आफू पढेको बिद्यालयलाई प्रवासीले गरे ३ लाख बढीको शैक्षिक सामाग्री सहयोग
धनकुटा खबर । धनकुटाको साविक चुङ्वाङ्ग गाँउ विकास समिति हाल पाख्रिवास नगरपालिका वडा नं १० स्थित भारती माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले विद्यालयको शैक्षिक विकासमा सहयोग पुग्ने उदेश्यले तीन लाख १५ हजार वरावरको शैक्षिक सामाग्रीहरु आज हस्तान्तरण गरिएको छ ।

उक्त विद्यालयमा शिक्षा लिई हाल स्वदेश तथा विदेशमा रोजगारीका सिलसिलामा रहनुभएका पूर्व विद्यार्थीहरुको आर्थिक सहयोगमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
विद्यालयलाई शैक्षिक सहयोग उपलव्ध गराउनका लागि मुख्य संयोजन गर्नुभएको साविक चुङ्वाङ्ग हाल पाख्रिवास नगरपालिका वडा नं १० निवासी शसस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक गणेश ठाडाले सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।
सो अबसरमा मगरले आफुले शिक्षा लिएको विद्यालयलाई केही सहयोग गरौ र समय सुहाँउदो शिक्षा अहिलेका विद्यार्थीहरुले लिन सकुन भन्ने उद्देश्यले शैक्षिक सामाग्री उपलव्ध गराईको वताउनुभयो ।

उहाँका अनुसार विद्यालयलाई कम्प्यूटर, विभिन्न पुस्तक एवं पाठ्य सामाग्री, खेलकुदका सामाग्री, साउण्ड सिस्टम, वालवालिकाहरुका लागि वाल सामाग्री खेलौन लगायत शैक्षिक सामाग्री आदि रहेका छन् ।
शैक्षिक सामाग्री प्राप्त भएपछि विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुगेको र यसले थप गुणस्तरयुक्त र प्रविधियुक्त पठनपाठनमा सहयोग मिलेको कुरा विद्यालयका प्रधानाध्यापक विष्णु धमलाले प्रतिक्रिया दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र समाल मगरको अध्यक्षतामा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।
सहयोग गर्नेहरुमा सिमाना आले, धनबहादुर ठाडा मगर, तारक किशोर थापा, हिमाल थापा, मिना राई, उमेश आले यूके, मम्तास मोक्तान, अम्तास मोक्तान बेल्जियम, गोपाल राना, संगिता राना जयकुमारी (जर्घा) पुर्वछाने हङकङ र स्व.गंगा बहादुर थापा(मगराती) को परिवार रहेका छन् ।


