कठोर नीति ल्याऊँदै ओली सरकार,- धर्म परिवर्तन गराउनेलाई देश निकाला देखी कम्पनी खारेजीसम्म
सरकारले धर्म परिवर्तन गराउन चाहने व्यक्ति वा संस्थालाई निरुत्साहित गर्ने कठोर नीति ल्याउन लागेको छ।
विदेशी तथा गैरसरकारी संस्थाहरूले धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि निरुत्साहनका लागि संस्थाको सम्बन्धन एवं दर्ता खारेज गर्ने कानुन ल्याउन लागेको छ।
यस्ता कार्यमा संलग्नहरूलाई नेपालबाटै फिर्ता गर्ने तयारी सरकारले गरेको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ।
नेपालमा कार्यरत झण्डै दुई सय ५० भन्दा बढी अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था र तिनका पदाधिकारीमाथि कडाइ गर्दै राष्ट्रिय सदाचार नीति ल्याउन लागिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय सदाचार नीतिको मस्यौदा तयार पारिरहेको छ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले सार्वजनिक निकाय, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गैरसरकारी क्षेत्रलगायतलाई नैतिकवान् बनाउन राष्ट्रिय सदाचार नीति ल्याउन लागिएको जानकारी दिए । राष्ट्रिय सदाचार नीतिलाई छिट्टै मन्त्रिपरिषद्बाट स्वीकृत गराउने योजना प्रधानमन्त्री कार्यालयको छ।
पूर्वकानुनसचिव एवं सदाचार नीतिका मस्यौदाकार मोहन बञ्जाडेले आईएनजीओहरूले सहयोगका नाममा धर्म परिवर्तन गराउने खतरनाक काम गरिरहेको आरोप लगाए।
‘यो हाम्रो धर्म र सभ्यता नष्ट गराउने दुष्प्रयास हो । धर्म परिवर्तन गराउन खोज्ने तत्वलाई कडाइ नगर्ने हो भने मुलुकले गम्भीर खाले समस्या भोग्नुपर्छ’, बञ्जाडेले भने । नेपालको संविधान र फौजदारी कानुनमा पनि धर्म परिवर्तन गराउनेलाई कडा कारवाही गर्ने प्रावधान छ । ‘संविधान र कानुनी व्यवस्थाको पालना गराउन नसक्ने हो त्यस्ता कानुनी प्रावधानको अर्थ रहँदैन’, बञ्जाडेले भने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीले कुनै पनि एनजीओले नेपालमा धर्म प्रचारप्रसार गर्न नपाउने स्पष्ट पार्दै भने, ‘गर्छ भने त्यो संविधान र कानुनविपरीत काम हो र उनीहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ।’
‘अहिले सदाचार नीतिको मस्यौदामा पनि हामीले यसको प्रस्ताव गरेका छौं । समाज कल्याण परिषद् र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विगतमा त्यस्ता एनजीओलाई किन सम्बन्धन दिए छानबिन गर्नुपर्छ । प्रधानमन्त्री कार्यालयले उनीहरूलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको छ’, सचिव अधिकारीले भने।


