गोलभेँडाको उत्पादनमा वृद्धिः किसानले पाएनन् उचित मूल्य

शङ्खर पहाडी/सर्लाही, २९ माघ । जिल्लामा वर्षेनी गोलभेँडा उत्पादनमा वृद्धि हुँदै आए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदे तरकारीबालीको रुपमा रहेको गोलभेँडा खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् ।

कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेका कारण गोलभेँडा खेतीमा हौसिएर जिल्लाका उत्तरी भेगका किसानले गोलभेँडा उत्पादन वृद्धि गर्न थाले पनि अहिले भनेजस्तो उचित मूल्य पाउन नसक्दा गोलभेँडाउत्पादक किसान निराश बन्न थालेका हुन् । विगतका वर्षमा प्रतिक्रेट रु एक हजारदेखि रु एक हजार पाँच सय मूल्यमा बिक्री हुने गरेको गोलभेँडा अहिले रु ४५० देखि ५०० सम्ममा मात्र बिक्री भएपछि यहाँका गोलभेँडा उत्पादक किसान अन्य कृषि बालीतर्फ आकर्षित हुने सम्भावना बढेको छ ।

जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन र वाग्मती नगरपालिकालगायत महोत्तरीको गौशाला, सम्सी, खयरमारलगायत क्षेत्रका किसानले उत्पादन गर्दै आएको गोलभेँडाको यसवर्ष उचित मूल्य पाउन नसकेको किसानहरु बताउँछन् । गोलभेँडाको बजार मूल्य अहिले आधाले घटेर प्रति क्रेट रु ४५० देखि रु ५०० सम्ममा बिक्री भइरहेकाले यसबाट लागतसमेत उठ्न नसक्ने भन्दै सर्लाहीका गोलभेँडा उत्पादक किसान चिन्तामा परेका हुन् । उत्पादन बढिरहेकाले गोलभेँडाको मूल्य अझ पनि घट्न सक्ने उनीहरूको गुनासो छ ।

उत्पादनको शुरुवात र अन्तिम समयमा गोलभेँडा कम निस्कने भएकाले यसले राम्रो मूल्य पाउने तर हरेक वर्ष यो समयमा उत्पादन बढी हुनेभएकाले मूल्य घट्ने गरेको लालबन्दीका किसान भोला रायले बताउनुभयो । “आफूले केही वर्षयता आएर उत्पादन गरेको गोलभेँडाको लागत अनुसारको उचित मूल्य पाउन सकेका छैनौं”, उहाँले भन्नुभयो, “विगतका वर्षमा गोलभेँडाको मूल्य राम्रो भएका कारण आर्थिक आम्दानीको मुख्य स्रोत गोलभेँडाखेतीमा लागियो, हिउँद, बर्खा दुःख ऋणपान गरेर गोलभेँडा उत्पादन गर्न शुरु गर्यौं, तर लागत अनुसारको उचीत मूल्य पाउन नसक्दा आफूहरु निराश हुनुबाहेक अरु केही रहेन ।

अहिलेको मूल्यमा गोलभेँडा बिक्री गर्दा आफूहरुको आर्थिक लगानी र श्रम पनि नउठ्ने तथा गोलभेँडा खेतीमा काम गर्ने मजदूरको ज्यालासमेत तिर्न नपुग्ने गुनासो किसानको छ । उनीहरुले बरु मङ्सिर÷ पुससम्म रु एक हजारदेखि एक हजार ५०० प्रतिक्रेट मूल्य रहेको थियो, अहिले त झनै गोलभेँडा व्यापारीले रु ४५० देखि ५०० प्रतिक्रेट मूल्य झारे, अब गोलभेँडा बिक्री गर्नुभन्दा बाटोमा फाल्नुबाहेक आफूहरुसँग अरु विकल्प छैन भन्नुभयो ।

स्थानीय गोलभेँडा खरीदकर्ताले काठमाडौँ, पोखरा र विराटनगर बजारमा यसको मूल्य घटेको भन्दै अहिले जिल्लामा उत्पादन हुने गोलभेँडाको मूल्य प्रतिक्रेट रु ४५० देखि ५०० निर्धारण गरेपछि यस क्षेत्रका किसान मारमा पर्नु परेको किसानको गुनासो छ । सर्लाहीको लालबन्दी, ईश्वरपुर, हरिवन र वाग्मती नगरपालिकालगायत महोत्तरीको गौशाला, सम्सी, खयरमारलगायतका स्थानमा किसानले सैयौं बिघा जमीनमा व्यावसायिक रुपमा गोलभेँडाखेती गर्दै आएका छन् ।

बजारमा गोलभेँडा धेरै मात्रामा भित्रिएको भन्दै व्यापारीले हरेक वर्ष यो समयमा मूल्य घटाउने गरेका कारण किसान मारमा पर्ने गरेका तरकारी बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भु घिमिरेले बताउनुभयो । तर व्यापारीले भने उत्पादन अनुसार बाहिर निकासी नहुँदा मूल्य घटेको बताउनुभयो । अहिले बजारमा भारतीय गोलभेँडा पनि भित्रिएकाले स्थानीयस्तरमा उत्पादन भएको गोलभेँडाको मूल्य घटेको व्यापारीको भनाइ छ ।

यस क्षेत्रका किसानले स्थानीयस्तरमा उत्पादन गरेको गोलभेँडा जिल्लाको सदरमुकाम मलङ्गवा, बयलबास लालबन्दी, नवलपुर, हरिपुर र हरिवन बजारमा ल्याएर बिक्री गर्ने गरेका छन् भने देशका विभिन्न ठूला शहरमासमेत यहाँ उत्पादन भएको गोलभेँडा जाने गरेको छ । जिल्ला बाहिर काठमाडौँ, हेटौँडा, पोखरा, बुटवल, नारायणगढ, विराटनगर, धरानलगायत देशका ठूला शहरमासमेत यस क्षेत्रमा उत्पादन भएको गोलभेँडा जाने गरेको व्यापारी तथा तरकारी बजार व्यवस्थापन समितिले जनाएका छन् ।

सर्लाहीमा मङ्सिरदेखि चैतसम्म गोलभेँडाको उत्पादन हुने गरेको छ । अहिले लालबन्दी बजारबाट मात्रै दैनिक ३ देखि चार सय क्विन्टल गोलभेँडा जिल्ला बाहिर निकासी भइरहेको लालबन्दी तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ । गोलभेँडाको उत्पादन घटेको समयमा व्यापारीले राम्रो मूल्य दिएर खरीद गर्ने गरेका भए पनि किसानको उत्पादन बढेको समयमा व्यापारीले गोलभँेडालगायत तरकारीको मूल्य घटाउने गरेका छन् ।

किसानले दुःख गरेर उत्पादन गरेको गोलभेँडाको मूल्य केही बिचौलिया र व्यापारीले निर्धारण गर्ने गरेको र यसमा जनप्रतिनिधि र राज्यको समेत ध्यान जान नसक्दा किसान मर्कामा परेको बताइएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।