२५ वर्षदेखि कृषि कर्ममा समर्पित घिसिङ–तामाङ दम्पती : दूध र तरकारी खेतीबाट आत्मनिर्भर जीवन
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–९ निवासी वीरभक्त घिसिङ र दिलमाया तामाङ विगत २५ वर्षदेखि व्यावसायिक कृषि तथा पशुपालनमा सक्रिय रहँदै आउनुभएको छ। कृषि नै उहाँहरूको मुख्य पेसा हो, जसबाट परिवारको दैनिक खर्च चलाउनुका साथै भविष्यका लागि बचतसमेत गर्दै आउनुभएको छ।
हाल उहाँहरूले दैनिक ३५ देखि ४२ लिटर दूध उत्पादन गर्दै स्थानीय छुर्पी तथा चिज उत्पादन गर्ने उद्योगमा प्रतिलिटर ५० रुपैयाँका दरले बिक्री गर्नुहुन्छ। दूध बिक्रीबाट मात्रै मासिक ६० हजार रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उहाँहरूको भनाइ छ। उहाँहरूसँग उन्नत जातका तीन वटा दुधालु गाई छन्। तीनवटै गाई पालैपालो ब्याउने भएकाले दूध उत्पादन वर्षभरि निरन्तर रहने गरेको उहाँले बताउनुभयो।
घिसिङ–तामाङ दम्पतीका एक छोरा र एक छोरी छन्। दुवै हाल अध्ययनरत छन्। विद्यालय तथा कलेजको समयपछि उनीहरूले बुबाआमालाई गाईपालन, घाँस काट्ने, दूध दुहुनेदेखि खेतबारीको काममा सहयोग गर्ने गरेका छन्।
दूध उत्पादनसँगै उहाँहरूले गाईको मल प्रयोग गरेर मौसमी तरकारी खेती पनि गर्दै आउनुभएको छ। वर्षायाममा काक्रो खेतीबाट मात्रै एक सिजनमा ३ देखि ४ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। त्यसैगरी हिउँदमा मटरकोसा, आलु र रायो साग उत्पादन गरेर थप आम्दानी गर्ने गर्नुहुन्छ।
कृषि पेसा सजिलो नभएको अनुभव सुनाउँदै वीरभक्त घिसिङ भन्नुहुन्छ, “बिहान ४ बजेदेखि बेलुका ६–७ बजेसम्म गाई, घाँस, कुँडो र बारीको काममै समय बित्छ। सफलता पाउन मेहनत गर्नैपर्छ।”
उहाँका अनुसार गाईमा बेला–बेलामा थुनेलो रोग लाग्ने समस्या देखिने गरेको छ। त्यसैले सम्भावित क्षति कम गर्न नियमित रूपमा पशु बिमा पनि गर्दै आउनुभएको छ।
लामो समयदेखि कृषि पेसामा लागे पनि बजार व्यवस्थापन भने किसानको मुख्य चुनौती बनेको उहाँहरूको गुनासो छ। पहिले डीडीसी र कामधेनु डेरीमा दूध बिक्री गर्दा भुक्तानी समयमै नआउने समस्या भएकाले अहिले स्थानीय छुर्पी तथा चिज उद्योगमा दूध बिक्री गर्न थालेको बताउनुभयो। बजारको सुनिश्चितता र समयमै भुक्तानीको व्यवस्था भए किसानलाई ठूलो राहत पुग्ने उहाँको विश्वास छ।
यस्तै, दूध बोकेर लैजानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै घर नजिकैसम्म सवारीसाधन ट्याम्पु पुग्ने सडक निर्माण गरिदिन स्थानीय सरकारसँग उहाँहरूले आग्रह गर्नुभएको छ। सडक सुविधा विस्तार र बजार व्यवस्थापनमा सुधार भए कृषि पेसा प्रभावकारी र आकर्षक हुने , कृषि पेसा बाट जीवन चलाउन सकिने सम्भावना रहेको बताउँछन् ।




