लागुऔषध कारोवारीको सफाया गर्न महानिरीक्षक खनालले ल्याए नयाँ योजना
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको बताएका छन्। यसका लागि उनले स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने योजना ल्याएका हुन् । लागुऔषधबाटै अपराध जन्मिने भन्दै खनालले यसलाई नियन्त्रण गरे अपराधी आफै सफाया हुने भावनाअनुरुप यस्तो योजना ल्याएका हुन् ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘लागुऔषध अपराधको वर्तमान अवस्था र प्रभावकारी रोकथामका उपाय’ विषयक गोष्ठीमा उनले लागुऔषधमा संलग्न अपराधीलाई प्रहरीले पूर्ण लगावका साथ खटिएर स्थानीय निकायसँग समन्वय गरी निर्मूल गर्नुपर्ने बताए। “विद्यालय, क्याम्पस स्थानीय तह र सीमावर्ती क्षेत्रमा तत्काल जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ,”– उनले भने।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक ठूले राईले लागुऔषध नियन्त्रण तथा रोकथाममा अझ संवेदनशील भएर लाग्नुपर्ने बताए। उनले लागुऔषधको वर्तमान अवस्था, चुनौती तथा समस्या, सुधारका प्रयास र भावी रणनीतिसम्बन्धी प्रस्तुतीकरण गरेका थिए।
गृह मन्त्रालय लागुऔषध शाखाका उपसचिव कृष्णप्रसाद शर्माले लागुऔषध माग न्यूनीकरणमा गर्न सबै लाग्नुपर्नेमा जोड दिए। कार्यक्रममा लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर, केन्द्रीय विधिविज्ञान प्रयोगशाला महाराजगञ्ज, लागुऔषध शाखा कार्यालय विमानस्थल, महेन्द्रनगर, नेपालगञ्ज, पोखरा, भैरहवा, वीरगञ्ज र विराटनगरबाट लागुऔषधको वर्तमान अवस्था र चुनौतीका विषयमा प्रस्तुतीकरण दिइएको थियो।


