अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कार नेम्वाङ र भट्टराईलाई

पाँचथर, २७ माघ । अमर नेम्वाङ लिम्बू स्मृति साहित्य पुरस्कारबाट लेखक÷साहित्यकारद्वय वीर नेम्वाङ र प्रा डा गोविन्दराज भट्टराई पुरस्कृत हुनुभएको छ । अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले सोमबार फिदिममा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा लेखकद्वय नेम्वाङ र भट्टराईलाई संविधानसभा सदस्य भीष्मराज आङदेम्बेले पुरस्कारसहित सम्मान गर्नुभयो । पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । उक्त पुरस्कार दुई वर्षअघि निधन हुनुभएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष एवं साहित्यकार अमरकुमार नेम्वाङको स्मृतिमा स्थापना भएको हो ।

सो अवसरमा आङदेम्बेले साहित्यले समृद्धिको पाठ सिकाउनुपर्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । दशकैपिच्छेका राजनीतिक अस्थिरताले आम जनमानस तथा साहित्यकर्मीहरुमा आक्रोश मात्रै पैदा गराएको भन्दै उहाँले अब यस्तो अवस्था र चिन्तनको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

पुरस्कृत वीर नेम्वाङ पूर्वी नेपालमा लिम्बूवान पक्षधर राजनीति र लेखनमा सक्रिय हुनुहुन्छ भने प्रा डा भट्टराई नेपाली साहित्यमा योगदान दिँदै त्रिभुवन विश्वविद्यालयमा अध्यापनबाट सेवा निवृत्त हुनुभएको हो । सम्मानपछि नेम्वाङले पाँचथर आयामेली साहित्य आन्दोलन, रङ्गवादी साहित्य आन्दोलन, उत्तरवर्ती सोच र सिर्जनशील अराजकताजस्ता नेपाली साहित्यमा विशिष्ट योगदान दिने अभियानको अगुवाइ गर्ने जिल्ला भएको भन्दै साहित्यमार्फत सामाजिक रूपान्तरणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । प्रा डा भट्टराईले स्व अमरकुमार नेम्वाङको इको राइटिङ (पर्यावरणीय लेखन) अनुकरणीय काम रहेको बताउनुभयो । उहाँले नेम्वाङका रचनालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने तथा अङ्ग्रेजी भाषामा रूपान्तरण गरी अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो ।

अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानका धर्मेन्द्र नेम्वाङका अनुसार स्व नेम्वाङको स्मृति दिवसका अवसरमा साहित्य पुरस्कार वितरण तथा अन्य सामाजिक कार्य गर्न थालिएको हो । गत वर्षदेखि उक्त साहित्यिक पुरस्कार वितरण थालिएको थियो । गत वर्ष उक्त पुरस्कार लेखकद्वय डा देवी क्षेत्री दुलाल र मुनाराज शेर्माले प्राप्त गर्नुभएको थियो ।

उक्त पुरस्कार वितरण कार्यक्रममा जिल्लाको कुम्मायक गाउँपालिका–१ का आगलागी प्रभावित कृष्णबहादुर थापा र डिकबहादुर थापाको परिवारलाई जनही रु १२ हजार ५०० राहत उपलब्ध गराइएको छ । यस्तै बाबुआमाविहीन सत्यहाङमा माध्यमिक विद्यालय फाल्गुनन्द–२ मा कक्षा १ मा अध्ययनर छ वर्षीय ग्राविल नेम्वाङको पठनपाठनमा सहयोग गर्न रु १० हजारको छात्रवृत्तिसमेत वितरण गरिएको छ । प्रतिष्ठानले जिल्लाका आठवटै स्थानीय तहलाई स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ ।

लिम्बू समुदायबाट दुई विषयमा स्नातकोत्तर गर्ने पहिलो व्यक्ति स्व नेम्वाङ जीवनभर समाजको सेवामा समर्पित हुनुभएको थियो । गाउँ पञ्चायतको प्रधानपञ्च, गाविस अध्यक्ष हुँदै उहाँ गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको थियो । विसं २०७५ माघ २६ गते गाउँपालिकाको वडा नं ५ फाक्तेपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बेहोस भई ढल्नुभएका नेम्वाङको अस्पताल पुर्याउन नपाउँदै निधन भएको थियो । उहाँका तीन साहित्यिक कृति प्रकाशित छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।