सुन्तला बिक्रीबाट रु डेढ करोड भित्रियो

पर्वत, १६ माघ । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको मोदी गाउँपालिका–२ देउपुरका कृषकले यस वर्ष रु डेढ करोड भित्र्याएका छन् ।

व्यावसायिक सुन्तला खेती गर्दै आएका देउपुरका कृषकले उत्पादन गरेका सुन्तला बिक्रीबाट रु एक करोड ५० लाखभन्दा बढी रकम भित्रियाएको हो । गत वर्षभन्दा यस वर्ष सुन्तलाको उत्पादन कम भएकाले आम्दानीसमेत झण्डै ५० प्रतिशतले कमी आएको छ । यहाँको बगैँचामा सुन्तला किन्नका लागि काठमाडाँै, पोखरा, नारायणगढबाट व्यापारी घरघरमै आएका थिए ।

कृषकले दुई वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि यस वर्ष व्यापारीलाई निजी ढङ्गले बगैँचा जिम्मा लगाएका थिए । स्थानीय माछापुच्छे« सुन्तला सहकारी संस्थामार्फत बिक्री गरे पनि निजी हिसाबले नै बिक्री गर्न थालिएको सहकारीका अध्यक्ष दाताराम चापागाईँले बताउनुभयो । यस वर्ष उत्पादन घटेकाले गत वर्षजस्तो राम्रो कमाइ नभएको उहाँको भनाइ छ । “गएको वर्ष रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री गरेका थियौँ, यस वर्ष मुस्किलले डेढ करोडजति आम्दानी भएको अनुमान छ”, अध्यक्ष चापागाईँले भन्नुभयो ।

सुन्तला टिप्नका लागि एक साताअघिसम्म व्यापारीका कामदारले देउपुरका बगैँचा भरिएका थिए । सुन्तला टिप्ने र लैजानेका कारण मेला लागेजस्तै देखिएको थियो । थोक व्यापारीले बगैँचाबाटै खरिद गरेपछि कृषकलाई पनि सहज भएको स्थानीय शिक्षक भूमिराज शर्माले बताउनुभयो । देउपुरका कृषक ख्यामराज पौडेलले एक वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने भएकाले गत वर्षजस्तो उत्पादन नभएको बताउनुभयो । उहाँले गत वर्ष रु चार लाखमा सुन्तलाको बगैँचा बिक्री गरेको बताउँदै यस वर्ष झण्डै आधा जति घटेको बताउनुभयो ।

गत वर्ष हिउँदमा पटक–पटक आएको असिना, विभिन्न रोग र किराको प्रकोप र यस वर्ष वर्षायाममा पानीसमेत धेरै परेकाले उत्पादन घटेको हुनसक्ने स्थानीयवासीको अनुमान छ । विगत डेढ दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएका छन् । परम्परागतरूपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकले सुन्तला खेती गरिएपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आएको छ । यहाँका १६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका हुन् ।

साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिकरूपमा शुरु गरेको माछापुच्छ«े सुन्तला समूहका अध्यक्ष दाताराम चापागाईँले बताउनुभयो । उहाँले सुन्तला खेतीको विस्तारका लागि अझै प्रयास गर्न जरुरी रहेको बताउनुभयो । शुरुमा कोदो, मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिकरूपमा प्रत्येक परिवारको रु दुईदेखि पाँच लाखसम्म कमाइ हुन थालेको उहाँको भनाइ छ । मकै, कोदो लगाउँदा रु २० हजार कमाइ नहुने ठाउँमा सुन्तला लगाउँदा रु पाँच लाख कमाइ हुन्छ”, उहाँले भन्नुभयो, “अहिले देउपुरका सबै घरमा रु दुई लाखभन्दा बढी कमाउने कृषक छन् ।”

शुरुमा केही कृषकले परीक्षणका लागि सुन्तलाको बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि गाउँभरि नै रोपिएको कृषकको भनाइ छ । अहिले देउपुरका अधिकांश घरमा सुन्तला रोपिएको छ । यस वर्षदेखि सुन्तलाका बोट मर्न थालेका स्थानीयवासी भूमिराज शर्माले बताउनुभयो । ठूला र साना बोट पनि धमाधम मर्न थालेको र रोग पत्ता नलागेको उहाँले बताउनुभयो । विभिन्न औषधि प्रयोग गरे पनि निरन्तर रुख सुक्न थालेको उहाँको भनाइ छ । उहाँले तापक्रम वृद्धि भएकाले सुन्तलामा पनि असर गरेको हो कि भन्ने अनुमान गरिएको बताउनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।