खेलकूदले चिनिएका खेलाडी छन् तर खेलका पूर्वाधार छैनन्

भजनी । नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक जगत टमटाले भारतमा रहँदा क्रिकेट खेल्न शुरु गरेका थिए । कैलालीको टीकापुर घर भएका उनले स्वदेश फर्किएर क्रिकेटको विकास र विस्तारलाई अगाडि बढाउँदै क्रिकेट राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीमा पुग्न सफल भए । ‘‘आफूले क्रिकेट शुरु गर्दा खेलकूदका लागि चाहिने स्रोतसाधन थिएन तर खेलप्रतिको आकर्षण युवामा बढ्दो थियो’’, उनले भने,‘‘आवश्यक पूर्वाधार जुट्न नसक्दा भने खोलाडीले आफ्नो क्षमता प्रदर्शन गर्न पाइरहेका छैनन् ।’’

क्रिकेटको उर्वर भूमि मानिने सुदूरपश्चिम प्रदेशले क्रिकेटका थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको छ । भुवन कार्की, सुनिल धमला, राजु रिजाल, दीपेन्द्रसिं ऐरी, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउद, ललितसिंह भण्डारी, दिलीप नाथ, भीम सार्की, सन्दीप जोरा, सुवोध ऐरलगायतका क्रिकेटर यो प्रदेशले जन्माइसकेको छ ।

नेपाली क्रिकेट खेलको इतिहासमा पहिलोपटक खेलमै लागेर खेलाडीलाई कमाउने अवसर पनि पछिल्ला वर्षमा प्राप्त भइरहेको छ । धनगढीमा आयोजना हुने गरेको धनगढी प्रिमियर लिग(डिपिएल) को आयोजक धनगढी क्रिकेट एकेडेमीको पहलमा पहिलोपटक खेलाडीलाई यस्तो अवसर मिलेको हो ।

सुदूरपश्चिम प्रदेश सबै खेलका प्रतिभावान खेलाडी जन्माउने ‘हब’ बन्दै जाँदा खुशी हुनुपर्ने पूर्व प्रशिक्षक टमटा बताउँछन् । उनी चार वर्षसम्म राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको भूमिकामा बसेका थिए । कैलालीको जानकी गाउँपालिका खैरीफाँटका विष्णु भाट १७ वर्षको उमेरदेखि भलिबल खेल खेल्दै आएका छन् । विसं २०५७ मा गाविसस्तरीय भलिबल प्रतियोगितामा उनले भाग लिएका थिए ।

क्षेत्रीय र राष्ट्रियस्तरका थुप्रै प्रतियोगितामा भाग लिनु भएका उनले पनि सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्दै भलिबल खेलको राष्ट्रिय कप्तानको अवसर समेत पाउन सफल भए । “खेल पनि एक नशा जस्तै हो । यसमा लागि सकेपछि छोड्न मुश्किल हुन्छ,” विष्णुले भने, “तर कतिपय अवस्थामा पहुँचकै आधारमा खेलाडीलाई अवसर दिने प्रवृत्ति देखिँदा भने राम्रो सम्भावना भएका खेलाडी ओझेलमा छन् ।”

टीकापुरका गजेन्द्र शाही (गज्जु) कैलालीका चर्चित फुटबलरमध्येका खेलाडी छन् । ‘मेयर कप’बाट फुटबल खेल्न शुरु गरेका उनले ‘ए’ डिभिजन लिगसम्मको फुटबल प्रतियोगिताको यात्रासम्म पुग्न सफल भएका छन् । विसं “२०७१ मा सुदूरपश्चिमबाट राष्ट्रिय लिग खेलेको थिए । मुख्यमन्त्री कपको सुदूरपश्चिमको कप्तनी मैले गरेको थिएँ, गजेन्द्रले भने,“पाँच वर्षदेखि सुदूरपश्चिमको कप्तानको रुपमा रहेको छु । अहिले प्रदेश लिगको तयारी पनि गर्दैछौँ ।” धनगढीमा आयोजना हुने गरेको सर्वाधिक धनराशिको ‘खप्तड गोल्डकप’ २०७६ को उपाधि पनि उनकै कप्तानी गरेको टिमले हात पार्न सफलता पाएको थियो । शिक्षण पेशामा समेत रहेका टीकापुरकै अर्जुन ठकुल्ला ‘सेपेकताक्रो खेल’का अन्तर्राष्ट्रिय ‘रेफ्री’ छन् ।

उनको सहयोग र उत्प्रेरणाबाट नै टीकापुरबाट एथलेटिक्सको विधामा सीमा चौधरी, सेपेकताक्रोमा गङ्गा चौधरी, मुकुन्द गौतमलाई राष्ट्रियस्तरको खेलमा सहभागी हुने मौका पाएर उपाधि जित्न सकेका थिए । “थुपै्र खेलाडीमा सम्भावना छन् तर धेरै खेलाडीमा हुने आर्थिक समस्याले उनीहरुलाई खेल क्षेत्रमा लाग्न निरुत्साहित बनाइरहेको छ, अर्जुनले भने, “स्रोतसाधनको अभाव, स्थानीय सरकारको उदासीनताले पनि खेल क्षेत्र अगाडि बढ्न सकेको छैन ।” एथलेटिक्सको एशिया ‘रेफ्री’ र भलिबल खेलका राष्ट्रिय खेलाडीसमेत रहेका उनी खेल क्षेत्रमा उचित लगानी हुन सकेमा खेलकूद क्षेत्रमा देशलाई थप सशक्त बनाउन सकिने बताउँछन् ।

सातौं राष्ट्रिय खेलकूदमा खाली खुट्टा दौडिएर तेस्रो स्थान हासिल गर्न सफल भएकी १९वर्षीया सीमा चौधरी मुक्तकमैया शिविरमा बस्दै आएकी छन् । कमजोर आर्थिक अवस्थाका कारण प्रतियोगिताका लागि एक जोर जुत्तासमेत किन्न नसकेकी उनले गत वर्षको राष्ट्रपति रनिङ शील्डमा स्वर्ण पदक जितेकी थिइन् । “कक्षा ८ सम्म गाउँकै स्कुलमा पढ्दापढ्दै दौडमा रुचि बढ्दै गयो, सीमाले भनिन्, “अर्जुन सरकै निगरानीले मलाई खेलाडी बनायो । राष्ट्रियस्तरका खेलमा सहभागी हुने अवसर जुर्यो ।” “धनगढीमा मजदूरी गरिरहनु भएका बुबाआमाको कमाइले घरखर्च पुग्दैन । मलाई कहाँबाट पैंसा दिनुहुन्थ्यो,” सीमाले भनिन्, “दौडमा राम्रो गर्नसक्छु भन्ने साहस छ । पैसा नभएर केही नहुँदो रहेछ ।”

अहिले सीमाले सशस्त्र प्रहरी बलमा भर्ना हुने तयारी गरिरहेकी छन् । यी खेलाडीले सुदूरपश्चिमको मात्र नभई राष्ट्रलाई नै चिनाउने काम गरिरहेकी छन् । आर्थिक समस्यासँगसँगै अवसर पाउने वातावरण नभएको र पूर्वाधार समेत नहुँदा भने धेरै खेलाडी खेल क्षेत्रमा टिक्न नसकिरहेको खेल प्रेमीहरुको भनाइ छ । टीकापुरमा रहेको खड्ग स्मृति रङ्गशालाको २२ बिघा जग्गा भए पनि खेलकूद गतिविधिका लागि आवश्यक संरचना निर्माण हुन नसक्दा उक्त रङ्गशाला गौचरणमा परिणत हुँदै जान थालेको छ ।

गत आर्थिक वर्षमा सङ्घीय सरकारको रु ५० लाख र टीकापुर नगरपालिकाको रु ३० लाखको लागतमा रङ्गशालामा माटो पटानी तथा तारबारको काम भए पनि त्यसपछि भने रङ्गशालाको स्तरोन्नतिको लागि कुनै पहल हुनसकेको छैन । नगर खेलकूद विकास समितिका अध्यक्ष लक्ष्मण थापा भने रङ्गशालामा आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको दाबी गर्छन् । “रङ्गशाला निर्माणको काम भइरहेको छ । अबको केही वर्षमै सबै खेलकूदका कार्यक्रम रङ्गशालाबाटै हुनेछन्,” अध्यक्ष थापाले भने, “रङ्गशाला निर्माण भएपछि खेलकूद क्षेत्रमा देखिएका समस्या समाधान हुँदै जानेछन् ।”

टीकापुर क्षेत्रमा सञ्चालन हुने अधिकांश खेलकूदका कार्यक्रम वीरेन्द्र विद्यामन्दिरको खेल मैदानमा हुने गरेका छन् । जानकी गाउँपालिकामा भने खेलकूद क्षेत्रको विकासका लागि कबर्डहल निर्माण कार्य अन्तिम चरणमा पुर्याइएको छ । रु दुई करोड आठ लाखको लागतमा निर्माण भइरहेको कबर्डहलको झण्डै ७५ प्रतिशत काम पूरा भएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए । “खेलकूदको विकासलाई प्राथमिकतामा राखेका छौं । प्रत्येक वडामा एक खेल मैदान बनाउने योजनामा हामी लागेका छौं,” गाउँपालिकाका अध्यक्ष चौधरीले भने, “रङ्गशाला निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर)को काम अन्तिम चरणमा पुर्याएका छौँ ।” रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।