यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने

नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने बताइएको छ । गत वर्षभन्दा २०० हेक्टर बढी क्षेत्रफलमा चैते धान खेती भएकाले यस वर्ष जिल्लामा उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको हो ।

जिल्लामा गत वर्षको भन्दा ८०० मेट्रिक टन बढी धान उत्पादन हुने ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो । यस वर्ष जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको लामिछानेको भनाइ छ ।

ज्ञान केन्द्रले जिल्लाको तीन स्थानमा धान ब्लक सञ्चालन गरेको, सिँचाइ सुविधा पु¥याएको लगायतका सुविधा प्रदान गरेपछि चैते धानप्रति कृषकहरुको आकर्षण बढेको लामिछानेले बताउनुभयो ।

“वर्षे धानभन्दा चैते धानको उत्पादन राम्रो हुने गरेको छ”, लामिछानेले भन्नुभयो, “जिल्लामा वर्षे धान प्रतिहेक्टरमा चार मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ ।” यस वर्ष जिल्लामा करिब पाँच हजार मेट्रिक टन चैते धान उत्पादन हुने भन्दै लामिछानेले उत्पादन भएको धानमध्ये २५ प्रतिशत कृषकले राखेर बाँकी बिक्री गर्ने बताउनुभयो । “यहाँ उत्पादन भएको चैते धानको बजार सुनिश्चित भएको छैन”, लामिछानेले भन्नुभयो, “यद्यपि हामीले ठूला धान मिलहरुसँग धान खरिद बिक्रीबारे कुरा गरिरहेका छौँ ।”

गैँडाकोट नगरपालिकामा उत्पादन भएको धान बिक्रीका लागि स्थानीय सरकारले पहल गरेकाले अन्य पालिकाले समेत त्यसैगरी सहजीकरण गरेमा कृषकहरुलाई सहज हुने उहाँले बताउनुभयो । “ठूला मिलहरुले भारतबाट सस्तोमा धान किनेर ल्याउने गरेका कारण स्थानीय उत्पादन खरिद गर्न उनीहरु तयार हुँदैनन्”, लामिछानेले भन्नुभयो, “स्थानीय उत्पादनलाई प्राथमिकता दिएर भारतबाट आउने धान प्रतिस्थापनका लागि सरकारले विशेष पहल गर्नुपर्छ ।” भारतबाट सस्तोमा धान आउने भएकाले यहाँका कृषकहरुले बाध्य भएर सस्तो मूल्यमा धान बेच्नुपर्ने अवस्था आउने गरेको लामिछानेको भनाइ छ ।

देशैभर चामलको आयात गर्नुपर्ने भए पनि नवलपुरबाट भने अन्य जिल्लामा पठाउने गरी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । चैते धान उत्पादनमा भएको वृद्धिले आयातित धानको प्रतिस्थापन गर्नुका साथै खाद्य सुरक्षामा टेवा पु¥याएको लामिछानेले बताउनुभयो । चैते धानको प्रवद्र्धनका लागि जिल्लाको गैँडाकोट–११ र १२ को भेँडाबारी, बुलिङटार गाउँपालिका–३ र कावासोती नगरपालिका–१७ को ढोकी फाँटमा ब्लकमार्फत चैते धान खेती भइरहेको छ ।

ब्लकअन्तर्गत गैँडाकोटको भेँडाबारीमा २६० हेक्टर, कावासोतीको ढोकी फाँटमा ५०० हेक्टर र बुलिङटारमा १५० हेक्टर क्षेत्रफलमा चैते धान खेती भइरहेको भन्दै लामिछानेले जिल्लाका अन्य क्षेत्रमा पनि चैते धान प्रवद्र्धनको छुट्टै कार्यक्रम भइरहेको जानकारी दिनुभयो । जिल्लामा चैते धानका रूपमा हर्दिनाथ, चैते ५, टाइचिनसहित अन्य स्थानीय जातका धानको खेती भएको उहाँले बताउनुभयो ।

त्यस्तैगरी वर्षे धान रोप्नका लागि तयारी भइरहेको भन्दै लामिछानेले अहिले कृषकहरुलाई धानको बिउ राख्ने चटारो भइरहेको बताउनुभयो । “चैते धान एक हजार २०० हेक्टरमा लगाइएको भए पनि वर्षे धान भने २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइने गरेको छ”, लामिछानेले भन्नुभयो, “जिल्लाको कुल खेतीयोग्य भूमिको करिब ५६ प्रतिशत भागमा सिँचाइ सुविधा पुगेकाले समेत समयमै वर्षे धान रोपेर सकिन्छ ।” जिल्लामा ४९ हजार हेक्टर खेतीयोग्य जमिन रहेको भन्दै लामिछानेले २० हजार ७३० हेक्टर क्षेत्रफलमा मात्रै वर्षे धान लगाइने गरेको जानकारी दिनुभयो ।

भूमिगत सिँचाइ तथा नहर र कुलोमार्फत सिँचाइ पु¥याइएको भन्दै लामिछानेले वर्षाको समयमा मात्रै पनि पानीको सुविधा हुने ठाउँमा समेत धान खेती हुने गरेको बताउनुभयो । जिल्लाका सबै स्थानमा गुणस्तरीय वर्षे धानको बिउ बिक्री वितरण भइरहेको लामिछानेले बताउनुभयो । सरकारले सिफारिस गरेको धानको बिउ स्थानीय कृषि सहकारी संस्थामार्फत कृषकले लैजाने गरेको भन्दै प्रलोभनमा परेर जथाभावी बिउ खरिद नगर्न लामिछानेले आग्रह गर्नुभयो ।

जिल्लाका लागि रामधान, हर्दिनाथ, सावित्री, सुक्खा ३, सावा मन्सुली जस्ता वर्षे धानका बिउहरु सिफारिस भएको लामिछानेले बताउनुभयो । भारतबाट आएका वर्णसङ्कर जातका बिउ प्रयोग गर्दा कृषि अधिकृतहरुसँग सल्लाह लिएर मात्रै प्रयोग गर्न आग्रह गर्दै लामिछानेले सूचीकृत बिउ बिक्री वितरणबारे एग्रोभेटहरुमा अनुगमन गरिएको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।