एउटाले मात्रै काम गर्छ, तर प्रधानमन्त्री ओलीको शरीरमा किन राखिएका छन् बाँ की तीन मि र्गौला?

काठमाडौं, फागुन २२ । प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ।

शिक्षण अस्पतालका चिकित्सक प्रा.डा.प्रेम ज्ञवाली र प्रा.डा.उत्तमकुमार शर्माको नेतृत्वमा बुधबार साढे चार घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको हो।

मिर्गौला प्रत्यारोपणमा संलग्न प्रा.डा.ज्ञवालीसँग नयाँ पत्रिकाले गरेको संवादको सार संक्षेपः

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ, उहाँको स्वास्थ्य अवस्था अहिले कस्तो छ?

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था धेरै राम्रो छ । हरेक घन्टा ६ सयदेखि सात सय मिलिलिटरका दरले पिसाब हुन थालेको छ। यसको अर्थ अहिलेसम्म प्रत्यारोपण गरेको नयाँ मिर्गौलाले चार लिटरभन्दा बढी पिसाब बनाइसकेको छ। त्यो भनेको हाम्रा लागि धेरै हर्षको कुरा हो।

उहाँको शल्यक्रिया कस्तो रह्यो, औसतभन्दा जटिल वा सजिलो?
सबैको जस्तै हो । मिर्गौला प्रत्यारोपण गर्न जम्माजम्मी चार घन्टा ३० मिनेट लाग्यो । त्योमध्ये मिर्गौला जोड्न ३९ मिनेट लाग्यो । यो भनेको सामान्य हो।

अप्रेसन थिएटरमा छिर्नुअघि प्रधानमन्त्रीले के भन्नुभयो?
सबै स्वास्थ्यजाँच गरेपछि हामीले ‘केही भन्नु छ अथवा केही आदेश छ प्रधानमन्त्रीज्यू’ भनेर सोधेका थियौँ । उहाँले ‘मेरो केही भन्नु छैन, तपाईंहरूप्रति पूर्ण भरोसा छ’ मात्रै भन्नुभयो।

प्रधानमन्त्री होसमा त आउनुभयो, बोल्न सक्नुहुन्छ?
होसमा त साँझ (बुधबार) नै आउनुभएको हो । तर, हामीले आराम होस् भनेर निद्रा लाग्ने औषधि दिएका छौँ । कुराकानी गर्नुपरेमा राम्रोसँग गर्न सक्ने अवस्थामा हुनुहुन्छ।

दोस्रो प्रत्यारोपण भएकाले मान्छेहरू अलिकति सशंकित पनि थिए, पहिलो र दोस्रोमा खास केही फरक पर्छ कि पर्दैन?
दोस्रो प्रत्यारोपण गर्दा केही समस्या त हुन्छ नै । उहाँको शरीरले पहिलो मिर्गौलालाई अस्वीकार गर्‍यो, दोस्रोलाई के गर्छ भन्ने त हुन्छ नै ।

शरीरले दोस्रोपटक प्रत्यारोपण गरेको मिर्गौलालाई पनि अस्वीकार गर्ने हो कि, विगतमा पनि वेला–वेला संक्रमण हुँदै आएको थियो, फेरि दोहोरिन्छ कि भन्ने डर रहन्छ । तर, अहिलेसम्म सबै ठीक छ । मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ । अरू मुटु र फोक्सो राम्रो अवस्थामा छन् । शरीरमा कुनै समस्या छैन।

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने दाताको स्वास्थ्य अवस्था कस्तो छ?
दाताको स्वास्थ्य ठीक छ । उहाँको मिर्गौला निकाल्न डेढ घन्टा लागेको थियो । दाताको शल्यक्रिया ल्याप्रोस्कोपिक विधिबाट गर्‍यौँ।

यसो गर्दा सानो मात्र घाउ हुन्छ । त्यसैले दाताबाट मिर्गौला झिक्दा ल्याप्रोस्कोपिक विधि नै प्रयोग गर्न थालिसकेका छौँ । पहिला हामीले ठूलै घाउ बनाएर गर्थ्यौं। अहिले हामीले नयाँ सीप पनि सिक्यौँ र प्रविधि पनि उपलब्ध भएकाले ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गरेका हौंँ । उहाँलाई अहिले राम्रो छ।

उहाँको कुन मिर्गौला झिकिएको छ? मिर्गौला छनोट गर्ने पनि विधि हुन्छ होला नि?
हामीले समीक्षा संग्रौला अर्थात् दाताको बायाँतर्फको मिर्गौला झिकेका छौँ । दाताको प्रायः बायाँ मिर्गौला नै झिक्ने गरिन्छ । किनकि, मुटुबाट अक्सिजनयुक्त रगत मिर्गौलामा लैजाने मुख्य नसा (रेनल आर्टरी) तथा मिर्गौलाले छानेको रगत फोक्सोमा लैजाने नसा (रेनल भेन)को लम्बाइ बायाँतर्फको मिर्गौलाको लामो हुन्छ।

प्रधानमन्त्रीको शरीरमा अब कतिवटा मिर्गौला छन्?
अहिले चारवटा छन् । दुईवटा उहाँका आफ्नै हुन् । तेस्रो १२ वर्षअघि प्रत्यारोपण गरिएको हो । चौथो आज प्रत्यारोपण गरियो ।

प्रत्यारोपण गर्दा पहिलो मिर्गौला सामान्यतया दायाँँपट्टि राखिन्छ । अहिलेको बायाँपट्टि राखिएको छ । अब काम नयाँले मात्रै गर्छ । पुरानाले काम गर्दैनन्। त्यसको मतलब पनि हुँदैन।

अर्को कुरा शरीरमा जतिवटा मिर्गौला राखे पनि कुनै असर गर्दैन । त्यसैले झिकेर फालिँदैन । तर, कुनै पनि वेला भित्र भएको अतिरिक्त मिर्गौलाले समस्या बनायो भने झिकेर फालिन्छ । समस्या पारेको छैन, त्यसले काम मात्रै नगरेको हो भने भित्रै रहन्छ।

तपाईंले अहिलेसम्म कतिजनाको मिर्गौला प्रत्यारोपण गर्नुभएको छ?

हामीले शिक्षण अस्पतालमा अहिलेसम्म करिब सात सयजनाको मिर्गौला प्रत्यारोपण गरेका छौँ । तीमध्ये करिब पाँच सयमा म सहभागी छु।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।