छोरी ज न्मिए आमालाई १० हजार नगद र एक किलो ध्यु, छोरीलाई एक लाख पुरस्कार

काठमाडौं । रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन्।

मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार घोषणा गरेको छ। गोरखापत्र दैनिकमा भैरहवाबाट लक्ष्मण पौडेलले यो समाचार लेखेका छन्।

अब स्नातक तह उत्तीर्ण गर्ने छोरीलाई गाउँपालिकाले पुरस्कारस्वरूप एक लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष केशवानन्द बानियाँले बताए।

सामाजिक कुरीतिका रूपमा रहेको बालविवाह, दाइजो प्रथाका कारण छोरीले बीचमै पढाइ छोड्ने अवस्था रहेकाले गाउँपालिकाले यस्तो निर्णय गरेको उनको भनाई छ।

‘छोरी बचाऔँ, छोरी पढाऔँ’ योजनासहित एक लाख रुपियाँ नगद पुरस्कार दिने घोषणा गरिएको अध्यक्ष बानियाँले जानकारी दिए।

छोरी जन्माउने आमालाई १० हजार रुपियाँ नगद र एक किलोग्राम घिउ पौष्टिक आहारसमेत गाउँपालिकाबाट दिने व्यवस्था मिलाइएको छ।

मधेसी र मुस्लिम समुदायका किशोरी अझै पनि शिक्षाको पहुँचबाट वञ्चित रहेकाले ती समुदायमा स्थानीय सरकारले प्रोत्साहन गर्न आवश्यक ठानेर यस्तो रणनीति अपनाएको अध्यक्ष बानियाँले बताए।

‘किशोरीहरूलाई शिक्षाबाट वञ्चित गरिएकै कारण महिला हिंसा, बालविवाह तथा बेचबिखनका घटना बढिरहेका छन्,’ उनले भने, ‘चेतनाको अभावमा हिंसा सहन महिलाहरू बाध्य मात्रै होइन, बेरोजगार हुँदा बेचिन पनि बाध्य छन् । किशोरीलाई शिक्षाको पहुँचमा ल्याउन सके मात्रै महिला हिंसा र समुदायमा भएका विकृति अन्त्य गर्न सकिन्छ।’

गाउँपालिकाको पुरस्कार घोषणाको निर्णयप्रति शिक्षाक्षेत्रमा लागेकाहरूले समेत प्रशंसा गरेका छन्। मनराजीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजदेव मौर्यले गाउँपालिकाले स्नातक उत्तीर्ण छोरीका लागि पुरस्कार घोषणा गरेर सराहनीय काम गरेको बताए।

यसैगरी गैँडहवा गाउँपालिकाले पनि बालिका बीमामार्फत भ्रूणहत्या रोक्न र शिक्षालाई प्रोत्साहन गर्ने कार्यक्रम अघि बढाएको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए।

‘बाल संरक्षण कोषमार्फत एक बालिकाका लागि गाउँपालिकाले २० हजार रुपियाँ तथा अभिभावकले पाँच हजार रुपियाँ शुल्क बुझाउनुपर्ने गरी योजना अघि बढेको छ,’ उनले भने।

लुम्बिनी सांस्कृतिक नगरपालिकाले छोरी शिक्षालाई प्रोत्साहन गर्न र बालविवाह रोक्न सुकन्या कार्यक्रम अघि बढाएको छ।

‘छोरी जन्मेलगत्तै नगरपालिकाले २० हजार रुपियाँ मुद्दति खातामा जम्मा गरिदिन्छ, त्यसमा परिवारले पाँच हजार रुपियाँ थपिदिनुपर्छ, २० वर्ष नपुगेसम्म रकम निकाल्न पाइँदैन,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले भने, ‘२० वर्ष नपुगी बालिकाको विवाह भयो भने सो रकम नगरपालिकाले नै फिर्ता ल्याउँछ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।