जेटबोटले आमचोक तथा हतुवागढी गाउँपालिकाका बासिन्दालाई मालसामान ओसारपसार र आवतजावतमा सुविधा
भोजपुर । ‘जेटबोट’ सञ्चालनमा आएपछि भोजपुरका दक्षिणी भेगका स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको छ । करीब २ वर्षअघि अरुण नदीमा शुरू गरिएको जेटबोटले आमचोक तथा हतुवागढी गाउँपालिकाका बासिन्दालाई मालसामान ओसारपसार र आवतजावतमा सुविधा पुगेको हो ।
८ किलोमिटरको यात्रा १५ मिनेटमै पार गर्न सकिने भएपछि स्थानीयवासीको समय समेत बचेको छ । जेटबोटले दुई गाउँपालिकाका सर्वसाधारण सिम्ले, चतराघाट हुँदै धरान जान जेटबोट प्रयोग गर्दै आएका छन् । गणेश विष्टले आजको आर्थिक अभियानमा लेखेका छन् ।
जेटबोट सञ्चालनमा आएपछि भिरालो, जोखिमपूर्ण, अप्ठ्यारो र साँघुरो गोरेटो बाटो पैदल हिँडेर धरान जानुपर्ने बाध्यता टरेको स्थानीयको भनाइ छ । अक्कर भीरको जोखिमपूर्ण यात्रा गर्ने सर्वसाधरणलाई जेटबोटले सहज बनाएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमारर राईले बताए । ‘जेटबोट सञ्चालनले स्थानीयवासीलाई सुविधा त पुगेको छ नै, ज्यानको सुरक्षा समेत बढाएको छ ।’ यसअघि ७ घण्टा पैदल हिँडेर नदी पार गर्न काठको नाउको प्रयोग गर्नुपथ्र्यो । भीरको बाटोमा हिँड्दा लडेर ज्यान जाने, नदी पार गर्दा नाउ पल्टिने जस्ता धेरै जोखिम हुने गरेको स्थानीय देवान लिम्बूले बताए । ‘तर जेटबोट आएपछि यी सबै कठिनाइ झेल्नुपरेको छैन,’ उनले भने ।
यसअघि २०४८ सालमा अरुण तेस्रो जलविद्युत् आयोजनाको टेन्डरको क्रममा तुम्लिङटारसम्म त्यहाँका कर्मचारीलाई जेटबोटबाट ल्याइएको थियो । जेटबोटले धनकुटाका साँघुरीगढी गाउँपालिका, शहीदभूमि गाउँपालिका, उदयपुरको बेलका नगरपालिका, भोजपुरका आमचोक र हतुवागढी गाउँपालिकाका सर्वसाधारण बढी लाभान्वित भएका छन् । जेटबोटको भाडा प्रतिव्यक्ति ५०० रुपैयाँ रहेको छ । यात्रुको जीउधनको सुरक्षा र समयको बचत हुन थालेपछि यो पेशा पनि फस्टाएको छ ।
हाल यहाँ नेपाल रिभर ट्रान्सपोर्ट प्रालिका दुई र वराह क्षेत्र मरिन एन्ड रिसोर्ट्स प्रालिका ७० र ३५ सीटका दुईओटा जेटबोट सञ्चालनमा छन् । सिम्ले नजीकै रिसोर्ट समेत सञ्चालन गरिएको छ । जेटबोट चढेर सुनसरीको चतराघाट र फर्कने यात्रुहरूको लाम लाग्ने गरेको छ । नदीमा पक्की पुल निर्माण अघि नबढ्दा यहाँका सर्वसाधारण वर्षौंदेखि ज्यान जोखिममा राखेर यात्रा गर्दै आएका छन् ।


