धनकुटाको छथरजोरपाटीबाट २७ करोड बढीको तरकारी निकासी
धनकुटा खबर । तरकारी उत्पादनका लागि अग्रणी रहेको धनकुटाको छथरजोरपाटी गाउँपालिका बाट गत आर्थिक बर्षमा २०७४÷०७५ मा २७ करोड ६४ लाख ९० हजार मूल्य बराबरको तरकारी निकासी भएको छ ।
छथरजोरपाटी गाउँपालिकाको कृषि शाखाले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७४÷०७५ मा बन्दा, काउली, मुला, आलु र मटरकोसा लगायतका तरकारी बालि निकासी भएका हुन् ।
गाउँपालिका भित्रका करीब १ दर्जन संकलन केन्द्र बाट यो मूल्य बराबरको तरकारी निकासी भएको छथरजोरपाटी गाउँपालिकाको कृषि शाखाका प्रविधिक सहायक खगेश्वर तिम्सिनाले जानकारी दिए । यस गाउँपालिकामा १ सय ५० भन्दा बढी कृषि सहकारी संस्था छन् भने अधिकांस किसान समुहमा आवद्ध भई तरकारी बालि खेति गर्ने गरेको तिम्सिनाले बताए ।
परेवादिन, मूर्तिढुङ्गा, तांखुवा, लगायतका का स्थान यहाँका तरकारी पकेट क्षेत्रहुन् । यहाँ उत्पादन हुने तरकारीको मुख्य बजार तराईका विभिन्न स्थानमा रहेका बजार हुन् ।
कृषि सिंचाइ, औजार उपकरण वितरण, बर्षे र हिउँदे तरकारी बालीको बीउ र मलमा अनुदान जस्ता प्रवद्र्धनात्मक कार्यक्रमले ब्यबशायीक तरकारी उत्पादनमा लाग्ने किसानको संख्या बढ्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालको कार्यलय समेत यसै गाउँपालिकामा रहेको छ ।


