गत बर्षको तुलनामा चौविसेमा ५ प्रतिशतले कम धान रोपाई !
धनकुटा खबर । श्रावण महिनाको अन्तिम साता वित्नै लाग्दा धनकुटाको चौविसे गाउँपालिकाको कुल धान खेती योग्य जमिन मध्ये ८५ प्रतिशत अर्थात ५ सय हेक्टर क्षेत्रफलमा मात्र रोपाई सकिएको छ ।
चौविसे गाउँपालिकाको कूल धानखेती योग्य ५ सय ८९ हेक्टर क्षेत्रफल जमिन मध्ये गत वर्ष यो समयमा किसानहरुले ९० प्रतिशत क्षेत्रफलमा धान रोपी सकेको गाउँपालिकाको कृषी शाखाको तथ्याङ्कमा उल्लेख छ ।
खासगरी यो वर्ष पानीको मूल नफुट्नु र आकाशे पानी पनि पर्याप्त मात्रामा नपुग्नुको कारणले किसानहरुलाई समय मै धान रोप्न कठिनाई भएको गाउँपालिकाको कृषी शाखाले जनाएको छ ।
तुलनात्मक हिसावले हेर्दा गत वर्षको यही समय सम्मको अवधिलाई हेर्दा ५ प्रतिशतले धान रोपाई कम भएको देखिन्छ । सो गाउँपालिकाको सदामटार, हंसमोङ्ग, फलामेटार र अठारसय मासिमटारमा वढीमात्रामा धान खेती हुनेगरेको कृषी शाखा प्रमुख विरेन्द्र तामाङ्गले जानकारी दिनुभयो ।
त्यहाँका किसानहरुले खुमल ४, खुमल १०, राधावारा,सुख्खा १ लगायत जातका धान रोप्ने गरेकाछन् । (फायल फोटो)


