मूल्य घटेपछि सर्लाहीका मकै उत्पादक किसान चिन्तित

सर्लाही, १६ असार । जिल्लाका किसानहरु लगाएको मकैको उचित मूल्य नपाउँदा चिन्तित बनेका छन । आफूले लगाएको मकैमा फौजी किराको सङ्क्रमणसँगै हावाहुरी र असिनापानीबाट बचेको मकैको मूल्य नपाउँदा किसानहरु थप मारमा परका हुन् ।

सबै समस्याका बीच उत्पादन गरेको मकैको उचित मूल्य नपाउँदा थप मारमा परेको लालबन्दी नगरपालिका–१७ का किसान रमेश अधिकारीले गुनासो गरे । विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लागु गरिएको बन्दाबन्दीले सवारी साधन सञ्चालनमा नआउँदा कृषिजन्य उत्पादनको मूल्य लगातार ओरालो लागेपछि किसानहरु चिन्तित बनेका छन् ।

गत वर्षको तुलनामा मकै उत्पादनमा लागत बढी लागेको तर मकैको बिक्री मूल्य भने गत वर्षको भन्दा दुई गुणाभन्दा बढीले घटेपछि लागतसम्म भए पनि कसरी उठाउने भन्ने चिन्ताले किसान पिरोलिन थालेका हुन् । बागमती नगरपालिका–८ शङ्करपुरका किसान भीमबहादुर कोइरालाले यस वर्ष एक हेक्टर क्षेत्रफलमा मकै लगाएका थिए । उनका अनुसार मकै उत्पादनमा मलखाद तथा फौजी किरा नियन्त्रणका लागि थप कीटनाशक औषधिसमेत प्रयोग गर्नुपर्दा उत्पादन लागत बढ्यो तर जारी बन्दाबन्दीका कारण सवारी साधन सञ्चालन नहुँदा बिक्री मूल्य घटेको हो ।

“अब त मकै खेती गर्नुुभन्दा पनि जुवा खेल खेले झैँ लाग्छ”, लालबन्दी नगरपालिका– १५ का किसान राजकुमार खत्रीले भने, “कहिले आउँछ, कहिले सबै जान्छ, कुनै टुङ्गो छैन ।” गत वर्ष रु तीन हजार ५०० देखि चार हजार क्विन्टलका दरले मकै विक्री गरेका उनले यसपटक प्रतिक्विन्टल रु एक हजार ७०० देखि दुई हजार एक सयले बिक्री गर्नुपरेको बताए ।

मकैमा दाना लाग्ने समयमा एकाएक मौसम बिग्रिएर हावाहुरीले मकैबालीमा नोक्सान पुर्याएका कारण उत्पादन समेत घटेको लालबन्दी नगरपालिका–१३ का किसान रामवीर तामाङले गुनासो गरे ।

हावाहुरी र असिना पानीका साथै फौजी किराको सङ्क्रमणका कारण मकै उत्पादन एकतिहाइले घटेको किसानहरुको भनाइ छ । चार क्विन्टलसम्म कट्ठाको मकै फल्ने खेतमा यस वर्ष तीन क्विन्टल मात्र फलेको कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त कार्यालय प्रमुख देवानन्द राय यादवले बताए ।

मकैको सर्मथन मूल्य आफुलाई जानकारी नभएको तर प्रतिकठ्ठा मकै उत्पादन गर्न रु तीन हजार ५०० देखि चार हजारसम्म लागत लाग्ने गरेको ज्ञान केन्द्रका निमित्त प्रमुख यादवले बताए । मुल बिउ बजारमा प्रतिकिलो रु ८० मा पाइने गरेको किसानहरुले बताएका छन । मलखाद, विषादी, जन खर्चलगायत गरी रु तीन हजार ५०० देखि चार हजारसम्म लागत लाग्ने गरेको किसानहरुको भनाइ छ ।

“सरकारले अन्य केही कृषि उपजको उत्पादन लागतलाई लिएर समर्थन मूल्य तोक्ने गरेको भए पनि मकैको समर्थन मूल्य नतोकेर राज्यले किसानलाई उपेक्षा गरेको छ”, अर्का किसान जङ्गबहादुर महतोले भने । राज्यले सामान्य समर्थन मूल्यसमेत नतोक्दा मकै खेती जुवा खेलेजस्तो बनेको उनको भनाइ छ ।

जिल्लाका किसानले ‘हाइब्रिड’ जातको मकैखेती गरी वर्षमा तीन बालीसम्म भित्र्याउने गरेका छन् । बाह्र हजार हेक्टर क्षेत्रफलमा ६३ हजार ६०० मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेकोमा पछिल्लो समयमा विभिन्न कारणले मकै उत्पादन घटेको ज्ञान केन्द्रका निमित्त प्रमुख यावदले बताए । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।