प्रधानमन्त्रीकप महिला क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिमले जित हाँसिल गरे
दाङ/दाङको लमहीमा सञ्चालित प्रधानमन्त्रीकप महिला क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिमले जित हाँसिल गरेका छन् । प्रदेश १ ले वाग्मतीलाई ४६ रनले हराएको छ ।
१ नं प्रदेश ले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको वागमती १६ ओभर ४ बलमा ६० रन बनाएर अलआउट भएको थियो । वाग्मतीका लागि कञ्चन श्रेष्ठले १३ र सुमन खतिवडाले १२ रन बनाएका थिए । त्यसबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रदेश १ को लागि ङिमा तामाङले ३ र अप्सरी बेगमले २ विकेट लिएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले रुविना क्षेत्रीको ५५ रनको मद्दतमा १ सय ६ रन बनाएको थियो । त्यस्तै आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकीलाई ५९ रनले हराएको छ । सुदूरपश्चिमले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकीले ६ विकेट गुमाएर ४८ रन मात्रै बनाउन सक्यो । उसका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७ रन बनाएको थियो । उसका लागि रेवती धामीले सर्वाधिक २७ रन बनाइन । गण्डकीका एलिसा लामिछाने र सृष्टि पौडेलले ३/३ विकेट लिएका थिए । समूह “ए” बाट लुम्बिनी र एपीएफ सेमिफाइलनमा पुगिसकेका छन् । समूह “बी” का खेल आजदेखि सुरु भएका छन् ।


