रघुगङ्गाका किसानलाई अनुदानमा कृषि सामग्री र औजार वितरण

म्याग्दी,म्याग्दीको रघुगङ्गा गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा कृषि सामग्री र औजार उपलब्ध गराएको छ । कृषिमा यान्त्रिकरण गरेर उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन सामग्री र औजार खरिदमा अनुदान उपलब्ध गराएको हो ।

दुई सय ६१ जनालाई प्लास्टिक टनेल, ७८ लाई स्प्रे, ७४ लाई सिकेचर, २९ लाई यान्त्रिक हलो, १० पिसानी मिल, ८ च्यापकटर र १३ वटा थ्रेसर वितरण गर्न शुरु गरेको गाउँपालिकाका कृषि प्राविधिक मनोज सुवेदीले जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा मङ्गलबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले कृषि सामग्री र औजार वितरण शुरुआत् गर्नुभएको थियो । “किसानलाई सामान खरीदको कूल मूल्यमा ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ,” प्रमुख सुवेदीले भन्नुभयो, “कृषि सामग्री खरीदमा आठ लाख र यान्त्रिकरणका लागि रु १६ लाख विनियोजन गरेको थियो । किसानकोसहित रु ४८ लाख मूल्य बराबरको सामग्री वितरण गरिएको हो ।”

गत कात्तिक २० गतेको कार्यपालिका बैठकले पारित गरेको कृषि यान्त्रिककरण कार्यक्रम कार्यविधि २०७७ लाई आधार मानेर गत मङ्सिर २१ देखि पुस ६ गतेसम्म किसानबाट माग सङ्कलन गरिएको थियो । “टनेल, स्प्रे र बिउबिजन माग गरेका सबै किसानले पाएका छन्,” कृषि प्राविधिक सुवेदीले भन्नुभयो, “यान्त्रिक हलो, थ्रेसर, च्यापकटर र पिसानी मिल भने समूह र फर्मलाई उपलब्ध गराइएको छ ।” विभिन्न फर्मलाई प्रतिस्पर्धा गराएर सामान खरीदको न्यूनतम मूल्य राखेर छनोट गरिएको र किसानमार्फतनै भुक्तानी हुने प्रक्रिया रहेको छ ।

एक सय २० ग्रामको ६ मिटर चौडाइ र १२ मिटर लम्बाइ भएको प्लास्टिक टनेल प्रतिगोटा रु पाँच हजार ८००, डिजेलबाट चल्ने ५.५ हर्सपावर क्षमताको यान्त्रिक हलोलाई रु ४७ हजार, घाँस पराल काट्ने च्यापकटर प्रतिगोटा रु ३८ हजारका दरले आपूर्ति गरिएको जनाइएको छ ।

पिसानी मिल प्रतिगोटा रु २३ हजार ८००, थ्रेसर प्रतिगोटा रु ५९ हजार, सिकिचर प्रतिगोटा रु एक हजार पचास र स्प्रेयर रु दुई हजार पचास न्यूनतम मूल्यमा सामान आपूर्ति गर्ने कबोलेका थिए । कूल मूल्यको ५० प्रतिशत किसान, फर्म, सहकारी र समूहले व्यहोरेका हुन् ।

तीन हजार किबी, तीन हजार दाँते ओखरका बिरुवा वितरण गरिसकेको गाउँपालिकाले बर्खा मौसममा सुन्तला जात फलफूल र केराका बिरुवा वितरण गर्ने जनाएको छ । कृषि ज्ञान केन्द्र र अन्य सरकारी निकायबाट सुविधा नपाएका साना कृषकलाई लक्षित गरेर सामग्री र आंैजार वितरण गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

लक्ष्य भन्दा छ महिना अघिनै पुल निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला र रायखोर जोड्ने झोलुङ्गे पुल लक्ष्य भन्दा छ महिना अघिनै निर्माण भएको छ । अधिकांश विकास आयोजना अलपत्र र ढिलासुस्तीले थला परिरहेको अवस्थामा रायखोरको फडुकेडाँडा र चिमखोलाको ताप्केभिरको सिमाना भएर बग्ने रघुगङ्गा नदीमाथि लक्ष्य अघिनै झोलुङ्गे पुल निर्माण भएको हो । पुल निर्माणस्थल रघुगङ्गा गाउँपालिकाको वडा नं ६ र ७ को सिमानामा पर्छ ।

सस्पेन्सन वृज डिभिजन कार्यालय ललितपुरले सो पुल निर्माणका लागि २०७६ फागुन १५ गते उमाखानी जेभीसँग रु साठी लाखमा ठेक्का सम्झौता गरेको थियो । कार्यालयका डिभिजनल इञ्जिनीयर गौरीकुमार श्रेष्ठले २०७८ भदौ १५ गतेसम्म ठेक्काको म्याद भए पनि २०७७ चैत पहिलो हप्तानै ठेकेदारले पुल निर्माण सकेर हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

“रु ७४ लाख ७४ हजार ६१९ लागत अनुमान रहेको पुल निर्माण अवधि १८ महिनाको थियो,” उहाँले भन्नुभयो,“आगामी भदौ १५ गतेसम्म ठेक्काको म्याद भए पनि लक्ष्य भन्दा छ महिना अघिनै पुल निर्माण सकिएको हो ।” त्यसमा २३ मिटर लम्बाइको डिजाइन भए पनि पुल निर्माणका क्रममा ६ मिटर लम्बाइ बढाइएको छ ।

कोरोना भाइरसको जोखिम र लकडाउन (बन्दाबन्दी)का कारण फागुनमा सम्झौता गरे पनि निर्माण व्यवसायीले गत मङ्सिर महिनामा मात्रै निर्माण शुरु गरेका थियो । शुरु गरेको चार महिनामै पुल तयार भएको हो । कोरोनाको जोखिम, बन्दाबन्दी र भौगोलिक विकटताको बाबजुद पनि निर्माण व्यवसायीले पर्याप्त मजदूर र सामग्री जुटाएर लक्ष्य अघिनै पुल निर्माण गरेका हुन् ।

चिमखोलाका बासिन्दासमेत रहनुभएका सांसद थममाया थापाले निर्माण व्यवसायीको इच्छाशक्ति, समुदायको चासो र सम्बद्ध कार्यालयले पहल गर्ने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने यो पुल निर्माण योजनाले सन्देश दिएको बताउनुभयो ।

पुल निर्माण भएपछि चिमखोला, सिस्नेरी, पात्लेखर्क, रायखोर, कोटगाउँ, ठाडाखानीका करीब पाँच सय घरधुरी लाभान्वित भएका छन् । रायखोर र चिमखोला आवतजावत गर्ने करीब ३० मिनेट यात्राअवधि छोटिएको चिमखोलाका ओम पुनले बताउनुभयो । “यसअघि काठको जीर्ण पुलमा आवतजावत गर्न जोखिम थियो”, रायखोरका दलप्रसाद पुनले भन्नुभयो, “नयाँ ठाउँमा लामो दूरीको पुल बनेपछि सुरक्षित रुपमा आवतजावत गर्नुका साथै दूरी पनि घटेको छ ।”
रायखोर गाउँबाट चिमखोलाको अमर माविमा पढ्न आउने विद्यार्थी सबैभन्दा बढी लाभान्वित भएका छन् । सडक सुविधा नपुगेको रायखोर गाउँ भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।