अकबरे : कतै रोगले खराब, कतै मालामाल

इलाम । नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय यहाँका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ। छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिनाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका हुन्। अन्तर्राष्ट्रिय बजारबाट समेत अकबरेको माग आउन थालेपछि किसानले अन्य बाली मासेर पनि अकबरे लगाएका छन्। एउटै बालीबाट लाखभन्दा बढी आम्दानी लिन सकिन्छ। सहजरूपमा खेती सकिने र कम मिहिनेत पर्नाले पनि किसान उत्प्रेरित बनेका हुन्।

गएको वर्ष अकबरेबाट उल्लेखीय आम्दानी लिएको भए पनि यस वर्ष रोगले सखाप परेको इलाम नगरपालिकाका किसान डिल्ली चापागाईं बताउँछन्। गएको वर्ष अकबरेबाट डेढ लाख कमाइ भएकोमा यस वर्ष ५० हजार मात्र हुने चापागाईंको अनुमान छ। ‘डाँठ कालो भएर कुइने रोगले सबै सखाप पारेको छु, चापागाईंले भने, ‘बढी पानी र हुस्सु परेकाले होला उत्पादन ह्वात्तै घटेको छ।’ गएको वर्ष एक हजार बिरुवा लगाएकोमा करिब डेढ(दुई सय बिरूवाले मात्र उत्पादन दिँदै गरेको चापागाईंको भनाइ छ। समयमा रोगको औषधि हाल्न सक्दा अकबरेबाट प्रशस्त आम्दानी लिन सकिने चापागाईंको अनुभव छ।

अकबरेको माग गर्मी मौसममा भन्दा चिसोमा बढी हुन्छ। यो पुस र माघमा अकबरेका माग उच्च हुन्छ। किसानले पनि यही मौसममा अकबरेबाट प्रशस्त आम्दानी लिनुपर्ने हुन्छ। पछिल्लो समय विदेशबाट पनि अकबरेको माग आएकाले अकबरे नबिक्ला भनेर डराउनु पर्दैन।
यो वर्ष किसानको घरघरबाटै ४८० देखि ५ सय रूपैयाँ प्रतिकिलोका दरले अकबरे बिक्री भइरहेको छ। सूर्योदय नगरपालिका–१२ आठघरेका किसान मदन राईले यो वर्ष प्रतिकिलो ६ सयका दरले पनि अकबरे बिक्री गरे। विगत सात वर्षयता अकबरेको व्यावसायिक खेती गरिरहेका राईले उत्पादन गरेको अकबरेको माग त स्थानीय बजारदेखि विदेशमा समेत रहेको छ। राईले यो वर्ष दुई सय किलो अकबरे हङकङ पठाएको बताए।

‘भारत, अमेरिका, साउदी, कतार, मलेसिया र हङकङमा बसोबास गर्ने नेपालीले इलामको अकबरे माग गर्ने गरेका छन्।’ राईसँग अकबरेको बीउको माग पनि उत्तिकै छ। गत वर्ष २५ हजार रूपैयाँ प्रतिकिलोका दरले सात किलो दाना बियाँ उत्पादन गरेका राईले यो वर्ष पनि बीउको तयारी गरिरहेको बताए। राईले आफ्नो खेतीमा विशेष गरी गाईको गोबरमल, गहुँत, निमको पिना, हड्डीको धुलो र आफैँले उत्पादन गरेको गड्यौले मल प्रयोग गरिरहेका छन। दहीबाट घ्यू निकालेर बनाइएको मोहीलाई पनि निश्चित पद्धतिमा ढालेर रोगबाट बालीनाली बचाउन प्रयोग गर्नेगरेको राई बताउँछन्।

अकबरेमा रोगको सङ्क्रमण
प्राविधिकका अनुसार अहिले अकबरेमा ब्याक्टेरियल बिल, ड्यापिङ अफ र मोटल भाइरस नामक रोगले सखाप बनाएको छ। ब्याक्टेरियन बिल रोग अन्य रोगभन्दा विषालु रोग हो। अकबरे ओइलाउँदै जाने र डाँठ कालो हुने यसको लक्षण हो। यसबाट अकबरे बचाउनका लागि माटो परीक्षण गर्नुपर्ने, प्राङ्गरिक तरिकाले खेती गर्नुपर्ने र एउटै ठाउँमा वार्षिकरूपमा फरक–फरक खेती लगाइरहनुपर्ने हुन्छ। कृषि ज्ञान केन्द्र इलामका कृषि प्रसार अधिकृत रोजन खड्काका अनुसार यो रोग बीउ र मोटो दुवैबाट लाग्न सक्छ।

अकबरे रोप्नुपूर्व कीटाणु नष्ट गर्ने औषधिमा लगाउँदा पनि रोग जान्छ भने रोपेपछि बारीमा उम्रिएको झार फ्याक्दा पनि नियन्त्रण हुन सक्छ। ‘बिरुवा गोड्दा घाउ बनेको छ भने त्यहाँबाट पनि हावाको माध्यमबाट यो रोग सर्छु, अधिकृत भट्टराईले भने, ‘यो रोग बढी घाम लाग्ने र बलौटे माटोमा देखिन्छ।’ यस्तै अर्को अकबरेमै देखिने रोग (ड्यापिङ अप) पनि बिरुवाको डाँठमै पहिले देखिने गर्छ। यो रोगले भने बिरुवाको फेद र डाँठ सुकेर जाने गर्छ। किसान एवं प्राविधिक खेमराज भट्टराईको भनाइ छ। यसका लागि चाहिँ कालो प्लाष्टिकमा ड्याङ बनाएर खेती गर्दा उचित हुन्छु, उनले भने।

यस्तै, पछिल्लो समय अकबरेमा देखिएको रोग मोटल भाइरसले धेरै नोक्सानी गरेको कृषि विशेषज्ञको भनाइ छ। अकबरे फल दिने समयमा छिर्के हुने, पहेँलो रङको देखिने लक्षण देखिने कृषि विशेषज्ञ योगेन्द्रमान श्रेष्ठको भनाइ छ। यो रोगबाट अकबरे बचाउन गाईको दूधमा (आधा लिटर) मा पानी (चार लिटर) हालेर बिरुवामा हाल्दा नियन्त्रण हुने विशेषज्ञ श्रेष्ठको भनाइ छ। जिल्लाका पञ्चकन्या, सोयाङ, नामसालिङ, सुम्बेक, सुलुबुङ, माइमझुवा, गोदक, कन्याम, लक्ष्मीपुरलगायतका गाउँका किसानले अकबरेको व्यावसायिक खेती गर्दै आएका छन्। जिल्लाको १५५ हेक्टर क्षेत्रफलमा अकबरे खेती हुँदै आएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖