मुसहर बस्तीका मुसहरले धुर्मुस–सुन्तलीको साथ पाए

महोत्तरी, कोभिड–१९ महाव्याधिले घरमै जकड्याएर राखेका बेला महोत्तरीको बर्दिबास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका मुसहरले धुर्मुस–सुन्तलीको साथ पाएका छन् । महाव्याधि छल्न जिल्लामा जारी निषेधाज्ञाबीच कतै काममा निस्कन नपाएर जकडिएका मुसहरलाई धुर्मुस सुन्तली फाउण्डेशनले खाद्यान्न राहत पु¥याएर दुःखमा साथ दिएको हो । शनिबार साँझ फाउण्डेशनका अध्यक्ष हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)ले ७० परिवार मुसहरलाई तत्कालको राहतका लागि खाद्यान्न वितरण गर्नुभयो ।

बस्तीका ७० परिवारले चामल, दाल, नुन, तेलसहित पुगनपुग एक महिना चल्ने सामग्री पाएका छन् । “घरघरै ३० किलो चामलको एक÷एक बोरा पाएका छौँ”, बस्तीकी आशा सादाले भन्नुभयो, “त्यसैअनुसार दाल, खानेतेल, नुन र चिउरा, दालमोठ र बिस्कुट पनि पोकामा रहेछ, अब खानाबिना मरिँदैन ।” धुर्मु र सुन्तली (हास्य कलाकार कुञ्जना घिमिरे) त आफ्ना लागि देउताजस्तै भएका बस्तीका मुसहर बताउँछन् । अहिले महाव्याधिका बेला घरमा जकडिएर बस्नुपरेका बेला दुःखका समयमा धुर्मुस आउनुभएको बस्तीकी मनिता सादा बताउनुहुन्छ ।

पराले झुप्रामा दुःखकष्टले जीवन धानेका यस बस्तीका ५० परिवार मुसहर र अन्य समुदायका दुई परिवारले विसं २०७४ को नयाँ वर्षका दिन (वैशाख १ गते) खानेपानी धारा, बिजुली र शौचालय सुविधासहितको पक्कीघर धुर्मुस–सुन्तली फाउण्डेशनबाट पाएका थिए । त्यतिखेर ५० घरपरिवार रहेका मुसहर अहिले छुट्टिँदै गएर ७० परिवार बनेका छन् । फाउण्डेशनले निर्माण गरेको बस्तीभित्र दृश्यावलोकन स्तम्भ, बालउद्यान र मुसहरका कुलदेवता दिनाभद्रीको मन्दिरसहित बनेको छ ।

पहिलोपटक विसं २०७२ को हिउँदमा सरसफाइ दूत बनेर बर्दिबास पुग्नुभएका हास्य कलाकार धुर्मुस–सुन्तलीले पराले झुप्राको मुसहर बस्ती हेर्नुभएको थियो । पहिलो आगमनमै मुसहरसँग आत्मीय लगाव बढेपछि पटकपटक बस्ती पुगेर फाउण्डेशनले मुसहरमा सरसफाइ, शिक्षा र स्वास्थ्यबारे सचेतना बढाएको थियो ।

बर्दिबासका मुसहरको गरिबी, निर्दोषपन र अत्यन्त पछौटेपन देखेर द्रवित हुनुभएका धुर्मुस–सुन्तली दम्पतीले एकीकृत नमूना बस्ती बनाएर पक्की घरमा यिनीहरुलाई राख्ने सङ्कल्प गर्नुभयो । यसैअनुसार विसं २०७३ माघमा निर्माण शुरु गरेर ९० दिनभित्रै मुसहरले पक्की घर पाएका थिए । “अब त धुर्मुस–सुन्तली आफ्नै परिवारको मुख्य अभिभावक हुनुहुन्छ भन्ने लाग्छ, उहाँहरु बर्सेनि भेटघाट गर्न, चाडपर्व मनाउन बस्ती आउनुहुँदा खुशीको माहोल बन्छ”, बस्तीका अगुवा बिल्टु सादा भन्नुहुन्छ, “अब त हाम्रा स–साना नानीहरुले पनि घरका बाबुआमालाई दङ्ग्याए जसरी नै उहाँहरु दुवैसँग विभिन्न ‘फर्मायस’ गर्छन् ।”

धुर्मुस–सुन्तलीसँगको उठबसले बस्तीका मुसहरले नयाँ पक्की घरमात्र नभएर पक्की मन पनि पाएका बर्दिबास–१४ का वडाध्यक्ष भरत हमाल बताउनुहुन्छ । “पक्की घरमात्रको कुरा होइन, खाने, बस्ने संस्कार पनि मुसहरले पाएका छन्”, हमाल भन्नुहुन्छ, “उज्यालो हुनासाथ खुर्पी (माटो खन्ने सानो औजार) लिएर मुसा खोज्न हिँड्ने मुसहर बालबालिका अब विद्यालय जान लागेका छन् ।” बस्तीका मुसहरमा सरसफाइ, स्वास्थ्य र शिक्षाबारे जागरुकता बढेसँगै आफ्ना आवश्यकताका कुरा सम्बन्धित निकायसम्म पु¥याउने आँट बढेको हमाल बताउनुहुन्छ ।

बस्तीका बालबालिका विद्यालय जाने, बस्तीका बासिन्दा विभिन्न आयमूलक काममा लागेका र सामाजिक चासोबारे कुरा गर्ने बनेको देख्दा सन्तोष लाग्ने गरेको हास्य कलाकार धुर्मुसको भनाइ छ । बस्तीको सकारात्मक परिवर्तनले मन आह्लादित बनाउने गरेको धुर्मुसले बताउनुभयो । “बस्ती निर्माण क्रमसँगै भावनात्मक सम्बन्ध बढ्यो, त्यसयता चाडपर्वका विभिन्न अवसर र आफ्नै खुशी बाँड्न पनि बस्ती आउने गरेका छौँ”, धुर्मुसले भन्नुभयो । आफ्नै खुशी भनेको कुञ्जना र आफ्नो जन्मदिनको रमाइलो मुसहर बालबालिकासँगै केही वर्ष मनाइएको धुर्मुसले स्पष्ट पार्नुभयो ।

धुर्मुसले पछिल्लोपटक आफैँले निर्माण गर्नुभएको बर्दिबास मुसहर बस्तीका ७० परिवार र रौतहटको चन्द्रपुर नगरपालिकाको सन्तपुरस्थित बस्तीका ५० परिवारलाई शनिबार साँझ खाद्यान्न पु¥याउनुभएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।