गण्डकी प्रदेश सरकारको प्रशंसनिय काम- बन्द रहेको हुम्डे विमानस्थल ६ वर्षपछि उडान सेवा सुरु
मनाङ । गण्डकी प्रदेश सरकारको पहलमा बन्द रहेको हुम्डे विमानस्थलमा ६ वर्षपछि शुक्रबार उडान सेवा सुरु भएको छ । पक्की धावनमार्ग बनेसँगै बन्द विमानस्थलमा समिट एयरले उडान भरेको कान्तिपुरमा खबर छ ।
मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङ गुरुङ, प्रमुख सचिव हरिप्रसाद बस्याल, प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरे लगायत १५ यात्रु पोखरा विमानस्थलबाट पहिलो उडान भर्दै हुम्डे पुगेका थिए ।
अन्तर्राष्ट्रिय पर्यटन दिवसको दिन असोज १० बाट नियमित उडानको तयारी गरिएको भन्दै मन्त्री लम्सालले हवाई उडानसँगै पर्यटनसँगको सहकार्यमा मनाङ प्याकेज पनि बनाउन लागिएको जानकारी दिनुभयो । ‘२०७० देखि बन्द विमानस्थल सञ्चालनमा सफल भएको छ अब ‘यसको निरन्तरताको लागि प्रदेश सरकारले योजना बनाएको छ’ उहाँले भन्नुभयो, ‘एक वर्षअघिको योजना आज सफल भएको छ ।
विमानस्थल सञ्चालनसँगै आवश्यक अन्य पूर्वाधार पनि बनाउने सरकारको योजना छ ।’ उहाँले गण्डकी प्रदेशको राजधानी पोखराबाट सातै प्रदेशमा सीधा हवाइ सम्पर्क गर्ने पनि योजना रहेको सुनाउनुभयो ।नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष ०६९ ७० मा ९ करोड रुपैयाँ खर्च गरेर यसअघिको ६ सय मिटरको धूले धावनमार्गलाई विस्तार गरी ९ सय मिटर कालोपत्रे गरेको थियो ।
कालोपत्रे भएको २ वर्षपछि तारा एयरको डोर्नियर जहाजले परीक्षण उडान गरेपनि निरन्तरता दिन सकेन । १ वर्षअघि एउटा ट्वीनअटर जहाजले चार्डर उडान भरेको थियो । पछिल्लो समय असार २० गते र त्यसअघि पुस २४ गते जहाज उडाउने तयारी गरिए पनि सफल हुन सकेको थिएन । धावनमार्ग विस्तार र कालोपत्रे हुनुअघि साताको २ पटक उडान हुन्थ्यो ।
त्यतिनै समय मनाङसम्म सडकको ट्रयाक खुलेपछि हवाईजहाजले उडान नगरेको स्थानीयको भनाई छ । मनाङमा नेपाल वायु सेवा निगमको ट्वीनअटर जहाजले मात्रै उडान भर्दै आएको थियो । नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक एयर ट्राफिक कन्ट्रोलरसूर्यबहादुर खत्रीका अनुसार हिमपात र पानी परेको समय मनाङको आकासमा उडान भर्न सकिँदैन । उहाँले भन्नुभयो, ‘अहिले पनि मौसम सफा नहुँदा उडान भर्न गाह्रो छ ।
निकै सतर्कमा रहेर उडान गर्नुपर्ने हुन्छ ।’ पोखरा–मनाङ वा मनाङ–पोखरा हुँदा करीब २५ मिनेट लाग्छ । ३ हजार ३ सय ३० मीटर ९११ हजार १ सय ४५ फिट उचाइको हुम्डे विमानस्थलमा २०३९ साल असोजबाट उडान सुरु गरिएको थियो ।


