धुमधामका साथ मनाईयो धनकुटामा गाइजात्रा !, यस्तो छ धार्मीक महत्व… (भिडियो सहित)
धनकुटा खबर । नेवारी समुदायले धनकुटामा धुमधामका साथ गाइजात्रा पर्व मनाएका छन् ।
धनकुटा सदरमुकामको मदनचौक, सिरवानी, सिरानबजार, हुलाकटोल, बालमन्दिर, देब्रेबास लगायतका स्थानबाट निकालिएको झाँकी, लाखे र लठ्ठी नाच सहितको जात्राले नगर परिक्रममा गरेको थियो ।
गाइका रुपमा सिंगारिएका मानिस र गाइलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिएको थियो । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाएर बैतरणी पार हुन्छन भन्ने धार्मिक विश्वास रही आएको छ ।

एक वर्षको अबधिभित्र दिवंगत भएका आफ्ना आफन्तको सम्झनामा गाई र मानिसलाई गाईका रूपमा सिँगारी निकालिएको जात्रा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा समापन गरिएको छ । धनकुटा खबरका लागि विदुर खवासले तयार पारेको यो भिडियो हेर्नुहोस्
मान्यता र महत्व
नेवार समुदायका परिवारले मृतक व्यक्तिको संझनामा निकालेका गाईजात्रामा जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई बनाई टोलटोल घुमाउने गर्छन् । टोलटोलबाट एकसाथ आकर्षक घिन्ताङकिसी नाचसहित गाईजात्रा निकाल्नुका साथै विभिन्न नाच एवं व्यङ्य प्रदर्शन गरिन्छ । मध्याह्नपछि जात्रा आकर्षक हुने भएकाले हेर्नेको भीड लाग्ने गर्दछ ।
यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मृत्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेश गरी मुक्ति पाउने हिन्दूधर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएको संस्कृतिकर्मी रामशेखर श्रेष्ठ जानकारी दिनुुहुन्छ । गाईलाई नगरपरिक्रमा गराउनाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई बैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको उहाँ बताउनुहुन्छ ।
पुत्रशोकले विह्वल भएकी आफ्नी रानीको चित्त बुझाउन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले “जनतालाई आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू” भनी आदेश दिएकाले गाईजात्रा शुरु भएको ऐतिहासिक मान्यता छ ।
घरघरबाट गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसक्दा विभिन्न प्रकारका प्रदर्शन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएकाले सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेपनि यहाँका संस्कृतिकर्मी भने गाईजात्रा पर्व विक्रम संबत्को १४आँै शताब्दीभन्दा अगाडि तथा लिच्छविकालको अन्त्यमा शुरु भएको बताउँदै आएका छन् ।
यहाँ गाईजात्राका दिन धार्मिक परम्परानुसार परालबाट निर्मित भैरब र तःहामचा निकालेर नगर परिक्रमा गराएपछि सो दिनको गाईजात्रा विसर्जन गरिने प्रचलन छ । यस दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको संस्कृतिकर्मी श्रेष्ठको भनाइ छ ।
यस दिन पाप गरे मृत्युपश्चात् पनि सोही कर्म भोग्नुपर्छ भन्ने धार्मिक विश्वासका साथ आजका दिन कसैले पनि त्यस्तो गतिविधि गर्न नहुने भनाइ रहेको उहाँ बताउनुहुन्छ । आजका दिन दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।


