कर्णालीका १० जिल्ला सदरमुकाम अब चाँडै राष्ट्रिय प्रशारणमा : मुख्यमन्त्री शाही
काठमाडाैं,पुस ५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले कर्णाली प्रदेशको विद्युतीकरणमा विशेष जोड दिने बताएका छन्।
शनिबार सुर्खेतमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युतीकरणमा जोड दिनेबारेमा उपलब्धिमूलक छलफल भएको जानकारी दिए।
कालीकोटमा सामान्य जग्गा विवादले केही ढिला भए पनि सव–स्टेशनको टेण्डर भइसकेको बताउँदै उनले छिट्टै राष्ट्रिय प्रसारण लाइन जुम्ला जोड्नेतर्फ काम भइरहेको जनाए। ‘रुख काट्न नपर्ने, कम खर्चिलो र सामग्री पु¥याउन सकिने भएकाले कर्णाली राजमार्गबाट प्रसारण लाइन लिन सजिलो छ,’ उनले भने, ‘कालीकोटसम्म प्रसारण लाइन जोड्ने काम भइसकेकाले अब त्यहाँबाट जुम्लाको काम अघि बढाउन पहल भइरहेको छ ।’
कर्णालीका जनताको मिटर किन्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणलाई निःशुल्क मिटर हाल्न गरिएको अनुरोधबमोजिम प्राधिकरणबाट काम हुने जवाफ प्राप्त भएको उनले बताए। बुटवलदेखि छिन्चु ४०० केवी प्रसारणको विद्युत्लाइन पु-याउन प्राधिकरणको टोलीलाई आग्रह गरिएको र कर्णालीका १० जिल्ला सदरमुकाम अब जतिसक्दो चाँडो राष्ट्रिय प्रसारणमा जोडिने उनले बताए।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले कर्णाली, सुदूरपश्चिम र ५ नम्बर प्रदेशको विद्युतीकरणका लागि रु २२ अर्ब छुट्याएको बताए। एशियन इन्फ्राइस्टक्चर बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकबाट प्राप्त सस्तो ऋणमा यी तीन प्रदेशका २२ अर्ब छुट्याइएको कार्यकारी प्रमुख घिसिङले बताए। उनले २२ अर्ब बजेटमा कर्णाली विद्युतीकरण, सवस्टेशन निर्माण र लाइन विस्तारका लागि ११ अर्ब (५० प्रतिशत) बजेट छुट्याइएको जनाए।


