राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले पोखराको खेल क्षेत्रमा जगाएको उत्साह

कास्की । पर्यटकीय शहर पोखरा पछिल्ला वर्षहरुमा खेल पर्यटनको गन्तव्यसमेत बनेको छ । वर्षभरि नै यहाँ खेलकूद गतिविधि सञ्चालन हुने गर्दछन् । रङ्गशालाको ४२५ रोपनी जमीनमा फुटबल, क्रिकेट, भलिबल, टेनिस, आर्चरीलगायत सबै खेलका पूर्वाधार एउटै थलोभित्र रहेकाले पोखरा रङ्गशाला ‘स्पोर्टस् कम्प्लेक्स’ समेत बनेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी यहाँ हुने खेल प्रतियोगिता खेल्न आउँछन् । गत वर्ष सम्पन्न सागपछि पोखराले विश्व खेलकूदको मानचित्रमा समेत आफूलाई स्थापित गरेको छ । ‘खेलकूदको हब’ पोखरामा कोभिड–१९ ले भने लामो समय खेल क्षेत्रलाई शून्यतामा पुर्यायो । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले मङ्सिर पहिलो साता खेल गतिविधि तथा प्रशिक्षण पुनः सञ्चालन गर्ने निर्णय गरे पनि विगतका वर्षहरुमा सञ्चालन हुने फुटबल, क्रिकेट, भलिबललगायत खेलका प्रतियोगिताले अझै निरन्तरता पाउन सकेको छैन । रोकिएका ठूला प्रतियोगिताहरु सञ्चालन हुने नहुने द्विविधा अझै छ ।

खेलकूदको उर्वर भूमिमा लामो समय प्रतियोगिता शून्य प्रायः रहेका अवस्थामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि यतिबेला पोखरा आएको छ । आगामी विश्वकप फुटबल तथा एसियन कप छनोटको तयारीमा रहेको राष्ट्रिय टोलीले शुक्रबार साँझदेखि पोखरा रङ्गशालाभित्रको फुटबल मैदानमा प्रशिक्षण सञ्चालन गरेको छ । सिनियर राष्ट्रिय टोली बन्द प्रशिक्षणका लागि लामो समयपछि यहाँ आएको हो ।

कोरोनाले खेल क्षेत्र प्रभावित भएका बेला एक दशकपछि राष्ट्रिय फुटबल टोली यहाँ आएर प्रशिक्षण शुरु गरेपछि पोखराका खेलकर्मी उत्साहित बनेका छन् । कोभिड–१९ ले शून्यतामा पुर्याएको खेल क्षेत्रलाई माथि उठाउन राष्ट्रिय टोलीको प्रशिक्षणले सघाउ पुग्ने र खेलकूद नगरीमा विस्तारै खेलकूद क्षेत्र चलायमान हुने विश्वास पोखरेलीको छ । यसबाट पोखराको खेल पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ ।

पोखरामा १९ वर्षदेखि निरन्तर आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुरु भएपछि पोखरा कोभिडबाट सुरक्षित रहेको र अब खेलकूद गतिविधि अघि बढाउन सकिन्छ भन्ने माहोल सिर्जना भएको बताए ।

आफूहरुलाई समेत आहा रारा गोल्डकपका लागि तयारी अवस्थामा लाग्नु पर्दछ भन्ने सन्देश मिलेको उनको भनाइ छ । उनले भने, “राष्ट्रिय टोलीको प्रशिक्षण यहाँ सञ्चालन हुनु पोखराका लागि महत्वपूर्ण छ । यहाँको प्रवद्र्धन, खेलकूद प्रतियोगिता पुनः सञ्चालन र पोखरा सुरक्षित रहेको सन्देश प्रवाह गर्न सघाउ पुग्दछ ।” विगतमा स्तरीय पूर्वाधार अभावमा महत्वपूर्ण प्रतियोगिता सञ्चालन नभएको अवस्थामा गत वर्ष सम्पन्न १३औँ सागलाई लक्षित गरी निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम भएको भनाइ अध्यक्ष थापाको छ ।

नेपालले एक दशकअघि पाकिस्तान र भूटानसँग पोखरामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसपछि लामो समय राष्ट्रिय टोलीको खेल यहाँ हुन सकेको छैन । आगामी चैतमा हुने विश्वकप छनोटका बाँकी खेलका लागि राष्ट्रिय टोलीले डेढ महिना काठमाडौंमा कृत्रिम मैदानमा प्रशिक्षण गरेको थियो । पोखरामा नवर्निमित प्राकृतिक मैदानमा अभ्यास गर्न पाएपछि खेलाडीसमेत उत्साहित छन् । गत वर्ष घरेलु प्रतियोगिता खेल्न आउँदा भन्दा अहिले मैदान राम्रो पाएपछि खेलाडी सन्तुष्ट देखिएका छन् ।

राष्ट्रिय टोलीका सिनियर खेलाडी विराज महर्जन पोखरामा आरामदायी मैदान र वातावरणमा प्रशिक्षण गर्न पाउँदा सबै खेलाडीले रमाइलो महसुस गरेको बताए । उनले भने, “पोखरामा अभ्यास गर्न पाउँदा टोलीका सबै खेलाडी उत्साहित छौँ । यहाँको प्रशिक्षणले घरेलु मैदानमा हुने वल्र्ड कप छनोट खेलमा राम्रो गर्न हौसला मिल्नेछ, राखेप र एन्फाले यससँगै विदेशी भूमिमा समेत ‘एक्सपोजर म्याच’ र ‘ट्रेनिङ’को व्यवस्था गरे अझै राम्रो हुन्थ्यो ।”

टोलीमा रहेका अधिकांश खेलाडी २३ र १९ वर्षमुनिको रहेकाले समेत उनीहरुलाई मैत्रीपूर्ण खेलको आवश्यक रहेको बताउँदै विराजले सिनियर जुुनियर टोलीले कम्बिनेशनबाट टोलीको मनोबल उच्च रहेको उल्लेख गरे । नेपाली टोलीलाई प्रमुख प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण गराएका छन् । टोलीले तीन महिनाअघि नै काठमाडौंबाहिर तालीमको योजना बनाएको थियो ।

पोखरा आगमन र प्राकृतिक मैदानमा अभ्यासको राम्रो वातावरणबाट खेलाडी खुशी भएको प्रमुख प्रशिक्षक महर्जनले बताए । उनले भने, “घरेलु मैदानमा राम्रो नतीजाका लागि टोलीले तयारी गरिरहेको छ । काठमाडौँबाहिर लगेर प्रशिक्षण गराउने योजनाअनुसार पोखरा आएका छौँ । यहाँको अभ्यासले टोलीको मनोबल उच्च बनाउनेछ ।”

विश्वकप छनोट प्रतियोगिताअघि टोलीलाइ विदेशमा प्रशिक्षण र मैत्रीपूर्ण खेलका लागि खाडी मुुलुकहरुसँग कुराकानी भइरहेको प्रशिक्षक महर्जनले जानकारी दिए । राष्ट्रिय टोली आगामी माघ २१ गतेसम्म पोखरामा रहेर प्रशिक्षण गर्नेछ । पर्यटकीय शहर पोखरामा राष्ट्रिय टोलीलाई नयाँ वातावरणमा ‘रिफ्रेसमेन्ट’ सहितको प्रशिक्षण गराउने एन्फाको योजना छ ।

एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापाले खेलाडीलाई मनोवैज्ञानिकरुपमा खुशी र तयार बनाउनका लागि स्तरीय मैदानमा अभ्यास तथा खान बस्नका लागि राम्रो सुविधा उपलब्ध गराइएको बताए । पोखरा बसाइ र प्रशिक्षणले खेलाडी खेलामा राम्रो गर्न उत्प्रेरित हुने विश्वास व्यक्त गर्दै उनले भने, “खेलाडी खुशी भएपछि मात्र राम्रो खेलमा नतिजा पनि राम्रो आउँछ ।” सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एसियन कपको छनोट चरणका बाँकी तीन खेल नेपालले चाइनिज ताइपेईसँग चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग जेठमा खेल्नेछ । कृष्ण दवाडी/ रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।