फेरि फौजी किराको फैलावटले किसान समस्यामा

ओखलढुङ्गा, ओखलढुङ्गामा कोरोनाको चपेटोमा परेका कृषकहरु फौजी किराले मकै सखाप परेपछि थप चिन्तीत बनेका छन् । किसानलाई यतिबेला कोरोेना भन्दा फौजी किराको आतङ्क खपिनसक्नु भएको चिशंखुगढी गाउँपालिका वडा नं ७ माम्खाको डाँडागाउँका किसान कृष्णकुमार राईले बताउनुभयो । खेतबारीमा लगाएको बाली नष्ट गर्ने फौजीले यसवर्ष नराम्ररी दुःख दिएको उहाँको भनाई छ ।

ओखलढुङ्गा र आसपासका जिल्लाका किसानलाई केही वर्षयता निरन्तर फौजी किराले सताउँदै आएको छ । लिखु, दुधकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा बढी फैलिएको फौजीको असर जिल्लाका अधिकांश क्षेत्रमा देखिएको छ ।

विगतमा फौजी आंतक रोक्न किसानले विषादी प्रयोग गर्ने भएपनि यसवर्ष कोरोना कहर रोक्न जारी निषेधाज्ञाका कारण किन्न पाएका छैनन् । बेलैमा उपचार नहुँदा मकैको गुबोमा किरा खोजेर हातैले मार्न थालिएको मानेभञ्याङ्ग गाउँपालिका वडा नं ५ धिम्लेका टिक बहादुर श्रेष्ठको भनाई छ । “यसरी मारेर के साध्य हुन्थ्यो होला र”, उहाँले भन्नुभयो ।

भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैको पात, गुभो तथा बोटनै फौजी किराले खाएर मकैबाली कामै नलाग्ने बनाएको छ । फौजीले आतंक मच्चाएका क्षेत्रका किसान मकैबारी फेरि जोतेर अर्को बाली लगाउनुपर्ने बाध्यतामा पुगिसकेका छन् ।

बाली विज्ञान तथा संरक्षण विभागले अमेरिकन फौजी किराको लागि तीन किसिमका विषादी सिफारिस गरेको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगा र स्थानीय तहहरुले फौजी किरा नियन्त्रण गर्नको लागि विषादी पठाए पनि मोलुङ्ग गाउँपालिकाको वडा नं १ कुन्तादेवीका कृषकहरुले भने फौजी किरा नियन्त्रण गर्नको लागि कुनै पनि औषधि पाएका छैनन् । स्थानीय तहको कृषि शाखा र गाउँपालिकालाई पटक पटक गुहारे पनि कसैले नसुनेको स्थानीय अर्जुन धमलाको गुनासो छ ।

प्रमुख खाद्यान्न बालीको रुपमा रहेको मकै ओखलढुंगामा १२ हजार ४ सय हेक्टर क्षेत्रफलमा खेती गरिदै आएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार सो क्षेत्रफल मध्ये हालसम्म सिद्धिचरण नगरपालिका सहित जिल्लाको चिशंखुगढी, मानेभञ्ज्याङ, मोलुङ, सुनकोशी र लिखु गाउँपालिकाका करिब ३ हजार १ सय हेक्टर क्षेत्रफलमा फौजी किराको प्रकोप फौलिसकेको छ ।

कोरोनाको कहरमा फौजी किरा प्रकोप तीव्र रुपमा फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न जिल्लाको सबै स्थानीय तहलाई विषादी पठाइसकेको र समस्यामा परेर कार्यालयमा आउने कृषकहरुलाई समेत वितरण गरिने कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख हेम आलेले बताउनुभयो । “

ज्ञानकेन्द्रले कोरोनाको बेलामा पनि किसानको सेवा गरिरहेको छ । टेलिफोनबाटै प्राविधिक सल्लाह दिईरहेका छौं । ” प्रमुख आलेले भन्नुभयो, “फौजीले धेरै नै दुःख दिएको छ । यसको नियन्त्रणका लागि स्थानीय तह मार्फत औषधि त पठाएका थियौं । सबै किसानमाझ पुगेन होला । फेरि पनि समस्यामा परेका किसानलाई हामी सहयोग गर्छौं ।” फौजीको फैलावट बेलैमा नियन्त्रण गर्न नसके झन समस्या आउने आलेको भनाई छ ।

कृषि प्राविधिकहरुका अनुसार फौजी किराको आयु १२ दिनसम्मको हुन्छ । यो दिन भन्दा रातमा सक्रिय हुन्छ । यसको वयस्क किराले एक पटकमा २४ सय वटासम्म फुल पर्ने गर्दछ । विकासक्रम पनि तीव्र हुने भएकाले यो चाँडै फैलने गर्दछ ।

एकै रातमा सय किलोमिटरसम्मको क्षेत्रफलमा फुल पार्ने र लार्भा दुई दिनमा बढेर मकैको गुबो, डाँठ र फेदबाट खाने हुँदा मध्यम चरणमा पुगेको अवस्थामा भने नियन्त्रण गर्ने उपाय छैन । गुबो र डाँठ जोगिएका मकै भने औषधि प्रयोग गरेर जोगाउन सकिने कृषिविज्ञहरु बताउँछन् । –

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।