ट्रम्पले ज्ञवालीलाई सोधे -के छ नेपालको खबर?

काठमाडौं, असोज ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका छन्।

राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा अनिल अधिकारीले लेखेका छन्।

रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्बिर खिच्ने समयसम्म आपसी कुराकानी हुन्छ। प्रधानमन्त्री केपी ओली सहभागी नभएका कारण ज्ञवालीले ट्रम्पलाई भेट्न पाएका हुन्।

रात्रिभोजमा ट्रम्पलाई भेटेपछि प्रशन्न मुद्रामा देखिएका ज्ञवालीले भने, ‘भेट निकै संक्षिप्त थियो, उहाँले नेपालको स्थितिबारे जिज्ञासा राख्नुभयो। मैले अलिकति अवस्था बताएँ, उहाँले आपसी सहयोग र सहकार्यमा अमेरिका तत्पर रहेको सुनाउनुभयो।’

अमेरिकाले उच्चस्तरीय सम्बोधन आरम्भ भएकै दिन हरेक मुलुकको टोली नेताको स्वागतका लागि रात्रिभोज दिने प्रचलन छ। रात्रिभोजमा १ सय ९० भन्दा बढी मुलुकका राष्ट्र एवं सरकार प्रमुख, मन्त्री, राष्ट्रसंघीय महासभा डेलिगेसन प्रमुखलगायत सहभागी थिए।

७२ औँ महासभामा नेपालको तर्फबाट तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महरा होटलको गेटमा पुगेर फर्कनुपरेको थियो। डेलिगेसन हेड तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ढिलो न्युयोर्क पुग्दा रात्रिभोजमा महरालाई पठाइएको थियो। तर, उनले प्रवेश पाएनन्।

राष्ट्रसंघको ७४ औं महासभा बैठकको मंगलबार औपचारिक उद्घाटन भएको छ। संघको मुख्यालय न्युयोर्कमा महासभा बैठकका अध्यक्ष तिजानी मोहमद बान्डेले उच्चस्तरीय बैठकको औपचारिक सुरुवात गरेका हुन्।

अध्यक्ष बान्डेले उद्घाटनका क्रममा भने, ‘हिंस्रक द्वन्द्व, आतंकवाद, प्राकृतिक प्रकोप, लागुऔषध, लैंगिक विभेदलगायत जटिल विषयमा हामीले संयुक्त रूपमा समाधान खोज्नुपर्नेछ।’

हरेक वर्ष सेप्टेम्बरको तेस्रो मंगलबार राष्ट्रसंघको मुख्यालयमा महासभा हुन्छ। महासभामा विश्वका १ सय ९० बढी मुलुकका राष्ट्र एवं सरकार प्रमुख, तथा मन्त्री, राजदूतले डेभलपमेन्ट फर फाइनान्स अर्थात् विकासका लागि लगानी विषयमा आफ्नो धारणा व्यक्त गर्दै छन्।

न्युर्योकस्थित नेपाली नियोगका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीका अनुसार महासभा बैठकमा नेपालले शुक्रबार सम्बोधन गर्ने पालो परेको छ। आगामी सोमबारका लागि तय भए पनि राष्ट्र एवं सरकार प्रमुख कम भएका कारण वर सरेको हो।

महासभामा सहस्राब्दी विकास लक्ष्यको निर्धारित र योजनाबीचको तालमेल तथा स्रोत–लगानीको आवश्यकताबारे पनि मंगलबारदेखि छलफल सुरु भएको छ। सन् २०३० लागि निर्धारित सहस्राब्दी लक्ष्य र प्रगति विवरणबारे समीक्षा गर्न थालिएको छ।

नेपालले सहस्राब्दी लक्ष्यका प्रमुख १७ क्षेत्र स्वास्थ्य, शिक्षा, आर्थिक समृद्धि, वातावरण, लैंगिक समानताजस्ता विषयमा थप स्रोत र लगानीमा जोड दिने भएको छ।

स्वास्थ्य क्षेत्रमा रहेको विश्वव्यापी योजनाबारेको बैठकमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सहभागिता जनाएका छन्।

बैठकका विभिन्न चरणमा वनमन्त्री शक्ति बस्नेत, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, मीनबहादुर शाही, डा।पुष्पा चौधरी, सांसद तारादेवी भट्ट, दीनानाथ शर्मालगायत सहभागी हुनेछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖