मुलुकभर मदिरा नियन्त्रण अभियान चलाइने !

काठमाडौँ । गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ ।

गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा बिक्री वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो । सोही क्रममा आज गृहमन्त्री रामबहादुर थापाले विभिन्न राजनीतिक पार्टी आबद्ध महिला नेत्री र महिला सांसदसँग आज गृहमन्त्रालयमा सो विषयमा छलफल गर्नुभएको छ ।

छलफलमा गृहमन्त्री थापाले समाज, परिवारमा विखण्डनको प्रमुख कारण मदिरा रहेको भन्दै यसको नियन्त्रण गर्ने तयारी थालेको भन्दै यसमा रचनात्मक सुझाव र सहयोगका लागि महिला नेत्रीहरुसँग आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय बढिरहेको महिला हिंसाको कारणसमेत मदिरानै रहेको भन्दै मदिराबाट राज्यले पाउँदै आएको करभन्दा त्यसको प्रयोगले समाजमा ल्याएको विकृति कैयौँ गुणा घातक रहेको टिप्पणी गर्नुभयो ।

देशभर रहेका करिब छ हजार ५०० स्थानीय तहका वडाहरुमा विभिन्न राजनीतिक पार्टी आबद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समूह, नागरिक समाज र सुरक्षाकर्मी रहनेगरी समिति गठन गरी वडास्तरबाटै जनसहभागितामा मदिरा नियन्त्रणको अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

यसका लागि मन्त्रालयले विस्तृत खाका बनाइरहेको भन्दै अभियान केन्द्रको प्रयासले मात्रै सम्भव नरहेको भन्दै वडास्तरबाटै सञ्चालन गरिने गृहमन्त्री थापाको भनाई छ । यसका लागि तत्काल मन्त्रालयले छमहिने अभियान सञ्चालनका लागि आवश्यक गृहकार्य गरिरहेको गृहमन्त्रीले जानकारी दिनुभयो । उहाँले अभियानसँगै मदिरा नियन्त्रणको जागरण अभियान र भण्डाफोर कार्यक्रम आयोजना गरिने बताउनुभयो ।

उहाँले अनुमति नलिई र मापदण्ड नपुगी सञ्चालनमा ल्याइएको मदिरा पसललाई नियन्त्रणमा लिन सुरक्षाकर्मी तत्काल परिचालन गरिने बैठकमा जानकारी दिनुभयो । विकास र समृद्धिको बाधक तथा भ्रष्टाचारको कारकसमेत मदिरा रहेको भन्दै यसलाई व्यवस्थित गराएरै छाड्ने प्रतिबद्धता बैठकमा गृहमन्त्रीले व्यक्त गर्नुभयो ।

मदिरा नियन्त्रणसँगै लागूऔषध नियन्त्रणलाई पनि साथसाथै अभियानका रुपमा लैजाने तयारी मन्त्रालयले गरिरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा पूर्वसचिव तथा राष्ट्रिय सूचना आयोगका प्रमूख आयुक्त कृष्णहरि बाँस्कोटाले मदिरा नियन्त्रणका उपायका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । छलफलमा महिला नेत्रीहरुले मदिराबाट सबैभन्दा बढी पीडित महिला रहेको भन्दै मदिरा नियन्त्रण अभियानमा साथ दिन तयार रहेको बताएका थिए । उनीहरुले पहिलो चरणमा मदिरा नियन्त्रण र दोस्रो चरणमा मदिरा निषेध नै गर्ने गरी कार्ययोजना ल्याउन गृहमन्त्रीलाई सुझाव दिए ।

उनीहरुले मदिरा नियन्त्रणका लागि आवश्यक नियम, निर्देशिका र संयन्त्रको समेत तत्काल विकास गर्नुपर्ने बताए । विगतमा टोल, गाउँ र जिल्लागत रुपमा यस्तो अभियान सञ्चालन गरिएपनि यसपटक केन्द्रस्तरबाटै अभियान शुरु गर्न लागिएकाले अभियान सफल हुनेमा छलफलमा सहभागी सबैको एकमत रहेको थियो । रासस

https://youtu.be/0cy1hpwqRc0



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।