बजेट रहेको यो गाउँपालिकामा चालु आर्थिक बर्षमा सडकका लागि तीन करोड दुई लाख रुपैयाँ बिनियोजन गरिएको छ ।


