राष्ट्रिय सुन्तलाजात अनुसन्धान पारिपात्ले धनकुटा : वैज्ञानिक नहुँदा काम प्रभावित (भिडियो सहित)
धनकुटा । राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटामा दरवन्दी अनुसार वैज्ञानिक नहुँदा काम अमिलो जात फलफुलको नयाँ जातको विकास, अध्ययन र अनुसन्धान गर्ने काम प्रभावित बनेको छ । मुख्य वैज्ञानिक सहित ८ जना वैज्ञानिकको दरबन्दी रहेको राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्लेमा हाल ३ जना वैज्ञानिक मात्रै कार्यरत छन् ।
अमिलो जात फलफुलको अध्ययन तथा अनुसन्धान गर्ने नेपालको एकमात्र राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेमा दरवन्दी अनुसार कृषि वैज्ञानिक र प्राविधिकहरु नहुँदा अनुसन्धान कार्यहरु प्रभावित भएका छन ।
दरवन्दी अनुसार कृषि वैज्ञानिक र प्राविधिक कर्मचारीहरु नहुँदा कार्यालयको अध्ययन तथा अनुसन्धानका कार्यहरु ठप्प भएका हुन । मुख्य वैज्ञानिक सहित ८ जना वैज्ञानिकको दरबन्दी रहेको कार्यालयमा हाल ३ जना वैज्ञानिक मात्रै कार्यरत छन् ।
दरवन्दी अनुसार वैज्ञानिक नहुँदा अमिलो जात फलफुलको नयाँ जातको विकास, अध्ययन र अनुसन्धान गर्ने काम प्रभावित वनेको कार्यक्रमका वरिष्ठ वैज्ञानिक हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।

जनशक्ति नहुँदा किट विज्ञान प्रयोगशाला, माटो परिक्षण र रोग परिक्षण केन्द्र वन्द भइसकेको छ । यस्तै जनशक्तिकै अभावका कारण टिस्यू कल्चर ल्याव ८ वर्ष देखि वन्द अवस्थामा छ । नयाँ जातको विरुवा विकास गर्ने लक्ष्य सहित स्थापना भएको फलफुल प्रजनन् प्रयोगशालामा अहिले सम्म पदपूर्ति नै भएको छैन । फलफुल विज्ञको रुपमा वरिष्ठ वैज्ञानिक डा. उमेश आचार्य मात्रै छन् ।
यसमा अझै एकजना दरबन्दीमा पदपूर्ति भएको छैन । यसैगरी प्राविधिक अधिकृतमा ५ जनाको दरवन्दी भएपनि अहिले कोही पनि कार्यरत छैनन् । ७ जनाको प्राविधिक दरवन्दीमा १ जना मात्रै कार्यरत छन् । वैज्ञानिकले गरेको अध्ययन अनुसन्धानमा सहयोगी भूमिका निर्वाह गर्ने प्राविधिक सहयोगीको १३ दरवन्दी भएपनि ७ जना मात्रै कार्यरत छन् ।
जनशक्ति अभावका कारण अनुसन्धानका काममा असर पुगेको छ । त्यस्तै ल्याब सञ्चालनमा नआउँदा विभिन्न रोग कीराको प्रकोपका कारण कृषक मारमा परेको बैज्ञानिक रोशन रोक्का बताउनुहुन्छ ।
पछिल्लो समय नेपालमा अमिला जातका फलफुलको व्यवसायिक खेती लगाउने क्रम वढ्दो छ । तर त्यसैमा अध्ययन अनुसन्धान गर्ने निकायले भने वैज्ञानिक अभावले प्रभावकारी काम गर्न सकिरहेको छैन ।


