चौबिसे धनकुटाका ११ जना विद्यार्थीले पाए छात्रवृत्ति !
विदुर खवास, धनकुटा खबर । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने नीति अन्तरगत चौबिसे गाउँपालिका धनकुटाले पुण्य मावि राजारानीमा कक्षा–११ मा अध्ययनरत ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
धनकुटाको एकमात्र होटल व्यवस्थापन संकाय पढाई हुने चौबिसे गाउँपालिका–६ राजारानीमा रहेको पुण्य मावि राजारानीमा अध्यायनरत ६ जना विद्यार्थी र चौबिसे गाउँपालिकाकै एकमात्र विज्ञान संकाय अध्यापन गरिने सोही विद्यालयमा अध्यायनरत कक्षा–११ का ५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको चौबिसे गाउँपालिका शिक्षा शाखाका प्रमुख देवीबहादुर श्रेष्ठले बताए ।
छात्रवृत्ति प्राप्त गर्ने कक्षा–११ मा होटल म्यानेजमेन्ट अध्यायनरत विद्यार्थीहरुमा सुस्मिता मगर, सिद्धान्त राई, धिरज थापा, आकृति राना, एलिसा मगर र रोशन लिम्बू रहेका छन् । उनीहरुलाई जनही वार्षिक ४० हजारका दरले छात्रवृत्ति वितरण गरिएको शिक्षा शाखाका प्रमुख श्रेष्ठले बताए ।

त्यस्तै विज्ञान संकायतर्फ दिपेश लिम्बू, टीकामाया लिम्बू, सुजता खजुम राई, उज्वल चेम्जोङ र आकृति राई रहेका छन् । उनीहरुलाई १ नम्बर प्रदेशका प्रदेश सदस्य निरन राईले नगद ३० हजारका दरले छात्रवृत्ति वितरण गरेका थिए । चौबिसे गाउँपालिकाको शिक्षाको गुणस्तरलाई वृद्धि गर्दै विद्यार्थीहरुमा पढाई प्रति उत्प्रेरणा गराउने उद्देश्यका साथ गाउँपालिकाले छात्रवृत्ति कोषको स्थापना गरी यस वर्षदेखि छात्रवृत्ति वितरण गर्न शुरु गरिएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए ।
गाउँपालिकाको समृद्धि र विकासको लागि गुणस्तरिय शिक्षा पहिलो आवश्यकता रहेको र शिक्षकको अभावलाई पुरा गर्दै दक्ष जनशक्ति आफै उत्पादन गर्ने गाउँपालिकाको उद्देश्य अनुरुप छात्रवृत्ति कोष स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष राईले बताए । उक्त छात्रवृत्ति वितरणको लागि विद्यालय र विद्यालयबीच केही बुँदामा सम्झौता पनि भएको छ ।
गाउँपालिकाले छात्रवृत्ति कोष स्थापना गर्दा प्रत्येक वडाबाट होटल म्यानेजमेन्ट र विज्ञान संकायमा अध्यायनरत २÷२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिने घोषणा गरेको थियो । तर यस वर्ष जम्मा दुवै संकायमा गरी ११ जना मात्र विद्यार्थीहरु भर्ना भएका छन् । आगामी दिनमा विद्यार्थीहरुको संख्या बढ्ने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताइन ।


