जीतपुरमा ‘खसीकप’ फुटवल !
धनकुटा । हरितालिका तीजको अवसर पारेर महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुर बजारमा खसीकप फुटवल प्रतियोगिता सुरु भएको छ ।
जीतपुर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल र समितिका उपाध्यक्ष वालकृष्ण रसाइलीले संयुक्त रुपमा गरेका थिए ।
नकआउट चरणमा हुने प्रतियोथिताको हिजो सम्पन्न उद्घाटन खेलमा कटहरेको टीमले मूर्तिढुंगाको टिमलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गरेको थियो ।
त्यस्तै दोस्रो खेलमा मारेकले हात्तिखर्कलाई शुन्यका विरुद्ध दुई गोलले, तेस्रो खेलमा याङ्लावुङले पंचमी यूवा क्लव हात्तिखर्कलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगितामा नगरपालिका आसपासका २० ओटा फुटवल टिमको सहयोगिता छ ।
प्रतियोगिताको विजेताले २० किलो खसी, ट्रफी , मेडल र प्रमाण पत्र र उपविजेताले भाले, ट्रफी, मेडल र प्रमाण पत्र हात पार्नेछ । समितिका अध्यक्ष राजकुमार राना मगरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन सह–सचिव नरेन तुम्बाले गरेका थिए । जीतपुर क्याम्पसको खेल मैदानमा भइरहेको प्रतियोगिताको फाइनल खेल २८ गते विहिवार हुने छ ।
त्यस्तै आज सम्पन्न प्रतियोगिताको अन्य खेलमा मूर्तिढुंगाले साल्डाङ्गलाई पेनाल्टी सुटआउटमा पाँचका विरुद्ध दुई गोलले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा आन्द्रुङले लेगुवालाई सात शुन्यले पराजित गरेको समितिका अध्यक्ष रानाले बताए ।


