व्यावसायिक च्याउखेतीमा युवाहरू

तम्घास, गुल्मीको रेसुङ्गा नगरपालिका–९ का बाबुराम पाण्डेयले विगत १० वर्षदेखि तम्घासमा व्यावसायिक च्याउखेती गर्दै आउनुभएको छ । उहाँ तम्घासमा च्याउखेतीको व्यावसायिक उत्पादन गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । उहाँले अहिले व्यासायिकरूपमा च्याउ उत्पादन र बजारीकरणको काम गरिरहनुभएको छ ।

पाण्डेयले रेसुङ्गा–९ उपल्लो तम्घासमा रेसुङ्गा च्याउ उद्योगमार्फत रु २० लाखको लगानी गरेर च्याउखेती गर्नुभएको छ । अहिले पाण्डेयको फार्ममा च्याउ टिप्ने चटारो छ तर बजार अभावमा दैनिक सरदर तीन क्विन्टल उत्पादन हुने च्याउको व्यवस्थापन गर्न पाण्डेयलाई मुस्किल परिरहेको छ । “बजारको निकै समस्या छ, उत्पादन गरेपनि सोचेजस्तो बिक्री भएको छैन”, पाण्डेयले भन्नुभयो, “मोटरसाइकल खोजेर घरघरमा पुर्याउनुपर्छ ।” बजारीकरणको समस्याकै बीच स्थानीय युवाहरुमा व्यावसायिक च्याउखेतीप्रतिको आकर्षण भने घटेको छैन । पाण्डेयले रेसुङ्गा–८ का रुपकलाल श्रेष्ठसँग पुष्पाञ्जली एग्रोफार्ममार्फत संयुक्तरूपमा छुट्टै च्याउखेती पनि गरिरहनुभएको छ । दुवै फार्ममा अस्थायी र नियमित गरेर १५ जनाले रोजगारी पाएका छन् । अहिले फार्ममा च्याउको बीउ राख्ने र बजारीकरणको काम भइरहेको छ ।

संयुक्त फार्मबाट वार्षिक रु २० देखि २५ लाखसम्म च्याउको कारोवार भइरहेको छ । यस वर्षदेखि पाण्डेय र श्रेष्ठले करिब रु ३५ लाख लगानीमा सिताके च्याउको नयाँ व्यावसायिक उत्पादन शुरु गर्नुभएको छ । उहाँहरुले छुट्टै ब्लकमा गत वर्षदेखि कन्या च्याउको उत्पादन पनि गरिरहनुभएको छ । अहिले नयाँ जात र बजार मागका आधारमा तीन हजार ५०० मुढामा सिताके च्याउ उत्पादन थालेका छन् । अहिले नयाँ ब्लकमा सिताके जातको च्याउ राख्ने काम गरिरहेको र अबको छ महिनापछिबाट उत्पादन दिन शुरु गर्ने श्रेष्ठको भनाइ छ । त्यसका साथै अहिले गरिरहेको व्यवसायलाई थप आधुनिकीकरणतर्फ लैजाने पनि श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समय जिल्लामा कृषिको क्षेत्रमा थुप्रै स्थानीय तहले नयाँनयाँ कार्यक्रम सञ्चालन गरेका छन् । त्यसैले पनि कृषिकर्ममा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ भने उत्पादन पनि सोहीअनुसार भइरहेको छ । यद्यपि च्याउ किसानलाई बजारीकरणको मात्रै पिरलो छैन, सरकारले प्रदान गर्ने बेमौसमी अनुदानले पनि समस्या पुर्याएको छ । “पहिलो कुरा त राज्यले अनुदान नै दिँदैन”, पाण्डेयले भन्नुभयो, “दिए पनि च्याउको बेमौसम जेठ–असारमा दिन्छ, तर त्यो कीरा लाग्ने समय हो ।” उहाँले राज्यका तर्फबाट च्याउखेतीका सम्बन्धमा ठोस नीति आए आफूहरुलाई थप उत्साह हुने बताउनुभयो ।

अहिले कन्या च्याउको प्रतिकिलो बजार मूल्य रु ३०० र सिताके च्याउको मूल्य रु छ देखि सात सयसम्म छ । तर बजार ग्यारेण्टी नभएका कारण बिक्री नहुँदा कम मूल्यमा दिनुपर्ने बाध्यतामा च्याउ किसान छन् । च्याउ किसानको लागतका आधारमा रेसुङ्गा नगरपालिकाले मूल्य नदिँदा उनीहरुको च्याउ नगरपालिकाले सञ्चालन गरेको हाटबजारमा बिक्री हुनसकेको छैन । नगरपालिकाले कृषकको सबै उत्पादनको बजारीकरणका लागि गत वर्षदेखि कृषि हाटबजार सञ्चालनमा ल्याएको छ भने उत्पादनमा आधारित अनुदानको व्यवस्था पनि भइरहेको छ । नगरले नेपाल सरकारकै नीतिअनुसार च्याउका कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।