लगातारको वर्षाले किसान दिक्क

महोत्तरी, लगातारको वर्षाले यहाँका किसान वाक्कदिक्क भएका छन् । बिहीबार अबेर साँझदेखि शुरु भएको वर्षा तेस्रो दिन आज पनि नथामिएपछि किसान विरक्त भएका हुन् । खेत गह्रा पानीले डम्म भरिएका छन् ।

भर्खरै एक साताअघिको वर्षापछि राखिएको बर्खे धान र कोदोको ब्याड पानीले डुबाएको छ । अघिल्लो वर्षाले लहलहाएका मकैका बोट बिहीबार साँझ वर्षा शुरु हुनपूर्वको वेगले बहेको हुरीले सोतर बनाएर लडाएको छ । झमझम साउने झरी झैँ पानी परी रहेपछि काममा निस्कन नपाएर किसान छट्पटिएका छन् ।

“एक साताअघि गोडेको मकै हुरीले लडाएर सोतर बनेको छ, हुरीले तरकारीका बेलापात चुँडाएर हुत्यायो, फलेका आँप बग्रेल्ती झा¥यो सहनै परेको छ”, बर्दिबास नगरपालिका–५ गणन्ताका ८० वर्षीय धनबहादुर स्याङ्वा भन्नुहुन्छ, “रोगको महामारी अहिले नै प्रतिकूल वर्षा अहिले नै ! खै सबै हामीमाथि खनिएजस्तो छ, उठ्न नदिने भयो क्यार ?”

बर्खे धान र कोदो रोप्न ढिलो भइरहेको बेला ब्याड नै डुबेपछि बीउ गल्ने किसानको चिन्ता छ । सबैतिर पानी डम्म भरिएर काट्ने ठाउँ नहुँदा बीउ गल्ने चिन्ता बढेको भङ्गाहा–४ का किसान बहुरा महतो बताउनुहुन्छ । “पहिले राखेको ब्याड डुबेर गल्ने भयो, अब राख्दा ढिलो हुन्छ, ल भन्नोस् अब हामीले कसरी गरी खाने ?”, महतोको अजङ्गको प्रश्न छ ।

लगातारको वर्षाले चरन क्षेत्र डुब्दा घरपालुवा जनावरको बिजोग भएको छ । लगातार गोठमा कोचिएर रहेका जनावर भोकले कराउँदा मन भक्कानिने गरेको भङ्गाहा–३ कटैयाका पशुपालक किसान रामराजी यादव बताउनुहुन्छ । लगातारको वर्षाले पशुवस्तुको आहारा जोहो गर्न नसक्दा बिजोग हेरेर बस्नु परेको यादवको भनाइ छ ।

वर्षाले ग्रामीण सडक हिलाम्य भएका छन् । कैयौँ ठाउँमा बस्ती डुब्न नदिन सडक काटेर पानी बगाउनु परेको छ । सडक निर्माणताका नै पानीको निकास प्रबन्ध नगरिँदा अहिले सडकको दुरावस्था भएको ग्रामीण सर्वसाधारण बताउँछन् । कोभिड–१९ महाव्याधि छल्न गत वैशाख २२ गते जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको अवधि बढाएर यही जेठ २० गतेसम्म पु¥याइएको छ । व्याधिको प्रकोप झेलिरहेका सर्वसाधारण अहिलेको प्रतिकूल वर्षाले खेतीपाती गर्न नदिएपछि अबको गुजारा कसरी चलाउने भन्नेमा रनभुल्ल परेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।