प्रवासी नेपालीद्वारा स्वास्थ्य उपकरण प्रदान
काठमाडौँ, बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् ।
ढाकास्थित नेपाली राजदूतावासमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट टीका लिम्बूले बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलाई १० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान अक्सियोथेरापी, पाँच सिपिएसी र १० थान हुमिडीफायर हस्तान्तरण गर्नुभएको उक्त दूतावासले आज जनाएको छ ।
त्यस अवसरमा राजदूत मिश्रले कोरोना महामारीविरुद्धको मातृभूमिको लडाइँमा सहायता गरेकामा प्रवासी नेपालीप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।
यो पनि पढ्नुहोस
काठमाडौँ,काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालयलाई थप दुई थान भेन्टिलेटर सहयोग गरेको छ ।
नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा मनोजमान श्रेष्ठलाई उक्त उपकरण हस्तान्तरण गर्नुभएको हो । यसअघि यही जेठ ८ गते महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएको ल्हासाबाट प्राप्त भएका दुई थान भेन्टिलेटर पनि उक्त अस्पताललाई दिएको थियो ।
हाल यस अस्पतालमा कामपाको सहयोगमा ३५ शय्याको विशेष कोभिड अस्पताल सञ्चालन भइसकेको छ । आज हस्तान्तरण गरिएका भेन्टिलेटर महानगरपालिकाले खरिद गरेको हो । उपकरणको मूल्य प्रतिगोटा रु २६ लाख ५० हजार रहेको बताइएको छ ।
उपकरण हस्तान्तरणपछि प्रमुख शाक्यले जसरी हुन्छ, सङ्क्रमण घटाउने र उपचार गर्नुपर्ने व्यक्तिलाई गुणस्तरीय सेवा दिने महानगरपालिका केन्द्रित रहेको बताउनुभयो ।
अरनिको समाजले आजै अस्पताललाई एक थान एनेस्थेसिया मेसिन र आकस्मिक उपचारका लागि आवश्यक पर्ने सामान तथा उपकरण प्रदान गरेको छ । यसमध्ये एनेस्थेसियाको मूल्य रु २६ लाख ५० हजार हो ।


