भेडेटारमा ३ दिने खाना महोत्सव !
नारायण कुमार राई, धनकुटा खबर । अंग्रेजी नयाँ बर्षमा पूर्वी नेपालको पर्यटकीय गन्तब्य धनकुटाको साँगुरी गाउँपालिका स्थित भेडेटारमा सातौ खाना महोत्सव हुने भएको छ ।
आयोजक संस्था होटल एशोसिएशन अफ भेडेटारले वुधवार पत्रकार सम्मेलन गर्दै सन् २०१९ को अवसर महोत्सव हुन लागेको जानकारी दिएको छ ।
आउने पुस १६ देखि १८ गते नमस्ते झरना, भेडेटार बजार र अमेरिकी टिभी च्यानल सि.एन.एन.को सर्भेक्षणमा बिश्वको १२ औ मध्ये ८ औ स्थानमा परेको नाम्जे गाउँमा महोत्सव हुने भएको छ ।
महोत्सवमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिने कार्यक्रममा जानकारी दिईएको छ ।

३० वटा स्टलहरु रहने उक्त महोत्सवमा हाल सम्म २५ स्टलहरु बुकिङ्ग भईसकेको एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।
खाना महोत्सवमा राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरुको सांगितिक प्रस्तुती संगै आगन्तुक पाहुनाहरुलाई प्याराग्याइडिङ, माउण्टेन वाइक र टुर प्याकेजको व्यवस्था रहेको छ । महोत्सव अवधिभर भेडेटारका होटलमा खानामा १० प्रतिशत र बस्न १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
महोत्सवमा सागुरीगढी गाउँपालिका भित्र रहेको साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झरना शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका ठाउँमा घुमाइने छ ।
त्यस्तै मगर, लिम्बु, राई, चौधरी, धिमाल र याखा जातीको सास्कृतिक झाँकीको समेत मनोरञ्जन लिन सक्ने आयोजक समितिका सचिव आशिष राईले बताए । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिकको मुख्य प्रायोजन,गोर्खा वुअरी, डिभाइन वाइन, पेप्सी कोला सह–प्रायोज र नेष्ट भेडेटा, भेडेटार आमा समुह र पाथिभरा क्लवको आयोजनामा महोत्सव सम्पन्न हुनेछ ।
महोत्सवमा भारत र नेपालका गरी ३० हजार पर्यटक भित्राउने लक्ष सहित १ करोड रुपैया वरावरको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको आयोजकले जानकारी दिएको छ ।


