धनकुटाका एक जना गरि कोशीमा लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
विराटनगर, कात्तिक १७ गते। झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार कात्तिक १६ गते गरिएको चेकजाँचका क्रममा झापाबाट तीन जना, मोरङबाट एक जना र सुनसरीबाट दुई जना पक्राउ परेका हुन्।
झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट मेचीनगर–१० का मेहबुब आलमलाई ११ ग्राम ४७० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको हो।
त्यस्तै, इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका–५ का राजेन्द्र गणेश र शिवसताक्षी–६ का गंगाराम मर्डीलाई २ ग्राम ५५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
यसैगरी, मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका–१० का रुपेश सार्कीलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का स्याङ्बो तामाङ र पाँचथरको याङवरक गाउँपालिका–१ की निश्मा राईलाई ११ ग्राम १३ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबै जनामाथि लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।


