जलकुम्भीले किन ढाक्छ फेवाताल? देखियो यस्तो अनौठो

काठमाडौं, असोज ११ । गाउँबाट ३५ वर्षअघि बैदाम झर्दा भुवन परियारले फेवातालमा जलकुम्भी देखेका थिएनन्। तीन दशकअघि तालमा एक्कासी नयाँ झार देखियो।

मोटो डाँठ, लामो जरा, बैजनी रंगको फूल भएको झारले फेवातालको सिरान ढपक्कै ढाक्यो। बर्खाको भेलले बगाएर तालभरि फिँजार्थ्यो। हिउँदमा भने त्यो देखा पर्दैनथ्यो।

यसपटक गत भदौ ३१ मा भारी वर्षा भयो। असोज १ को बिहान तालमा फेरि अचाक्ली जलकुम्भी देखियो। तालको वारपार जलकुम्भी तैरिँदा पानी देखिएन। घाँसे मैदान जस्तो लाग्ने फेवातालको यस्तो रूप उनले कहिल्यै देखेका थिएनन्।

‘७–८ वर्षदेखि अलि धेरै जलकुम्भी बगाएर ल्याउँथ्यो,’ उनी भन्छन्, ‘यतिधेरै बगाएर ल्याएको पहिलोपल्ट हो।’

त्यसो त, हरेक बर्खामा फेवाताल जलकुम्भीले ढाक्छ। यो वर्ष असार–साउनमा उतिसारो पानी परेन। भदौमा समेत हर्पन खोला उर्लिने गरी बढेन ।

भदौ ३१ रातिको ठूलो वर्षाले फेवातालको उपल्लो भेगमा भएको जलकुम्भी हर्पनले बगाएर तल्लो भेगतिर ल्यायो। हल्लनचोक, बाराहीघाट, डिहीकोपाटन, बसुन्धरापार्क र ड्यामसाइड किनारमा जलकुम्भी छपक्कै छ। पोखराको मुख्य आकर्षणमध्येको फेवाताल यतिबेला अनौठो देखिएको खबर आजको कान्तिपुरमा दीपक परियारले लेखेका छन्।

दक्षिण अमेरिकाबाट विश्वभर फैलिएको मानिने यो झार फेवातालमा कसरी आइपुग्यो भन्ने पत्ता लाग्न सकेको छैन। सुरुमा फेवातालमा देखिएको जलकुम्भी कास्कीकै अरू दुई ठूला ताल बेगनास र रूपामा पनि पुगेको छ । फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपाली २०४६ बाट तालमा जलकुम्भी देखिएको बताउँछन्। ‘माछाको भुरा वा माछाको दाना ल्याउँदा सँगसँगै आयो कि भन्ने अनुमान छ,’ उनी भन्छन्, ‘यसैगरी आयो भन्न सकिएको छैन।’

उनका अनुसार जलकुम्भीमा हिउँदमा फूल खेल्छ । फूलबाट बीउ पानीमा झर्छ। त्यसैबाट फैलिन्छ। फेवाको सिरान लौरुङ, बास्कोट, कात्रेपुल, विरिङकुनो, चंखपुर, पिपलडाँली, स्यानोताल लामडाँडा, टारीखेत, ढल्केबर, सीताको थुम्को, भकुन्डे, वैद्यको घोलो, खपौंदी, रातमाटे कुनो र सेदी क्षेत्रमा जलकुम्भी उम्रन्छ।

बर्खामा पानीले बगाएर तल्लो तटीय क्षेत्रमा पुर्‍याउँछ। बिहानको छालले माथिबाट तल ल्याउँछ। दिउँसोको छालले पूर्वबाट पश्चिम लान्छ। बेलुकाको छालले फेरि पश्चिमबाट पूर्व ल्याउँछ।

पर्यटकीय मौसमको मुखैमा फेवाताल जलकुम्भीले ढाकिएपछि डुंगाव्यवसायी र चालक चिन्तित छन्। जलकुम्भीकै कारण आम्दानी घटेको अध्यक्ष नेपाली बताउँछन्। जलकुम्भी कम गर्न बर्खामा सोहोर्नेभन्दा हिउँदमै उम्रन नदिने उपाय अपनाउनुपर्ने उनी सुझाउँछन्।

‘फागुनदेखि जेठसम्म तालको सिरानबाट जलकुम्भी निकाल्नुपर्छ,’ उनी भन्छन्, ‘निकालिएको जलकुम्भीलाई सुकाएर डढाउनुपर्छ, नत्र बीउ सखाप हुँदैन ।’ डुंगा व्यवसायी, मत्स्य व्यवसायी लगायतले ०५६ देखि जलकुम्भी फाल्न सुरु गरेको उनी सम्झन्छन् । ‘पहिलेपहिले मुहानमै सफा गर्थ्यौं,’ उनले भने, ‘गएको हिउँदमा सफा गर्न महानगरले पनि चासो नदिएकाले अहिले यति धेरै जलकुम्भी आयो।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।