सङ्क्रमण नघट्दा निषेधाज्ञामा कडाइ

गलकोट,जिल्ला प्रहरी कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्न थालेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९०० नघटेको भन्दै जिल्ला प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्न निर्देशन दिएपछि अहिले बागलुङ जिल्ला सदरमुकाममा प्रहरीको बाक्लो उपस्थिति छ ।

प्रहरीले अत्यावश्यक कामबाहेक बजार डुल्ने व्यक्तिलाई होल्ड गर्ने, रु एक सय जरिवाना तिराउने जस्ता कार्य गर्दै आएको छ । प्रहरीले पहिलो चरणमा कोरोना नियन्त्रणका लागि घरमै बस्न आग्रह गरेर पठाउने गरेकामा पछिल्ला दिनमा सर्वसाधारणबाट निषेधाज्ञाको उल्लङ्घन गर्ने काम तीव्र भएपछि प्रहरीले १० मिनेट होल्ड गर्ने र पटक–पटक निषेधाज्ञा उल्लङ्घन गर्नेलाई रु एक सयको जरिवाना गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकमा प्रहरीले चेकजाँचमा थप कडाइ गरेको हवारीले बताउनुभयो । बागलुङमा सक्रिय सङ्क्रमितको सङ्ख्या नघट्नुमा निषेधाज्ञाको पालना नभएको भन्ने गुनासो आएपछि प्रहरी सक्रिय भएर लागेको छ ।

नक्कली पास बोक्ने, पासका आधारमा यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, एक व्यक्तिका नाममा भएको पास अर्को व्यक्तिलाई दिनेलगायत निषेधाज्ञा उल्लङ्घनका घटनालाई ट्राफिक प्रहरीले निगरानी तथा सवारी नियम उल्लङ्घन र जाँचका साथै कारबाहीसमेत गरिरहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयले पटक–पटक नियम उल्लङ्घन गर्नेबाट हालसम्म १७६ जनालाई कारबाही गरेको छ । सोबाट रु १७ हजार ६०० राजश्व सङ्कलन गरिएको छ । यस्तै नियम उल्लङ्घन गर्ने २३९ सवारी साधनबाट रु एक लाख ६० हजार ५०० राजश्व सङ्कलन गरिएको सूचना अधिकारी हवारीले बताउनुभयो ।

विनामास्क हिँड्नेलाई रु एक सय, विनाकाम हिँड्नेलाई रु दुई सय, अत्यावश्यक कामबाहेक मोटरसाइकल चलाउनेलाई रु दुई हजार, अन्य सवारीलाई रु पाँच हजार जरिवाना काट्ने नियमअनुसार रु एक लाख ७८ हजार राजश्व सङ्कलन गरिएको छ । बागलुङमा कोरोना सङ्क्रमणबाट हालसम्म ४३ जनाको मृत्यु भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖