तिहार सकिएलगत्तै मिथिला क्षेत्रमा छठको तयारी

महोत्तरी, मंसिर २/तिहार पर्व सकिएलगत्तै मिथिलावासी छठ पर्वको तयारीमा जुटेका छन्।

कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ (भैयादुज, भ्रातृद्वितीया पनि भनिने भाइटीका) पर्वसँगै दीपावली (यमपञ्चक) सम्पन्न भएपछि मैथिल (मिथिलाका बासिन्दा) अब श्रद्धा र निष्ठापूर्वक मनाइने छठको तयारीमा जुटेका हुन्।

कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिने छठपर्व यसपालि भोलि बुधबार शुरु हुँदैछ। सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन बर्तालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत सङ्कल्प गर्दछन् । यसलाई मिथिलामा ‘नहाय–खाय’ भनिन्छ।

त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन बर्तालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् । दोस्रो दिनको यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ।

पर्वको मुख्य दिन षष्टी तिथिका दिन बर्तालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अघ्र्य दिन्छन् । यसक्रममा ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ।

षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी)को आराधना गर्दै घाटमै रात बिताउने चलन छ । यद्यपि यसपालि कोभिड–१९ सङ्क्रमणको सन्त्रासले धेरैजसो बर्तालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्ने तयारी गरेका छन्।

पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन सखारैदेखि पानीमा चोबलिएर सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्दै बर्तालुले गीत गाउँछन् । सूर्य क्षितिजमा देखिनासाथ अघिल्लो साँझ अघ्र्य देखाइएका सामग्री उदाउँदो सूर्यलाई देखाउँदै दोस्रो अघ्र्य दिएपछि पर्व विधिवत सम्पन्न गरिन्छ । मिथिलामा अन्तिम दिनको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।

पर्व सम्पन्न भएसँगै बर्तालुले घर फर्केर (घाट जानेहरु) ब्राह्मण, गरिब, आशामुखीलाई अन्नदान गरी भोजन गर्दछन् । यससँगै छठपर्वको प्रसाद खाने खुवाउने क्रम शुरु हुन्छ । मिथिलामा छठको प्रसाद इष्टमित्र, छोरीचेली र आफन्तकहाँ पुर्याउने क्रम १०-१५ दिनसम्म चलिरहन्छ।

पर्व भोलि बुधबार शुरु हुने भएपछि मिथिलाका सबै भेगमा आज बजारु चहलपहल एकाबिहानैदेखि बढेको छ । पर्वमा गुबोसहित उखुको लाँक्रा, ज्यामिर, अदुवाको बोट व्रत विधिमा देखाइने हुँदा यस्ता कृषि उपजले आज राम्रो बजार पाएका छन्।

पर्वमा सूर्यदेव र षष्टीदेवीलाई चढाइने मुख्य प्रसाद सामग्री ठकुवा (गहुँको पिठोबाट बनाइने मिष्ठान्न परिकार), भुसुवा (कसार) को पिठो घरमै ढिकी, जाँतो र ओखलमा अत्यन्त पवित्रताका साथ तयार गर्ने चलनले मिथिलाका सबै घरमा अहिले पर्वको चटारो देखिन्छ । पर्वमा प्रसाद सामग्री राख्न बाँसका चोयाले बनेका र माटाका शुद्ध नयाँ भाँडाको प्रयोग गरिने परम्पराले यस्ता सामग्रीको जताततै बजार जमेको देखिँदोछ।

छठपर्व (व्रत) गर्नाले मनोवाञ्छित फल पाइने, सन्तान सुख प्राप्त हुने र रोगव्याध नलाग्ने मैथिल जनविश्वास छ । खासमा चर्मरोग सूर्यको उपासनाले निको हुने विश्वास गरिन्छ।

पछिल्ला केही दशकयता आपसी घुलमिलले छठपर्व पहाडी मूलका हिन्दूमात्र नभएर भाकलका रूपमा फरक धर्मसंस्कृतिका जाति समुदायले पनि मनाउन थालेपछि यो पर्व मिथिलाको साझा पर्वको रूपमा विकास भएको छ । सबै जाति, धर्म, सम्प्रदाय र व्यक्ति–व्यक्ति परिचालित हुने हुँदा छठपर्व लोकआस्थाको पर्व बनेको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा.राजेन्द्र विमल बताउँछन्। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।