चौधौँ सागमा ७५ स्वर्ण जित्छौँ: सदस्यसचिव सिलवाल

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले पाकिस्तानमा आयोजना हुने १४औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले ७५ स्वर्ण पदक जित्ने लक्ष्य राखेको बताएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्मा १३औँ सागमा बक्सिङतर्फ पदक विजेता खेलाडीलाई तथा चीन जाने बक्सिङ खेलाडीको बिदाइ कार्यक्रममा सदस्यसचिव सिलवालले १४औँ सागका लागि अहिलेदेखि नै तयारी थाल्न निर्देशन दिए ।

उनले १३औँ सागमा लक्ष्यअनुरुप नै नेपालले पदक जितेकामा खुशी व्यक्त गरे । ‘तेह्रौँ सागमा स्वर्ण जित्नेले एशियाली खेलकूलमा समेत स्वर्ण नै जित्नु प¥यो’, उनले भने, ‘अब त्यही अनुसार तयारी थाल्नुस् ।’ प्रतियोगिता सम्पन्न भएको पाँच दिनभन्दा बढी समयसम्म प्रशिक्षणविहीन अवस्थामा बस नहुने भन्दै उनले अभ्यासमा जुट्न खेलाडी तथा प्रशिक्षकलाई निर्देशन दिए ।

तेह्रौँ सागमा महिला खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको सदस्यसचिव सिलवालको भनाइ थियो । ‘तेह्राँै सागमा ५१ मा ३० स्वर्ण महिला खेलाडीले जिते’, उनले भने, ‘महिला खेलाडीलाई खेलतर्फ आकर्षित गर्न जरुरी छ ।’ पदक जित्ने खेलाडीलाई सङ्घीय सरकारसँगै प्रदेश र स्थानीय सरकारले समेत नगदसहित सम्मान गर्न लागेको उनले उल्लेख गरे ।
पदक विजेता बक्सिङ खेलाडीलाई सम्मान

यसैबीच तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक विजेता बक्सिङ खेलाडीलाई सम्मान गरिएको छ । नेपाल बक्सिङ सङ्घद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्मा आयोजित कार्यक्रममा राखेपका सदस्यसचिव सिलवाल, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, सङ्घका संस्थापक अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, सङ्घका पूर्वअध्यक्ष रविराज थापालगायतले पदक विजेता खेलाडीलाई सम्मान गरेका थिए ।

सो अवसरमा १३औँ सागमा बक्सिङको ५४ किलो तौल समूहमा स्वर्ण विजेता महिला खेलाडी मिनु गुरुङ तथा ६० र ६४ किलो तौल समूहमा स्वर्ण विजेता पुरुष खेलाडी क्रमशः सनिल शाही र भूपेन्द्र थापालाई जनही रु दुई लाखसहित सम्मान गरिएको थियो । तीनै जनालाई सङ्घका अध्यक्ष अवालेले जनही रु एक लाख ५० हजार तथा संस्थापक अध्यक्ष श्रेष्ठले जनही रु ५० हजार प्रदान गरेका थिए । तेह्रौँ सागमा बक्सिङमा छ रजत तथा छ कास्य जित्ने खेलाडीलाई समेत चाँडै सम्मान गरिने अध्यक्ष अवालेले जानकारी दिए ।

मिनु र भुपेन्द्र ‘एशियन ग्रान्ड स्लाम’मा सहभागी हुने

तेह्रौँ सागमा बक्सिङमा स्वर्ण पदक जितेका मिनु गुरुङ र भुपेन्द्र थापा यही पुस ४ र ५ गते चीनमा आयोजना हुने ‘एशियन ग्रान्ड स्लाम’मा सहभागी हुने भएका छन् । गुरुङले ५४ किलो तौल समूह तथा थापाले ६४ किलो तौल समूहमा प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ सङ्घक अध्यक्ष अवालेले जानकारी दिए । ग्रान्ड स्लाममा गुरुङ र थापासँगै प्रशिक्षकद्वय रमेश श्रेष्ठ र सुवर्ण सापकोटा तथा व्यवस्थापक शोभाजङ्ग केसी चीन जानु हुनेछ । उनीहरुको आज आयोजित कार्यक्रममा राखेप सदस्यसचिव सिलवाल, सङ्घका अध्यक्ष अवाले, संस्थापक अध्यक्ष श्रेष्ठ, पूर्वअध्यक्ष थापालगायतले बिदाइ गरे ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖